प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ आज दिने

जेठ १३, २०७५

काठमाडौं, १३ जेठ- सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जवाफ दिने भएका छन् । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरूको ओलीले जवाफ दिन लागेका हुन् ।

प्रधानमन्त्रीको सम्बोधनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजे डाकिएको छ । जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको सरकारको नीति तथा कार्यक्रममा तीन दिनसम्म छलफल चलेको थियो ।

नीति तथा कार्यक्रममा भाग लिँदै सत्तारुढ दलका सांसद्हरूले समर्थन गरेका छन् भने अन्यले कार्यक्रम अपुरो भएको भन्दै आलोचना गरेका छन् ।

प्रधानमन्त्रीको जवाफसँगै चित्त नबुझ्ने सांसद्हरुले स्पष्टीकरण सोध्ने मौका समेत पाउनेछन् । प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम पारित हुनेछ । त्यसअघि नीति कार्यक्रममा पेस भएका ६ वटा संशोधनलाई निर्णयार्थ पेस गरिनेछ ।

जेठ १३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस