ओली-प्रचण्ड होशियार! तेस्रो नेतालाई उचालेर हुनसक्छ षड्यन्त्र

नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एकीकृत भएर शक्तिशाली पार्टी निर्माण गर्नु गौरवको विषय हो । विभाजनको इतिहासलाई अन्त्य गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओली नेपाली राजनितिको मूलधारमा विराजमान हुँदा शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण हुनुले सत्तरी वर्षदेखिको नेपाली जनआकांक्षा पूरा भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीहरूको विभाजनको इतिहास धेरै लामो छ । हरेक वर्ष मुलुकमा एउटा कम्युनिस्ट पार्टी गठन र विघटन भएका छन् । सैद्धान्तिक विमतिसँगै व्याक्तिगत टकरावका कारण अधिकांश कम्युनिस्ट पार्टी विभाजनको सिकार भएका छन् । अलग पार्टी बनाउनुको औचित्य पुष्टि गर्नुभन्दा तीव्र गतिमा आलोचना गर्ने प्रवृत्ति अहिले चलनजस्तै बन्दैछ ।

पछिल्लो केही दशकयता कम्युनिस्ट पार्टी नामका धेरै 'खुद्रा पसल' चले । कतिपय पार्टीहरू मार्क्स र लेनिनको अन्धानुकरण गर्दै जडसूत्रीय चिन्तनका साथ भजनमण्डलीमा अझै पनि रमाइरहेका छन् । 'क्रान्तिको पुनारावृत्ति हुँदैन केवल विकास मात्र सम्भव हुन्छ भन्ने भनाइ ती जडसूत्रवादीहरूले आत्मसाथ गर्न चाहँदैनन् र जनतालाई दिग्भ्रमित बनाइरहेका छन् ।

अर्कोतर्फ हिजो क्रान्तिकालका योद्धाहरू क्रान्ति र परिवर्तनका एन्जेडालाई नयाँ ढंगले विकास गर्ने बहानामा यथास्थितिवादी शक्तिको नजिक पुग्दैछन् । कम्युनिस्ट नीति, सिद्धान्त, मूल्य र मान्यतालाई तिलाञ्जली दिँदै दक्षिणपन्थी शक्तिका रूपमा उदाउने प्रयासमा लागिरहेका छन् । अहिले कम्युनिस्ट पार्टीप्रति समर्पित जनसमुदायलाई भ्रमित तुल्याउन कुनै बेलाका कम्युनिस्ट नेता विस्तारवाद् र साम्रज्यवादको गोटीका रूपमा प्रयोग हुँदैछन्, यो तितोसत्य हो ।

अहिले बजारमा प्रचण्डले माओवादीलाई विघटित हुनुपूर्वको एमालेमा बुझाए भन्दै चर्को आवाजमा उफ्रनेको कमी छैन । सहजै अनुमान लगाउन सकिन्छ, प्रचण्डलाई कमजोर बनाउन चाहनेहरूको यो षडयन्त्र हो । शक्तिशाली कम्युनिस्ट पार्टी बनेकोमा पूर्वाग्रह राख्नेहरूको डाह मात्र हो । ति मित्रहरूले थाहा पाउनुपर्छ, प्रचण्ड गणतन्त्र युगका नायक हुन् । अहिले मुलुकका राजनीतिक एजेन्डा गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशीलगायत परिवर्तनका डिजाइनर र कार्वान्यनका नेतृत्व प्रचण्ड हुन् । अब यो पनि बुझ्न आवश्यक छ, अहिले शक्तिशाली कम्युनिस्ट पार्टी निमार्णपश्चात प्रचण्ड र ओली महानायकको भूमिकामा छन् ।

वर्तमान समयमा नवगठित कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार छ । जनताका अपेक्षा र आकांक्षा स्वाभाविक छन् । क्रान्तिकारी पार्टीले सरकार सञ्चालन गरिरहेका बेलामा कर्णालीमा सिटामोल र जीवनजलको अभावमा अकालमा ज्यान गुमाउनु भएन । तराई वर्षायाममा जलमग्न हुदाँ ज्यान जोखिम राखेर रात कटाउने अवस्था आउनु भएन । प्रविधिमूलक शिक्षा, नि:शुल्क तथा सुलभ स्वास्थ्य, स्वच्छ खानेपानी, युवाहरूलाई स्वरोजगार र रोजगारीका लागि व्यावहारिक रूपमा नै गम्भीर हुनुपर्दछ । समृद्ध मुलुक बनाउने उच्च महत्वकांक्षा लिएको वर्तमान शक्तिशाली कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गरिरहेको छ ।

यतिबेला सरकारको मुख्य काम भ्रष्टाचार अन्त्य गर्न शून्य सहनशीलताको नीति अबलम्वन गर्न अनिवार्य छ। अब गफ होइन, घोषणापत्रमा उल्लेख भएअनुरूप काम गरेर जनताको मन जित्नुपर्दछ । सरकारले जनअपेक्षाअनुसार काम गर्दा जनताले मूलधारको कम्युनिस्ट पार्टीलाई आफ्नो सच्चा अभिभावक मान्नेछन् ।

नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिका आगामी कार्यभार सम्पन्न गर्नका लागि 'समाजवाद उन्मुख जनताको जनवाद' नाम दिएको दस्तावेज निर्माण गरेको छ । नेपाली समाज रूपान्तरणमा क्रान्तिका सकारात्मक प्रभावबारे बहस भइरहेको छ । अब उत्पादनमुखी क्रान्ति बनाउन नेकपाको प्रमुख उत्तदायित्व हुनेछ । लोकतन्त्रलाई बलियो बनाउने जिम्मा पनि छ ।

क्रान्ति र प्रतिक्रान्तिको दोसांध उभिएर निर्माण भएको नेपाल कम्युनिस्ट पार्टीलाई आन्तरिक नेता व्यवस्थापनको चुनौती धेरै छन् । नेताहरूको व्यवस्थापन सही ढङ्गबाट भएको खण्डमा समाजवादका कार्यभार पूरा गर्ने ठूलो अवसर पनि छ । मार्क्सवाद, लेनिनवाद अंगीकार गरेको पार्टीका नेताहरूले आलोचना सुन्नै नचाहनु ठीक होइन । पुरानो गुटको मानसिकता त्याग्दै नेताहरुको निर्माण विधि र विधानको आधारमा गर्नुपर्दछ । निरन्तरता, क्षमता, आवश्यकता र समावेशिता नेता निमार्णको उपयुक्त बिधि बन्न सक्दछ ।

कम्युनिस्ट पार्टीका नेताहरूले केन्द्रीयताभन्दा जनवादलाई प्रथामिकता दिँदै अभिव्यक्तिमा स्वतन्त्रता गर्दै आफ्ना कमिटीबाहिर स-साना असन्तुष्टि प्रकट गर्दा त्यसलाई विपक्षले तिललाई पहाड बनाउनसक्छ । आजको आवश्यकता अभिव्यक्तिमा परिपक्वता पनि हो ।

नेपालका केही कम्युनिस्ट नेताहरूको विगत हेर्दा सत्ताबाहेक अरु सबै भ्रम भन्दै क्रान्ति त्याग्दै दक्षिणपन्थी भए । परिणास्वरूप नेपाली कम्युनिस्ट आन्दोलनलाई ठूलो धक्का लाग्यो । यसबाट पाठ सिक्दै नेकपालाई दक्षिणपन्थी रूझानबाट बचाउनुपर्दछ । कम्युनिस्ट पार्टी श्रमजीवी वर्गको प्रतिनिधि बन्न सक्नुपर्छ ।

अन्तर्यमा नेताहरू क्रान्तिकारी हुनैपर्दछ । सत्तालाई मात्र प्रधान मान्ने विषयलाई  क्रान्तिकारी आचरण भन्न मिल्दैन । क्रान्ति र जनताप्रति समर्पित पार्टी आजको आवश्यकता हो ।

विश्वमा बढ्दै गएको कम्युनिस्ट प्रभावलाई रोक्न नवगठित नेपाल कम्युनिस्ट पार्टीमा अन्तविरोधको सिर्जना गर्दै यथास्थितिवादी, प्रतिक्रियावादी र वैदेशिक शक्ति केन्द्रहरूले कमजोर बनाउने वा फुटाउने खेलमा लाग्ने निश्चित छ । अध्यक्ष प्रचण्ड र केपी ओलीभन्दा तेस्रो पात्रको खोजी हुने सम्भावना ज्यादै छ । परिस्थितीको आकंलन गर्दै नेकपाको शीर्ष नेतृत्व मुलुक र जनताप्रति संवेदनशील हुनु आवश्यक छ ।

जेठ १४, २०७५ मा प्रकाशित

विपिन आचार्य

ने क पाको युवा संगठनमा आवद्ध आचार्य समसामयिक विषयमा लेख्छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस