'राजा'ले छाडेपछिको दरबार : अर्ध खण्डहर बन्दै नारायणहिटी

Photo : wenepali.com
जेठ १५, २०७५

नारायणहिटी दरबार संग्राहलय नेपालीका लागि सबैभन्दा आकर्षणको केन्द्र हो भन्दा फरक नपर्ला । यहाँ एकपटक मात्र भने पनि पुग्न नचाहने नेपाली सायदै होलान् ।

यो त्यही दरबार हो, जहाँबाट नेपालका राजा/महाराजाहरूले लामो समय शासन सत्ता चलाए । त्यतिबेला सर्वसाधारणले परबाट यसको अवलोकन गर्नु पनि सौभाग्य ठान्थे । प्रवेशद्वारको आसपासमा पनि सर्वसाधारणका लागि सहज पहुँच थिएन ।


ADVERTISEMENT

आधुनिक नारायणहिटी दरबार वि.सं. २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निर्माण गरिएको हो । तत्कालीन राजा महेन्द्रको पालामा पुनर्निर्मित यस दरबारबाट उनीसँगै उनका छोराहरू वीरेन्द्र र ज्ञानेन्द्रले शासन चलाए । केही घण्टा नाति दीपेन्द्र पनि राजा घोषित भए । २०५८ साल माघ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डपछि केही घण्टा दीपेन्द्र र उनलाई पनि मृत घोषित गरिएपछि ज्ञानेन्द्र राजा बने ।

२०६२/०३३ को जनआन्दोलनपछि मुलुकमा २३७ वर्ष लामो राजसंस्था ढल्यो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषित भयो । त्यसपछि पूर्वराजा ज्ञानेन्द्रलाई त्यहाँबाट नागार्जुन दरबारमा स्थानान्तरण गराइयो ।

नेपालका तत्कालीन राजाहरूले १३५ वर्षसम्म शासनको केन्द्र र निवासको रूपमा प्रयोग गरेको यो भवनलाई २०६५ असार १ गते राष्ट्रिय संग्राहलयका रूपमा रूपान्तरण गरियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झण्डोत्तोलन गरी यसलाई संग्राहलयको रूपमा घोषणा गरेका थिए ।

यहाँ सर्वसाधारणले प्रवेश पाउन भने त्यसपछि पनि ८ महिना कुर्नुपर्‍यो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संग्राहलय सर्वसाधारणका लागि खुला गरेका थिए ।

दिनहुँ सर्वसाधारणको भीड, 'सेमी खण्डहरबन्दै बाहिरी संरचना

नारायणहिटी दरबार संग्राहलय सर्वसाधारणका लागि खुला गरिएको करीब १० वर्ष पुग्न लाग्यो । आज पनि यहाँ सर्वसाधारणको उत्तिकै भीड लाग्छ, जति शुरुका वर्षहरूमा थियो ।

यस संग्राहलयमा पुग्नेहरूको विशेष चासो तत्कालीन राजा वीरेन्द्रको वंश नै नाश हुने गरी हत्या भएको स्थान नियाल्ने र उनीहरूप्रति सहानुभूति प्रकट गर्नेमै हुन्छ । त्यसका साथै राजाहरूले बस्ने, खाने र शासन चलाउने स्थानलाई पनि सर्वसाधारणले चासोका साथ हेर्ने गरेका छन् ।

संग्राहलयमा परिणत गरेपछि दरबारको भित्री भागमा सर्वसाधारणका लागि जति कोठाहरू खुला गरिएका छन्, त्यसको संरक्षण पनि गरिएको छ । तर अगाडिको मोहोडाबाहेक दरबारका बाहिरी संरचनाहरू भने विस्तारै खण्डहरमा परिणत हुन थालेका छन् ।

केही दिनअघि उत्साहका साथ नारायणहिटी प्रवेश गर्दा सबैभन्दा खल्लो महसुस शौचालय प्रवेश गर्दैमा भयो । सो शौचालय धेरै भीडभाड हुने चक्रपथका सार्वजनिक शौचालयभन्दा कुनै पनि हिसाबमा माथिल्लो स्तरको थिएन ।

म समाचार संकलनका लागि नभएर बिदाको दिन पारिवारिक घुमघामका लागि त्यहाँ पुगेको थिएँ । मसँगै अर्का एक युवा पनि शौचालय प्रवेश गरेका थिए । उनले पनि शौचालयको त्यस्तो अवस्था देख्दा दु:ख व्यक्त गरे । मैले उनको नाम सोधिनँ, हामी बाहिर निस्कियौं ।

दरबार प्रवेश गरेपछि विभिन्न जिल्लाको नाममा नामाकरण गरिएका कोठाहरू, तत्कालीन राजारानीले प्रयोग गरेका सामानहरू, राजारानीका तस्वीरहरू नियाल्दै हामी अघि बढ्यौं । भित्र सबै ठीकठाक थियो । उत्सुकतापूर्वक दृष्यहरू नियाल्दै त्यहाँ लेखिएको विवरण पढ्दै अघि बढ्यौं ।

नारायणहिटी संग्राहलय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ, दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ । हाललाई खुला गरिएको मध्ये त्रिभुवन सदन अर्को आकर्षणको केन्द्र हो । राजा त्रिभुवनको निवासका रूपमा रहेको यस भवनमा २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्ड भएको थियो ।

२०६१ सालमा त्यो भवनलाई पूर्ण रूपमा भत्काइयो । अहिले त्यस भवनको जगमा इँटको गारो लगाइएको छ । त्यहाँ वीरेन्द्र, ऐश्वर्य, दीपेन्द्र गोली लागी ढलेका स्थानहरू उल्लेख गरिएका छन् । यहाँ पुग्दा जो कोही पनि भावुक हुन्छन्, हामी पनि दु:खी नहुने कुरै भएन ।

जति दु:ख त्रिभुवन सदनमा दरबार हत्याकाण्ड भएको स्थान नियाल्दै गर्दा लागेको थियो, त्यति नै दु:ख दरबारपछाडिको फोहोरा बगैँचातर्फ अघि बढ्दा लाग्यो । रेलिङहरू भाँचिन थालेका रहेछन् । भूइँमा पातपतिङ्गरहरू झरेर कुहिएका थिए ।

सो क्षेत्र हिन्दी फिल्महरूमा भूत्याहा बंगलाको रूपमा प्रस्तुत गरिने भवनका बाहिरी संरचनाजस्तै प्रतित हुने गरी सेमी खण्डहर बनिसकेको रहेछ । त्यसलाई नियाल्दै गरेका एक वृद्ध भन्दै थिए, 'मान्छेबिनाको घर घरजस्तो नहुने रहेछ ।' मैले पनि उनको कुरामा सहमति जनाएँ । हामी त्यहाँबाट बाहिरियौं ।

दरबारभित्र क्यामेरा, मोबाइल सबै निषेध छ, त्यसलाई हामीले फोटोमा कैद गर्न सक्दैनौं ।

त्यहाँ पुग्ने जो कोहीले महसुस गर्न सक्छन्, नारायणहिटी दरबारको अघिल्लोतर्फको मोहोडा र भित्री संरचनाबाहेक अन्य भाग बिस्तारै खण्डहर बन्दै गएका छन् । रंगरोगन र पुनर्निर्माणको खाँचो देखिन्छ ।

जेठ १५, २०७५ मा प्रकाशित

रामचन्द्र भण्डारी

पत्रकार भण्डारी राजनीति मामिलासँगै खेलकुदमा कलम चलाउँछन्।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस