मन्त्रीज्यूहरूको सम्पत्ति देखेर सातोपुत्लो उड्यो !

जेठ १३, २०७५

उपल्लो हिले मेला हेर्न जाँदा त्यहाँ राम्रीराम्री युवती जिस्काउन पाइन्छ भन्ने कथन थियो । तरुनी जिस्काउनकै लागि भनेर दुई दिनको पैदल यात्रामा निस्किन्थे जवानहरू । युवतीकै विषयमा तिनीहरू एकआपसमा हात हालाहाल समेत गर्थे । सदा झैं त्यो साल पनि छन्त्याल जेठाले सिरूपाते खुकुरी नचाउन थालिहाल्यो । त्यहाँ सबैको भागाभाग भयो । तर जेलबाङका रूपे मगर मैदानमै ढलेर बेहोश भए ।

रूपेको मुखमा साबुनको जस्तो फिँज थियो । हातखुट्टा लगलगी काँपिरहेका थिए । आँखाका परेलीमा कुनै संकेत थिएनन् । ओठले केही बोल्न खोजेजस्तो चलमलाइरहेको थियो । मानौं कि उसका ओठले भन्न खोजिरहेका थिए – ‘युवती जिस्काउने काममा मेरो कुनै संलग्नता छैन, म सादा मनुष्य हुँ, निर्दोष छु ।’ आखिरीमा बेहोश रूपेलाई काँधमा बोकेर घरसम्म ल्यायो लाटी गोरेले ।

रूपे तीन दिनसम्म होशमा आएन । गाउँमा गोमे झाँक्री भन्ने थिए । तिनले बेहोश भएकाहरूलाई होशमा ल्याउँछन् भन्ने जनविश्वास थियो । अन्ततः रूपेलाई जगाउन गोमे झाँक्रीकै सहारा माग्नुपर्ने भयो । काँप्ने, हल्लिने, देउता बोलाउने झाँक्रीको नियमित जो कर्म छ, गोमे राम्रोसँग पूरा गर्थे । तर एकपटक भने ब्लन्डर नै गरेका हुन् । ‘राँगोको हड्डी देखाउँदै म मसाने झाँक्री हुँ, यो मान्छेको हड्डी हो,’ भनेर यिनले गाउँमा आतंक नै मच्चाएका थिए । महिला केटाकेटीहरू खुब डराएका थिए ।

गोमे झाँक्रीको जिउमा देउता जाग्यो र भन्यो, ‘रूपेको सातो उडेको छ । हिलेतिरको दिशा पारेर सातपटक पानी फर्काउन पर्छ, केटीले पानी मन्तरेर खुवाएकी छन् ।’ गोमेले भनेअनुसारको कर्म पूरा गरेको दुई दिनपछि रूपे जाग्यो । लामो निद्राबाट ब्युँझेजस्तै रूपेले भन्यो, ‘ल, अब घर जाम् साथी हो, मेला सक्कियो ।’ तर वास्तवमा मेला सकिएको एक हप्ता भइसकेको थियो ।

रूपे मगरजस्तै हिजोआज यो पंक्तिकार पनि बेहोश छ । तर कुनै लफडाबाजीमा ज्यान जाला भनिकन डराएर ज्यानको माया लागेर बेहोश भएको हैन । मेला गर्न गएको पनि छैन । युवती जिस्काउने कुरै आएन । दुःखको कुरा, यो बेहोशीको याममा गोमे झाँक्री पनि जीवित छैनन् । वैराग्य सहन नसकेर ती हिमालतिर तपस्या गर्न गएका थिए भन्ने सुनिन्छ । चिसोले खाएर मरे होलान् । 

म किन बेहोश भएँ ?

चुनावको समयमा अहिलेका मन्त्रीहरूको औपचारिक रूपमै गुनासो थियो, ‘हामी इमान्दार, चुनाव लड्न नसकिने भइयो, हामीसँग पैसा छैन । राजनीति गर्न मुश्किल भयो ।’ अनौपचारिक रूपमा नेताहरूलाई शुभचिन्तकहरूले चुनावमा देश विदेशबाट आर्थिक सहयोग गर्ने कुरा स्वाभाविक छ । तर भ्रष्टाचारले थिलथिलो परेको हाम्रो जस्तो देशमा चुनाव लड्नका लागि समस्या परेको नेताको अचानक ठूलो परिमाणमा सुन तथा लाखौंको बैंक ब्यालेन्स कसरी भयो ? अचम्मको कुरा छ ।

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पछिल्लोपटकको सत्ता सम्हालेको महिनादिन बितेको छैन । तर उनले कम्तीमा पाँच दिनभित्रमा भ्रष्टाचारीहरूसँग रहेका ५० खर्ब डलर सरकारी ढुकुटीमा फिर्ता गरेका रिपोर्टहरू सार्वजनिक गरेका छन् । कस्तो संयोग मिले जस्तो, ठीक यही समयमा नेपालका वामपन्थी सरकारका मन्त्रीहरूले  ‘सातोपुत्लो उड्ने’ गरी आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । यस्तो नाजुक अवस्थामा कहाँ खोजूँ म गोमे झाँक्री ?

मन्त्रीका धेरै चर्चा यहाँनेर किन नगरौं भने तिनका प्यारा श्रीमतीहरू यो धर्तीमा जन्मिँदै सालनालमा सुन पोका पारेर जन्मेका थिए । छिमेकीले कुकुर समेत उपहार दिए । अब यो कुकुर उपहार दिनेले अरू के केसम्म दिँदैन होला त ? यो सामान्य ’लजिकल’ विषय भयो

तर महाथिर मोहम्मदसँग केपी ओलीको मन्त्रिमण्डललाई मैले दाँज्न खोजेको हैन । यो जघन्य अपराध कम्तीमा मबाट हुँदैन । तर हाँसो लाग्नेगरी सम्पत्ति विवरण देखाएका केही मन्त्रीहरू छन् । जस्तो कि ईश्वर पोखरेल । यिनीसँग जे जति सम्पत्ति छ, ती सबै श्रीमतीका हुन् । यस्तो तरिकाले त कथंकदाचित् श्रीमतीले धोका दिएमा यी मनुवा सीधै सडकमा आउने भए । तर ईश्वरसँग कामना गरौं, त्यस्तो नहोस् । 

पुरानो साइकल चढेको नाटक गरेर आफूलाई गान्धीवादीको रूपमा उभ्याउन चाहेका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणमा घरघडेरी बाहेक रकम मात्रै ५५ लाख देखाएका छन् । स्मरण रहोस्, केही महिनाअगाडि उनले, ‘यो मुलुकका हामीजस्तो पैसा नभएको इमान्दार मान्छेहरू चुनाव लड्न पनि नसक्ने भइयो,’ भन्ने चक्मा फ्याँकेका थिए ।

अरू मन्त्रीका धेरै चर्चा यहाँनेर किन नगरौं भने तिनका प्यारा श्रीमतीहरू यो धर्तीमा जन्मिँदै सालनालमा सुन पोका पारेर जन्मेका थिए । छिमेकीले कुकुर समेत उपहार दिए । अब यो कुकुर उपहार दिनेले अरू के केसम्म दिँदैन होला त ? यो सामान्य ’लजिकल’ विषय भयो । भनिन्छ नि, लाटोले दिसा कुल्चियो भने वास्तै गर्दैन, बाठोले कुल्चियो भने ओल्टाइपल्टाई नाकसम्मै पु–याउँछ ।

पेवा सम्पत्ति

हाम्री ठूली आमाकी छोरीले पेवा कुखुरा पालेकी थिइन् । स्कूलबाट फर्केपछि पेवा कुखुरा खोज्न मकैबारीमा खुब दगुर्थिन् किनभने चिल र स्यालले आफ्नो पेवा कुखुरा उठाइजाला भन्ने चिन्ता थियो उनलाई । तर केवल यति कुराको मात्रै चिन्ता थिएन । त्यो कुखुरामा उनको एकजोर नयाँ कपडाको रहर गाँसिएको थियो । त्यतिखेर गाउँमा हिलवाला चप्पल र चुन्नीवाला कुर्ताको प्रवेश भएको थियो ।

पेवा कुखुरा मात्रै हैन, बारीको सानो फोक्टामा पेवा आलु  रोपेकी थिइन् उनले । आलुको बिउ भने हजुरआमाबाट उपहार पाएकी थिइन् । त्यो आलुमा पनि उनका महान् सपनाहरू जोडिएका थिए । चार पाथी आलु बेचेर कापी–कलम किन्नु र बाँकी बचेको आलु मितिनी आमाकोमा पठाउनु । घरमा पैसा राखे त खर्च हुने भयो । समस्या परेको बेला मितिनी आमाकोमा त्यही आलुको पैसा लिन पुग्थिन् ।

समयक्रमसँगै उनको बिहे मन्त्रीसँग हुन सकेन । मन्त्रीसँग बिहे हुन नसकेका कारणले पेवा कुखुरा र पेवा आलु बेचेर खर्च गरी बचेको ४६ हजार रुपैयाँ मन्त्रीहरूको सम्पत्ति विवरणमा सार्वजनिक हुन सकेन । सबै कुरा दान, दक्षिणा र उपहारबाट प्राप्त हुने यो मुलुकमा श्रीमतीको दाइजो वा माइती पक्षबाट आएको सम्पत्ति नै सबथोक रहेछ । 

करोडौंको घडेरी श्रीमतीको, नयाँ घर श्रीमतीको, सुनचाँदी श्रीमतीको, बैंक ब्यालेन्स श्रीमतीको, शेयर लगानी श्रीमतीको । मानौं कि जे जति जायजेथा छन्, ती सबै कुनै न कुनै रूपमा श्रीमतीको पेवा सम्पत्ति हुन् । अझ यसो भनौं, श्रीमतीको कमाइको सम्पत्ति हो यो । यस्तो कसिमको रहस्यमयी अकुत सम्पत्ति भएको कुरा मन्त्रीज्यूहरूलाई त थाहा छ, तर सम्भवतः हक लाग्दैन । 

पेवा सम्पत्तिबाट धनी बनेका नेताहरू एक पशुपतिशम्शेर राणा थिए । डडेलधुरा जन्मघर भएका कांग्रेस नेता शेरबहादुर देउवा पनि ससुरालीकै पेवावाला साथ, हात र आशीर्वादबाट उँभो लागेका हुन् भन्ने कथन छ । राणा, पञ्चे र दरबारले थुप्रै भुक्कालालहरूलाई विभिन्न गमलामा मलजल गरेर शिखण्डी पात्रको विकास गरिरहेको सन्दर्भमा आक्रोश र अराजकताको भारी बोकेर यो ’वाम एमाले’ जन्मेको थियो । 

तर यी वामका कैयांै नेताले पनि काठमाडौंका नेवार महिला बिहे गरेर आफूलाई सुरक्षित गर्न भने बिर्सेनन् । पहाडबाट प्लास्टिकको चप्पल पड्काउँदै ट्रकको पछाडि कोचिएर काठमाडौं झरेको वर्षदिन नपुग्दै यिनको हुलिया बदलिएको थियो । नेताको रूपमा चोकचोकमा भाषण गर्न थालिसकेका थिए । केवल यिनलाई देशको चिन्ता हुन्थ्यो, राति कहाँ सुत्ने, के खाने फिक्रीÞ हुन्थ्यो ।

पुरानो साइकल चढेर हिँड्ने लालबाबु पण्डितले पनि लाखौं रकम आफूसँग भएको सार्वजनिक गरेका छन् । त्यो सम्पत्ति बाउबाजेको हो कि आफूले नै कमाएको हो ? मातृका यादवज्यूले कुन माध्यमबाट काठमाडौंमा जमीन जोडेका हुन् ? यो कसरी संभव भयो ? मन्त्री हुन् कि कर्मचारी ‘सरकारी लिगेसी’ मै भ्रष्टाचार छ । 

मन्त्रीज्यूहरू, भ्रष्टाचारको जगजगी किन ?

मन्त्रीज्यूहरूको सम्पत्तिमा आँखा लगाउने कुरा हुँदैन । बाउबाजेको सम्पत्ति हुनेहरूले पक्कै पनि ५० तोला सुन छ भन्न के को डर ? तर कि सबै सत्य भन्नुपर्छ, कि सबै असत्य । सबैभन्दा खतरनाक हो अर्धसत्य । राजनीति पेशाबाट त्यति धेरै सुन कसरी प्राप्त गर्न सकिन्छ ? पिताको सम्पत्ति आफ्नो हैन भन्ने हो भने विना कुनै नाफामूलक काम त्यो परिणामको सुन राजनीतिमा लागेको मान्छेसँग हुँदैन ।

केही मन्त्रीज्यूहरूले काठमाडौंमा घर भएको, शेयरमा लगानी भएको विवरण पेश गरेका छन् । पुरानो साइकल चढेर हिँड्ने लालबाबु पण्डितले पनि लाखौं रकम आफूसँग भएको सार्वजनिक गरेका छन् । त्यो सम्पत्ति बाउबाजेको हो कि आफूले नै कमाएको हो ? मातृका यादवज्यूले कुन माध्यमबाट काठमाडौंमा जमीन जोडेका हुन् ? यो कसरी संभव भयो ? मन्त्री हुन् कि कर्मचारी ‘सरकारी लिगेसी’ मै भ्रष्टाचार छ । 

एउटा गाउँमा सँगै पढेका साथीहरू एकजना लाहुरे र अर्का सरकारी जागिरे भएछन् । तिनीहरूको झुपडी उस्तै थियो, हैसियत पनि । जागिर खान थालेपछि लाहुरेले धेरै तलब खान थालेछन् । सरकारी जागिरेको भन्दा चौथाइ बढी तलब । तर चार वर्षपछि छुट्टीमा घर फर्किंदा लाहुरेले दंग खायो । सरकारी जागिरे साथीले त शहरको मुख्य चोकमा तीनतलाको पक्की ढलान घर ठड्याइसकेछ ।

केही वर्षअघि परिचय दिने कार्यक्रममा एकजना सीडीओले भनेका थिए, ‘पुरानो घर त अछाम हो, हाल बसोबास काठमाडौंमा । जागिर खाएको चार वर्ष भइसक्यो, सीडीओ भएर पनि काठमाडौंमा घर छैन भनेर सोध्छन् साथीहरू । पोहोर साल यसो टहरो जस्तो बनाएको । करीब दुई करोड खर्च भयो । निकै महंगो ठाउँ हेर्नुहोस् ।’ अझै तिनले गर्वलाई साथ थपेका थिए सहसचिवभन्दा माथिका सबैले काठमाडौंमा व्यवस्था गरिसकेका छन्, तलब जतिसुकै होस् ।’

आज वीर अस्पतालमा रंगरोगन हास्यकलाकारले गरिदिनुपरेको छ । सरसफाइबापतको पैसा अस्पतालका कर्मचारीले हसुरेकै होलान् । वीरको मात्र के कुरा भयो र, मुलुकका सबै अस्पतालमा सरकारी रकमको चरम दुरुपयोग छ । झरी पर्न थाल्यो, सरकारी हिसाबकिताबको महिना । अब कच्ची सडकहरू रातारात पिच हुन थाल्छन् । तीव्र रूपमा विकास हुन थाल्छ यो असार मसान्तसम्म ।

सानो देश छ । ठूलाठूला सपना छन् । सपनाको एउटा मोडमा हास्यकलाकारहरू वीर अस्पतालमा माकुराको जालो फ्याँकेर रंगरोगन गर्दैछन् । छिर्दाबित्तिकै उल्टी आउला जस्तो हुने त्यो ठाउँको सरसफाइबापतको सरकारी रकम भाग्यमानी मनुष्यहरूले कलो टिपेबराबर हसुर्दा हुन् । समयबजी, छोयला र गिदीजिब्रो खाँदा हुन् । यस्ता सन्दर्भमा बडो लाज लाग्छ, मुखभित्र रुमाल कोचेर हिँडौं जस्तो ।

वीरका बडेहाकिमले फ्याट्टै बोलेछन्, ‘यो अस्पताल सिंगापुरको जस्तो हुनेछ ।’  एकबारको जुनीमा अक्काल काटिल्याउँदा लाग्यो, केही वर्षभित्रमा यिनको जुँगा कालिकोटे सिंह बाजेको जस्तै होला तर यिनले वीरको माखो मार्नेवाला छैनन् । यस्ता हुतिहारा पाँडे गफ कतिले गरे, गरे । ती सबै झुसेबारुला जस्ता बनेर अस्ताए । मेलम्चीको पानीको ’ब्रेक थ्रू’ कम्तीमा पनि एक करोडपटक भइसक्यो होला ।

त्यसैले यो मुलुक जम्माजम्मी नाफाका शुक्रकिटहरूको हो। बाउबाजेको प्रशस्त सम्पत्ति हुनेहरू कुनै रोजगार नभए पनि सुतेरै धनी हुने ’सामन्तवादी लिगेसी’ छ । यस्तो लिगेसिका कारण जुनसुकै राज्य ब्यबस्था किन नहोस् धनीहरू झन् धनी, गरिबहरू झन् गरिब बन्दै गईरहेका छन्। देश गरिब तर ब्याक्ति धनि किन भईरहेका छन्? किनभने यहाँ ब्याक्ति पुजा भईरहेको छ।

जेठ १३, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस