माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
नेपाली कांग्रेसले पञ्चायती व्यवस्थाविरुद्ध सत्याग्रहको तयारी गरिरहेकै बेला २०४२ असार १२ गते नारायणहिटी दरबारको मुख्यद्वार र राष्ट्रिय पञ्चायतको मिटिङ हलमा बम विस्फोट भयो । उक्त बम विस्फोटनको जिम्मेवारी भारतको पटनामा भूमिगत रहेका नवजनवादी मोर्चाका संयोजक रामराजाप्रसाद सिंहले लिएका थिए । घटनापश्चात् देशका विभिन्न ठाउँबाट सयौं मानिसलाई पक्राउ गरियो ।
कतिपय छुटे, तर धनुषाका डा. लक्ष्मीनारायण झा , पदमबहादुर मोक्तान, ईश्वरचन्द्र लामा, सत्यनारायण साह, सूर्यनाथ राय यादव, सप्तरीका साकेतचन्द्र मिश्र, दिलीप चौधरी र संखुवासभाका महेश्वर चौलागाईं हालसम्म बेपत्ता नै छन् । ती बेपत्ताहरूको अवस्था अझसम्म अज्ञात छ ।
पञ्चायतकालबाट मुलुकमा प्रजातन्त्र हुँदै गणतन्त्र समेत आइसक्यो तर पनि तिनीहरूको अवस्थाबारे राज्यले औपचारिक रूपमा केही भन्न सकेको छैन । उक्त बमकाण्डमा जनकपुरका वरिष्ठ अधिवक्ता युगलकिशोर लाल पनि पक्राउ परेका थिए ।
गणतन्त्र प्राप्तिका लागि ती योद्धाहरूको संघर्षका बारे लोकान्तरकर्मी अजय अनुरागीले गणतन्त्र दिवसको अवसरमा वरिष्ठ अधिवक्ता लालसँग कुराकानी गरेका थिए । लाल ती व्यक्ति हुन्, जसले रामराजाप्रसाद सिंहलाई गणतन्त्रको बाटोमा डोहो–याएका थिए :
२०३६ सालतिर युगलकिशोर लाल काठमाडौंस्थित नेपाल ल क्याम्पसमा पढ्दै थिए । त्यहीँ रामराजाप्रसाद सिंह पनि ल फर्म सञ्चालन गर्दै राजनीतिमा सक्रिय थिए । लाल आफ्ना सहपाठी इन्द्रजीत तिवारीलाई लिएर सिंहलाई भेट्न उनको ल फर्ममा पुगे । त्यतिबेला सिंह नेपाली कांग्रेसका सक्रिय नेता थिए ।
‘कांग्रेसले नै देशको पार लगाउन सक्छ, अहिले राजा महेन्द्रको पञ्चायती व्यवस्थालाई सजिलै ढाल्न सकिन्न, त्यसका लागि कांग्रेसले गाउँ पञ्चायत, जिल्ला पञ्चायत र राष्ट्रिय पञ्चायतमा जितेर कब्जा गरेपछि पञ्चायती व्यवस्थाविरुद्ध प्रस्ताव पास गर्न सकिन्छ भन्ने मान्यता बोकेका थिए ।’
रामराजाप्रसाद सिंहसँगको भेटवार्ताको कुराकानी स्मरण गर्दै लालले भने, ‘तपाईंको विचारसँग त म सहमत हुन सक्दिनँ किनभने मेरो विचारमा यो देशमा सबै समस्याको जड भनेको राजतन्त्र हो । पञ्चायती व्यवस्था त त्यसको हाँगाबिँगा मात्र हुन्, त्यसैले पञ्चायती व्यवस्थाभन्दा पनि राजतन्त्र व्यवस्थाविरुद्ध लड्नुपर्छ र त्यसका लागि हामीहरू भने तयार छौं ।’
कानून विषयमा स्नातक तहमा अध्ययन गरिरहेका ती विद्यार्थी सिंहको विचारबाट सहमत नभएपनि निरन्तर भेटघाट र संवाद भने चलिरह्यो ।
लालले स्नातकको प्रमाणपत्र पनि प्राप्त गरे । दुई वर्षपछि २०३८ सालमा ‘ग्राजुएट कन्स्टीच्युएन्सी’ को चुनाव भयो । त्यो चुनावमा स्नातक उत्तीर्ण व्यक्ति मात्र मतदाता र उम्मेदवार हुने व्यवस्था गरिएको थियो । वरिष्ठ अधिवक्ता लाल भन्छन्, ‘देशभरिमा कुल चारवटा सीट त्यसका लागि छुट्ट्याइएको थियो । रामराजाबाबु पनि त्यस चुनावमा उठ्न चाहन्थे तर कांग्रेसले उनलाई टिकट दिएन । उहाँले पुनर्विचार गर्दै स्वतन्त्र उठ्नुभयो, पर्चा पम्प्लेट छपाएर प्रचारप्रसार गर्दै चुनाव लड्नुभयो, हामी पनि जोडतोडका साथ उहाँको प्रचारमा लाग्यौं अनि उहाँले चुनाव जित्नु पनि भयो ।’
त्यसपछि उनले बहुदलीय जनवादी मोर्चा स्थापना गरे । लाल पनि त्यस मोर्चाका केन्द्रीय सदस्य मनोनित भए । गणतन्त्र स्थापना गर्ने उद्देश्यले बनेको उक्त मोर्चाले लामो छलफल पछि सशस्त्र र शान्तिपूर्ण दुवै आन्दोलन गर्ने निर्णय ग–यो । लालका अनुसार, मोर्चाले गरेको निर्णय यस्तो थियो, ‘फाइट टु फिनिश, वान्स रीभोलुसन स्टार्ट्स इट विल एन्ड इन भिक्ट्री ।’ सशस्त्र आन्दोलन गर्नुभन्दा एक महिनाअगाडि नै मोर्चासँग आबद्ध र आन्दोलनका बारेमा जानेबुझेका मानिसलाई भारतमा बोलाइने रणनीति तय गरिएको थियो । तर लाललाई नबोलाइकनै २०४२ सालमा देशमा बमकाण्ड भयो । बमकाण्डको जिम्मेवारी रामराजाप्रसाद सिंहले लिए ।
त्यसपछि देशैभरिबाट हजारौं व्यक्तिलाई पक्राउ गरियो । कोही केही दिनमा, कोही केही महिनामा, कोही केही वर्षमा छुटे भने कोई त बेपत्ता नै बनाइए ।
बमकाण्ड भएपछि लाल पनि जनकपुरस्थित आफ्नो घरबाट पक्राउ परे । जनकपुरस्थित जिल्ला प्रहरी कार्यालय (डीएसपी अफिस) मा लाललाई लगियो । करीब १० दिनपछि त्यहाँबाट काठमाडौं लगियो । महेन्द्र पुलिस क्लबमा राखियो ।
विशेष अदालतबाट उक्त मुद्दामा लाललाई तारेखमा रिहा गरिएपनि अदालत परिसरबाटै फेरी ब्ल्याक वारेन्टअन्तर्गत पक्राउ गरी डीएसपी कार्यालय लगेर थुनियो । लालका अनुसार, कुनै व्यक्तिलाई इन्काउन्टर गरेर हत्या गर्नुपर्ने
राज्यले आवश्यकता महसूस गर्दा त्यसलाई ब्ल्याक वारेन्टअन्तर्गत पक्राउ गरिन्थ्यो ।
काठमाडौंमा पुलिस क्लबको हिरासतमा राख्दा दिइएको यातना अत्यन्तै अमानवीय थियो । अँध्यारो कोठामा दुवै खुट्टामा सिक्रीले बाँधेर राखिन्थ्यो । दुवै हातमा हत्कडीले बाँधेर राखिन्थ्यो । सानो कोठामा ३० देखि ३५ जनासम्मलाई थुनेर राखिन्थ्यो । थुनुवा कोठामा उडुस र उपियाको आतंक थियो । कुनै पनि व्यक्तिसँग भेट गर्न दिइन्नथियो । घर परिवारलाई चिठ्ठी लेख्न त के भानुभक्तले लेखेको रामायण र हनुमान चालीसा समेत पढ्न निषेध गरिएको थियो ।
बिस्कुट दिँदा कागज खोलेर बिस्कुट मात्र दिइन्थ्यो । अक्षरसँग भेट नहोस् भनेर त्यसो गरिन्थ्यो । मान्छे पागल हुने व्यवस्था मिलाइएको थियो ।
थुनामा रहेका व्यक्तिहरूलाई दिसापिसाब गर्न पनि अप्ठ्यारो थियो । दिनमा एकपटक मात्र दिसा गर्न दिइन्थ्यो । त्यो पनि शौच गर्दा हाथमा हत्कडी लागेकै हुन्थ्यो । मात्र गोडाको सिक्री खोलिन्थ्यो । खाना खाँदा पनि हत्कडी खोलिन्थ्यो । दिनभरि डिब्बामा पिसाब जम्मा गर्नुपर्थ्यो र दिसा गर्न जानेबेला त्यसलाई फाल्नुपर्थ्यो । दिसा गर्दा पनि डिब्बामै जम्मा गर्नुपर्थ्यो ।
कुनै बन्दीलाई जेलसरुवा उसलाई मार्नका लागि गरिन्थ्यो । लालका अनुसार, बमकाण्डका बन्दीहरू साकेतचन्द्र मिश्र, डा. लक्ष्मीनारायण झा, ईश्वर लामा, पदम लामा, दिलीप चौधरी लगायतलाई जेलसरुवा गर्ने नाउँमा हत्या गरेर लाश बेपत्ता बनाइएको थियो ।
राति १२ बजे सिपाही आएर जेलसरुवा भयो भनेर लान्थे र उसको हत्या गरिन्थ्यो । थुनुवालाई लग्नुभन्दा पहिले अनेकौं राउन्ड गोली फायर गरिन्थ्यो जसले गर्दा सबै कैदी त्रसित हुन्थे । र कुनै एकजनालाई लगेर प्रहरीले हत्या गर्थे । जब बिहान हुन्थ्यो अनि मात्र अन्य थुनुवाले थाहा पाउँथे, फलानो मान्छेलाई हत्या गरिएछ ।
उक्त बमकाण्डका थुनुवाहरूलाई ‘सोलिटरी कन्फाइनमेन्ट’ अन्तर्गत राखिएको थियो । कुनै खास थुनुवालाई सधैंका लागि एउटा मात्र कोठामा राख्नुपर्दा ‘सोलिटरी कन्फाइनमेन्ट’ अन्तर्गत राखिन्थ्यो । लालसँगै धनुषाकै एकजना कम्युनिस्ट नेता सूर्यनाथ राय यादवलाई ‘सोलिटरी कन्फाइनमेन्ट’ अन्तर्गत राखिएको थियो ।
औषधि उपचार समेत निषेध
त्यसक्रममा एउटा घटना भयो । सामान्यतया थुनुवा बन्दी बिरामी भएपछि काठमाडौं प्रहरी अस्पतालमा उपचार गर्न लगिन्थ्यो । धनुषा लोहनाकै कम्युनिस्ट नेता गणेश साहलाई उपचार गराउन उक्त अस्पताल लग्दा औषधि किन्नका लागि चिकित्सकले दिएको पूर्जालाई साहका आफन्तले फोटोकपी गराएर राखे । त्यसपछि साहलाई सार्वजनिक गर्न उनका परिवारजनले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा साहलाई पक्राउ नगरेको भनेर डीएसपी कार्यालयले विशेष अदालतमा जवाफ दिएको थियो । तर त्यही औषधिको पूर्जाका कारण प्रहरीले साहलाई सार्वजनिक गर्नुपरेको थियो ।
उक्त घटना भएपछि त बमकाण्डका थुनुवा बन्दीहरूमाथि राज्यले आतंक नै बर्सायो । अवस्था यतिसम्म भयो कि त्यसपछि कुनै पनि बन्दी जस्तोसुकै बिरामी पर्दा पनि उपचारका लागि लगिँदैनथियो । पाटनको प्रहरी कार्यालयमा थुनामा रहेका लाल पनि बिरामी परे । तर उनलाई उपचार गरिएन । अनि उनीले भोक हडताल गरे । तीन दिनसम्म अनशनमा बसे पछि डीएसपीले एउटा निजी क्लिनिकका कम्पाउन्डरलाई बोलाएर उपचार गराए ।
विशेष अदालतमा लालको बयान
विशेष अदालतमा लाललाई उपस्थित गराइँदा उनले बयान दिने क्रममा भनेका थिए, ‘बाघ अत्यन्तै खतरनाक जंगली जनावर हो । तर बाघलाई पनि खोरमा हाल्दा उसको हातखुट्टा बाँधिदैन । तर म त यस्तो खतरनाक रहेछु कि मलाई खोरमा पनि हात र गोडा बाँधेरै चौबीसै घण्टा राखिन्छ ।’
नक्खु जेलमा केपी ओलीद्वारा लालको स्वागत
लाललाई पाटनको डीएसपी कार्यालयबाट नक्खु जेलमा लगियो । त्यहाँ जेलमा पहिलेदेखि नै तत्कालीन कम्युनिस्ट नेता विष्णुबहादुर मानन्धर, अहिलेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक बन्दीहरूले लाललाई स्वागत गरेका थिए । जेलसरुवा गरेका दिन ती राजबन्दीहरूले बस्ने, चिया पिउने, खाना खाने लगायतको प्रबन्ध मिलाएर बमकाण्डका थुनुवा बन्दी भन्दै राजनीतिक सहानुभूति व्यक्त गरेको सम्झिँदै लालले लोकान्तरसँग भने, ‘जेलमा एक दिन मानन्धरजीले मलाई सोध्नुभन्यो, कस्तो अनुभव भइरहेको छ ? मैले जवाफ दिएँ, ‘इट्स लाईक हेभन फर मी’, (यो मेरो लागि स्वर्ग जस्तै छ) अनि उहाँले मलाई धन्यवाद व्यक्त गर्नुभयो ।’
नक्खु जेलमा रहेकै बेलामा एक दिन राति ९ बजेतिर एकजना सिपाही आए । उनले खाना खानू भने । खाना खाएपछि जेलरको कार्यालयमा लगियो । त्यहाँ विभिन्न कागजमा सहीछाप लगाइयो र रिहा गरियो ।
उनले भने, ‘रिहा भएपछि राति पैदल हिँड्दै वरिष्ठ अधिवक्ता कुञ्जविहारी सिंहको घर पुगें । त्यहाँ धेरै रात भएपनि उहाँले खाना बनाउन लगाएर खुवाउनुभयो, सुत्ने व्यवस्था गर्नुभयो ।’ उनी भन्छन्, ‘उक्त बमकाण्डमा जुन जुन ठाउँमा बम विस्फोट भयो र त्यसका लागि कसूर स्वीकार गर भनेर प्रहरीले साबिती गराए, त्यसमा महत्वपूर्ण कुरा के थियो भने ती ठाउँहरूमा कुनै बम विस्फोट भएकै थिएन ।’
‘बम दरबारले विस्फोट गराएको थियो वा थिएन भन्ने विषयमा रामराजाबाबुले त्यसबारे आफूलाई केही थाहा नभएको बताएपनि सिपाहीहरू नै भन्ने गर्थे, त्यो बम त कांग्रेसलाई साइजमा ल्याउन दरबारबाटै विस्फोटन गराइएको थियो,’ लालले बताए ।
रेट्रोस्पेक्टिभ इफेक्ट
बमकाण्ड जुन बेला भएको थियो त्यसमा तत्कालीन कानूनअनुसार नै सजाय दिनुपर्थ्यो । तर राज्यले त्यो कानूनअन्तर्गत मुद्दा नचलाएर नयाँ कानून बनाई जन्मकैद र मृत्युदण्डसम्मको सजाय दिएको थियो । रामराजालगायत केहीलाई मृत्युदण्डको सजाय दिइएको थियो । पछि राजाले उनलाई माफी दिएका थिए ।
‘जेलबाट छुटेपछि रामराजाजीसँग फेरि पनि भेट भयो । उहाँ चुनाव लड्न चाहनुहुन्थ्यो । उहाँ उठ्नु पनि भयो । मसँग सहयोग माग्नुभयो तर मैले सहयोग गर्न सकिन्न भन्दै उहाँसँग सम्पर्क गरिनँ,’ लालले बताए ।
गणतन्त्रको अनुभूति जनताले गर्न पाएका छैनन्
रिहा भएपछि लालले वकालत पेशालाई अगाडि बढाए । अहिले उनी वरिष्ठ अधिवक्ताको रूपमा जनकपुरमा काम गर्छन् । जनकपुरमा उनी सबैभन्दा महंगो वकिलको रूपमा चर्चित छन् ।
कुनै पनि राजनीतिक दलमा उनी आबद्ध छैनन् । गणतन्त्र घोषणा भएको दिन उनी अत्यन्तै खुशी भएका थिए । उनी भन्छन्, ‘नागरिकले गणतन्त्रको वास्तविक अनुभूति गर्न सकेका छैनन् । समानताविनाको गणतन्त्रको कुनै अर्थ हुँदैन । त्यसका लागि जनजागृतिको आवश्यकता छ ।’
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...