नारायणहिटी पर्व- अनुत्तरित प्रश्नहरू छरपस्ट

नारायणहिटी दरवारमा स्पेनका राजा हुँआ कार्लोस र रानी सोफियाका साथ स्व. वीरेन्द्र र ऐश्वर्य तस्वीर स्रोत : Getty image

‘२०५८ जेठ १९ मा दरबार हत्याकाण्ड---राजा वीरेन्द्रको वंशनाश बनेको काण्ड---पनि गाडी दुर्घटना हुँदा जतिको अनुसन्धान पनि नभइकनै सामसुम हुन पुग्यो । आखिर कसले गरायो त हत्याकाण्ड ?’ चुरेभावरको आलोकमा मधेशी आन्दोलन नामक पुस्तकमा लेखक पार्थमणि भट्टराईले एक प्रसङ्गमा यो प्रश्न उठाउनु भएको छ । भट्टराईको यो पुस्तक तीन महीनाअघि सार्वजनिक भएको हो । लेखकको यस कथनले  घटना भएको १८ औं वर्षमा पनि प्रश्न जनस्तरमा ज्यूँदै रहेको प्रमाणित गर्दछ । र, यो निचोड ‘नारायणहिटी पर्व त इतिहास भैसक्यो’ भन्नेहरूको निष्कर्षसित मेल खाँदैन । किनभने त्यस घटनाले एक परिवारमा मात्र हैन सिङ्गो मुलुकमा असाधारण रिक्तता सिर्जना गरेको थियो ।  

अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा पढ्दा युवराज वीरेन्द्रका गुरू फ्रान्सिस् जी.हचिन्स् (Francis G. Hutchins) भन्छन्: अनुत्तरित प्रश्नहरूका बारेमा मानिसहरूका बीच बारम्बार कुरा निस्किरहने छन् । घटना भएको छ वर्षपछि प्रकाशित संस्मरणमा उनी लेख्छन्---मृतकको छिटो-छिटो दाहसंस्कार गर्ने प्रचलनले गर्दा सबूद प्रमाणहरू सङ्कलन हुन भ्याएन जसले गर्दा छानबीन कार्य पनि राम्ररी हुन पाएन । यिनै कुराहरूले अड्कलबाजीको लागि फराकिलो ठाउँ रहन गएको हो, हचिन्सको तर्क छ । उनी वीरेन्द्रको बिहा र राज्याभिषेकमा नेपाल आएका रहेछन् ।

चुरेभावर पुस्तकका लेखक भट्टराईले सडक दुर्घटनाको दृष्टान्त दिनुभएको छ; तर नेपालमा सवारी साधनको दुर्घटनामा पनि सधैं चित्तबुझ्दो तहकिकात भएको पाइँदैन । जस्तो, २०५० साल जेठमा लोकप्रिय वामपन्थी नेता मदन भण्डारी र जीवराज आश्रितको ज्यान गयो जीप दुर्घटनामा परेर । छानबीन, अनुसन्धान पटक-पटक गराइयो । र, २०५१ सालमा भण्डारीकै दल एमाले सत्तासीन भएपछि छानबीनको श्रृङ्खला झन् तीव्र भयो; अहिलेका प्रधानमन्त्री ओलीले आफैंले कहिले गृह त कहिले परराष्ट्र मन्त्रालय सम्हाल्ने मौका पाउनुभएको थियो । अर्थात् संदिग्ध हत्यारा देशी वा विदेशी जो भए पनि पत्ता लगाउने अवसर आएको थियो । तर काम भएन । उल्टै, केही समयपछि  ‘दासढुङ्गा  हत्याकाण्ड’ मा बाँचेका जीप-चालक अमर लामा नै अज्ञात बन्दूकधारीको गोलीको तारो बन्न पुगे । खोई सरकारको प्रशासन, प्रहरीले अपराधी पत्ता लगाएर सजाय दिलाउन सकेको ?

सम्झना हुन्छ, मदन र आश्रित सवार भएको मोटर-वाहन नारायणी नदीमा खस्यो भन्ने एक पत्रकार मित्रबाट फोन-जानकारी पाउँदा म वकिल गणेशराज शर्मासित कुरा गरिरेहको थिएँ---उहाँकै घर डिल्लीबजार-धोबीधारामा । म रोयटर्स समाचार संस्थाको नेपाल संवाददाता थिएँ, त्यसो हुनाले खबरको पुष्टि गराउन र समाचार सम्प्रेषण गर्नका लागि दगुर्नुपर्ने भयो । आफूलाई प्राप्त यो सूचनाबारे छोटो जानकारी दिएपछि उहाँको  तात्कालिक दृष्टिकोण जान्न चाहें । भन्नुभयो : ‘ यो अघिपछि सुनिने, देखिने किसिमको सडक दुर्घटनाको मामिला मात्र नहुन सक्छ ’। नभन्दै कुरो त्यस्तै रहेछ; किनभने आजका मितिसम्म यस मुलुकको जनताले यसबारेको यथार्थ जान्न पाएको छैन । 

वैकल्पिक सूचना नपाउँदासम्म दीपेन्द्र-देवयानी प्रसङ्गकै वरिपरि रहेर लेख्ने/बोल्ने बाध्यता थियो । अन्योल, अनिश्चय र असुरक्षाको बीचमा कुनै अपुष्ट सूचना अथवा रअ र सीआईए मिलेर राष्ट्रवादी राजाको हत्या गराए भन्नेजस्ता आधार नभएका हल्लाहरूलाई तथ्य मान्न मिल्ने अवस्था थिएन

संयोग, नारायणहिटी पर्वका बखत म अन्तर्राष्ट्रिय समुदायमा पाठकहरू भएको साप्ताहिक प्रकाशन ‘टाइम’ सित पनि जोडिएको थिएँ । अर्को संयोग, त्यस प्रकाशनका एक वरिष्ठ पत्रकार अर्को कुनै कार्यक्रममा सामेल हुन हङकङबाट काठमाडौं आएका थिए । तर त्यसैबेला दरबारको घटना भएको हुनाले उनको प्राथमिकता यही घटना हुन पुग्यो । हामी दुवैजनाले त्यस क्रममा भेटेका व्यक्तिहरूमा हरियाली नेपालसित आबध्द माधवकुमार रिमाल पनि हो जसले दरबारमा गोलीकाण्ड हुनुभन्दा केहीबेर पहिले मात्र राजा वीरेन्द्रसित लामो दर्शनभेट गर्नुभएको थियो ।

जब ‘टाइम’मा नेपालको दु:खद घटनाको विस्तृत समाचार-विवेचना छापियो त्यसमा गोलीकाण्डमा जिम्मेवार व्यक्ति युवराज दीपेन्द्र हुन् भनेर लेखियो, किनभने  सरकारीस्तरको आधिकारिक कथन त्यही थियो । ( बन्दूक स्वचालित ढङ्गले पड्किनाले १० जनाको ज्यान गयो भन्ने शुरूको कथन त्यसै पनि अविश्वसनीय थियो । ) फेरि सम्झना हुन्छ गणेशराज शर्माकै जसले त्यस घटनालाई पनि  सरल प्रेमकथाको दु:खद परिणति मात्र मान्न चाहनुभएन । उल्टो, ‘कतै तपाईं नै विदेशीको लहैलहैमा लागेर प्रेमकथामा विश्वास गर्न पुग्नुभएको त होइन?’ भनेर सोधाइको शैलीमा मलाई भन्नुभयो । तर मलगायत त्यस बखतका संवाददाताहरूलाई पत्यारिलो वैकल्पिक सूचना नपाउँदासम्म दीपेन्द्र-देवयानी प्रसङ्गकै वरिपरि रहेर लेख्ने/बोल्ने बाध्यता थियो । अन्योल, अनिश्चय र असुरक्षाको बीचमा कुनै अपुष्ट सूचना अथवा रअ र सीआईए मिलेर राष्ट्रवादी राजाको हत्या गराए भन्नेजस्ता आधार नभएका हल्लाहरूलाई तथ्य मान्न मिल्ने अवस्था थिएन । त्यसताका मैले न्यूयोर्क टाइम्सका ब्यारी बियरेकका सबैजसो समाचारमा सहयोग पनि गरेको थिएँ । 

राष्ट्रपति रोनल्ड रेगनको स्वागत भाषणको प्रतिउत्तर दिँदै राजा वीरेन्द्र । वाशिङ्गटनमा । सन १९८३ ।

*********************************************************

इतिहासका अध्येताहरू भन्छन्, सन् १९१७ मा रुसको रोमानोभ राजपरिवारको  हत्यापछि त्यस प्रकारको ठूलो हत्याकाण्ड भएको नेपालमै हो । रुसमा बोल्सेभिक क्रान्ति थियो तर नेपालमा त्यस प्रकृतिको गतिविधि थिएन । थियो भने त्यही माओवादी विद्रोह हो जसका नेताहरू राजासित सम्पर्कमा आएर कुनै प्रकारको निकास फेला पार्न व्यग्र देखिन्थे । हिंसात्मक माओवादी गतिविधि छैटौं वर्षमा थियो ।

फ्रान्सिस् हचिन्स्‌ले दरबार हत्याकाण्डको बारेमा निस्केका विवरण र व्याख्याहरू  पढेपछि, सुनेपछिको आफ्नो गम्भीर अनुमानमा भनेका छन् : हत्याको श्रृङ्खला दीपेन्द्रले चलाएका हुन् तर उनलाई त्यस उत्तेजनामा पु-याएको ‘चर्चामा नआएका कारक तत्त्वहरू’ले (Unacknowledged factors) हुनुपर्छ । भन्नुपरेन, यसभित्र खोतल्न मिल्ने, सकिने अनेक पक्ष हुन सक्छन् ।

मुलुक नेपाल, मारिएका राजा नेपालका, घटना भएको छ दरबारमा, दरबार छ तीन-चार तहको सुरक्षा घेरामा । यस्तोमा राजा ( र उनको परिवारका सबै सदस्य ) मारिन्छन् भने त्यसको कारणसहितको जानकारी ढिलो-चाँडो नेपाली जनताले राज्य तहबाट पाउनुपर्ने हो कि होइन ? राज्य-संयन्त्र सञ्चालन गर्नेहरूको यस मुलुकप्रति यसप्रकारको दायित्व हुनुपर्छ कि पर्दैन ? किन नारायणहिटी पर्व अद्यापि नसुल्झिएको पहेली बनेर अस्तित्वको संकटमा परिसकेको यस देशलाई अनिश्चयको भुमरीमा धकेलिरहेको छ ? किन तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय-नेतृत्वको आयोगको प्रतिवेदनलाई आम नेपालीले ग्रहण गर्न सकेनन्/सकेका छैनन् ?

दरबारका चालचलन र भित्री (गोप्य) गतिविधिबारे केही थाहा नहुने सर्वसाधारणले दीपेन्द्रलाई अर्घेलो देखाई अरू नै कसैले राजालाई मारेको ठान्नु अनौठो होइन । हो, बरू जनसाधारणको चित्तबुझ्ने गरी नरसंहारको कारण प्रस्तुत गर्न नसक्नुलाई चाहिँ अनौठो कुरो मान्नुपर्छ ।

नारायणहिटी पर्वसित दीपेन्द्रको चरित्र तथा महत्त्वाकांक्षा, दरबारको सुरक्षा र छानबीन आयोगको ठहर गरी तीनवटा कुरा सतहमा देखिन्छन् । पहिले दीपेन्द्रकै विषय हेरौं । दरबारको घटना हुँदा उनी ३० वर्षको हाराहारीमा थिए; यो आलोकाँचो उमेर होइन । राजा वीरेन्द्रका घोषित उत्तराधिकारी (युवराजाधिराज) भएकोले उनी एकदिन राजा हुने कुरा तय थियो । दरबारभित्रका उनको बानी बेहोराबारे बाहिर जनसाधारणलाई थाहा हुने कुरो भएन, तर  सार्वजनिक समारोह कार्यक्रमहरूमा उनको उपस्थिति एवं सहभागिता शिष्ट र मर्यादित नै देखिने गर्थ्यो । त्यस्तो स्थितिका दीपेन्द्रले एकाएक उत्तेजित भै बाबु-आमालाई नै गोली हानेर मारे भन्ने बेहोरा जनमानसमा पत्यारिलो भैदिएन । मन परेकी केटीसित आमाले बिहा गरिदिन मानिनन् त्यसैले बाबु-आमालाई नै सिध्याउँछु अनि आफैं राजा भएपछि मन परेकीसित बिहा गर्छु भन्ने हिसाबले उनी हत्यारा भएर अघि सरे भन्ने तर्क पनि छ ।

परन्तु दीपेन्द्र स्वस्थ मानसिक अवस्थामा भएको अनुमान गर्दा उनले आफू चाँडै राजा हुन त वीरेन्द्रलाई उनकै कोठामा गै कसैले थाहा नपाउने गरी मृत्युको काखमा सुताइदिने हर्कत गर्न सक्थे भन्ने तर्क गर्न सकिन्छ । राजालाई यसरी पन्छाएर आफैं राजा भएपछि आमा ऐश्वर्यको निर्णायक प्रकृतिको भनिएको शक्ति त्यसै क्षीण हुन्थ्यो, र दीपेन्द्रले इच्छाअनुसार बिहा गर्न पाउने थिए । त्यो सजिलो बाटो किन रोजेनन् उनले ? यो पनि एउटा अनुत्तरित सवाल हो ।

*****************************************************

दरबारका चालचलन र भित्री (गोप्य) गतिविधिबारे केही थाहा नहुने सर्वसाधारणले दीपेन्द्रलाई अर्घेलो देखाई अरू नै कसैले राजालाई मारेको ठान्नु अनौठो होइन । हो, बरू जनसाधारणको चित्तबुझ्ने गरी नरसंहारको कारण प्रस्तुत गर्न नसक्नुलाई चाहिँ अनौठो कुरो मान्नुपर्छ । ‘हो, हामीमध्येका कतिपयले आफ्नै निकटस्थहरूलाई समेत विश्वस्त गराउन सकेका छैनौं,’ पहिले वीरेन्द्र र पछि राजा ज्ञानेन्द्रका पार्श्ववर्ती भै काम गरेका जर्नेल टीका धमलाको कथन छ । दीपेन्द्रको बिग्रँदै गएको आनीबानी, दुर्व्यसन, आक्रामक स्वभाव आदिबारे राजालाई हत्पति थाहा नहुने र थाहा दिँदा पनि निगरानी नगरिने हुनाले कुन दिन के अनर्थ हुने हो भन्ने लाग्थ्यो, दरबारका जङ्गी निजामतीमा कार्यरत अन्य कतिपय मानिसको भनाइ पनि जर्नेल धमलाको जस्तै छ ।

दरबार घटनाको २/३ महिनाअघिको कुरो हो, न्यायपालिकातर्फका एक पदाधिकारीले आफूले नगरकोटको एक कार्यक्रममा सामेल भएर फर्किंदा बाटोमा उच्छृंखल केटाहरूको भीडमा अस्तव्यस्त दीपेन्द्रलाई देखेको वर्णन मलाई सुनाएका थिए । उतिखेरै भन्थे: ‘ एकदिन हामी नेपालीले यिनकै छत्र-छायामा बस्नुपर्नेछ भन्ने सोचले मात्रै पनि मलाई रिङ्गटा लगाउने गर्छ’। १९ जेठको दरबार काण्डको लगत्तै पछि फोन गरेर उनले मसित आफ्नो भनाइको पुष्टि भएको दाबी गरे, गर्ने नै भए ।

अब नियालौं दरबारको त्यस बखतको सुरक्षा-व्यवस्था पक्षलाई । राजदरबारको सुरक्षाको लागि शाही नेपाली सेनाको एउटा एकाइ नै दरबारको कम्पाउण्डमा शिविर खडा गरी बस्दथ्यो । मूलढोकाको पालो पहरा सैनिक, प्रहरीहरूले मुस्तैदीका साथ गरेको बटुवाले दिनहुँ देखेका हुन् । भित्र बाहिर सबैतिर सूचक, गुप्तचर, सुराकीहरू तैनाथ हुँदा हुन् । साथै, त्यसताका संवैधानिक व्यवस्था अनुसार राजालाई शाही नेपाली सेनाका परमाधिपति मानिन्थ्यो । यसरी भरपर्दो सुरक्षा घेरामा रहेका राजा, रानी र शाही परिवारजनको प्राण एउटै कोठामा एकैजना हत्याराले लिनसक्नु अकल्पनीय नै हो ।

आयोगले घटनास्थलको विवरण र प्रत्यक्षदर्शीको बयान लिने सिवाय केही काम गरेन । प्रतिवेदन त्यही ढाँचाको आयो । सबै काम औपचारिकताको निर्वाहको लागि गरेको जस्तो भयो ।

सैनिक सचिव विवेककुमार शाहको पुस्तक ‘मैले देखेको दरबार’ पढेका केही प्रबुद्ध पाठक राजधानीमा ( र सम्भवत: दरबारमै ) त्यत्रो अनिष्टकारी घटना गराउने योजना कतै बनिरहेको कुराको शाहलाई भनक समेत नहुनु गजबकै विडम्बना ठान्दछन् । नयाँ बजारको कुनै साथीको घरमा साँझको जमघटमा थिएँ, त्यहीं फोन आयो भन्ने शाहको कथन छ । अनुत्तरित प्रश्नहरूको चर्चाको सन्दर्भमा लेखक आफैंले यसो भनेको भेटिन्छ : ‘ राजदरबारमा यत्रो घटना हुँदा थाहा पाउन र रोक्न नसक्ने सुरक्षा व्यवस्था निकम्मा भन्ने कुरा पनि आयो ।...मैले यसको नैतिक जिम्मेवारी लिनैपर्छ’। तर उदेक, उता प्रधानसेनापति प्रज्वल्लशम्शेर राणाले चाहिँ राजाको सुरक्षा शाही नेपाली सेनाको कार्यक्षेत्रमा नपर्ने गैरजिम्मेदार अभिव्यक्ति दिएको कुरा प्रेस विवरणहरूमा आयो । राणाको भनाइप्रति सेनाकै उच्चपदस्थ अधिकृतहरूले असहमति जनाए; आश्चर्य प्रकट गरे । किनभने निजको त्यस कथनलाई सही मानिदिँदा दरबारमा तैनाथ सेनाको एकाइलाई ‘राजाको निजी सेना’(प्राइवेट आर्मी) मान्नुपर्ने हुन्थ्यो । त्यसो गर्नु साँच्चिकै अनर्थ हुनेथियो ।

*******************************************************

जेठ १९ को घटनाको छानबीन गराउन नयाँ राजाको तत्परता त देखियो तर त्यसको लागि अपनाउन लगाइएको विधि-प्रक्रियाले भने नेपाली समाजमा त्यतिञ्जेलमा बाक्लिइसकेको सन्देहलाई सम्बोधन गर्ने किसिमको हुन सकेन । जस्तो, जेठ १९ गते बेलुकी गोली चलेर राजा रानीहरू हताहत हुँदा दरबारका गतिविधिलाई सञ्चालन कसले ग-यो र कसको निर्देशनमा घाइते राजालाई नजिकैको वीर अस्पताल वा शिक्षण अस्पतालमा नलगेर सैनिक अस्पताल छाउनी पु-याइयो ? राति कहालीलाग्दो हत्याकाण्ड भएको छ, भोलिपल्ट सबेरैको उडानबाट पशुपतिशम्शेरकी छोरी देवयानी दिल्लीतिर लागिन् । यो कसरी सम्भव भयो ?

त्यस्तो सङ्कटको घडीमा अन्तर्राष्ट्रिय आवागमनमा किन  निगरानी गरिएन ? यी र यस्ता अनगिन्ती जनचासोलाई राम्रोसित सम्बोधन गर्नसक्ने अधिकारसम्पन्न आयोग गठन गरिनुपर्नेमा सीमित समय र दायित्व भएको एक आयोग बन्यो जसको नेतृत्व गर्ने जिम्मा प्रधानन्यायाधीश उपाध्यायलाई दिइयो । प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाटलाई सदस्य तोकियो । तर त्यस आयोगले घटनास्थलको विवरण र प्रत्यक्षदर्शीको बयान लिने सिवाय केही काम गरेन । प्रतिवेदन त्यही ढाँचाको आयो । सबै काम औपचारिकताको निर्वाहको लागि गरेको जस्तो भयो ।

‘जे आयो त्यो त साँच्चिकै बहिदारी मुचुल्का मात्र हो, प्रतिवेदनसम्म पनि होइन,’ पूर्व महान्यायाधिवक्ता बद्रीबहादुर कार्कीको उतिबेरै यस्तो प्रतिक्रिया रहेछ । ‘१९ जेठको राति भोज खान दरबार पसेका (र बाँचेका) सीमित मानिसलाई सोधेर कतै त्यत्ति गंभीर घटनाको छानबीन सम्पन्न हुन सक्छ’? प्रश्न आज पनि जहाँको तहीँ छ । दीपेन्द्रलाई दोषी घोषित गरिएको छैन; र वीरेन्द्रको मृत्युपछि बेहोशीकै अवस्थामा भए पनि उनैलाई राजा घोषणा गरेको तथ्य कायमै छ । चर्चित वकिल भीमार्जुन आचार्यको राय छ: नेपालमा कानूनी राज्य छ भने दरबारभित्र १० जनाको कत्लेआम भएको त्यस घटनाको छानबीन र कानूनी कारवाही सकेर चित्तबुझ्दो एउटा निर्क्योल देश र देशवासीलाई दिनैपर्ने हो । यसो नगर्दा भोलि मुलुकलाई अर्को अनिष्ट वा खतरा आइपरेमा त्यसको सामना कसरी हुने ?

जे होस्, नारायणहिटी पर्वका धेरै छिद्र छन्, यत्रतत्र खोंच खोल्सा र खाडल भेटिन्छन् । तसर्थ जङ्गबहादुर गाँसिएको, १५५ वर्षअघिको, कोतपर्वसित १९ जेठको घटना दाँजिन सक्दैन । यो बेग्लै अध्ययन र विवेचनाको विषय भने हुन सक्छ ।  

राजदरबारको प्रमुख सचिव पदबाट २०५१ सालको अन्त्यमा अवकाशमा गएको एक दशकपछि लेखेको आत्मकथामा रेवतीरमण खनालले ‘दरबार हत्याकाण्ड’ को उल्लेख गरेको पाइन्छ । छानबीन आयोग त गठन भयो तर पहिले त्यसमा सदस्य हुन राजी भएका विपक्षी नेता माधवकुमार नेपाल पछि सहभागी नभएको कुराले कानूनी पृष्ठभूमिका खनाललाई बिझाउने नै भयो । त्यस्तै, घटनाका सूत्रधार दीपेन्द्र नै भए तापनि छानबीन चित्तबुझ्दो भएन र सभामुखको प्रेससमक्षको प्रस्तुति जनताको लागि विश्वसनीय हुन सकेन भन्ने खनालको आँकलन रहेछ ।

अनि त्यत्रो हत्याकाण्ड हुँदा प्रधानमन्त्री गिरिजाप्रसादले न नैतिक जिम्मेवारी लिएको देखियो न त संसद्को बैठक बोलाएर घटनाबारे संसद् मार्फत जनतालाई जानकारी दिने काम नै भयो । खनालको थप भनाइ छ: ‘ग्य्राण्ड डिजाइन’ को कुरो बेला-बेलामा कोट्याउने तर अर्थ नखुलाउने काम गिरिजाले फेरि एकपल्ट गरेको देखियो ।

जे होस्, नारायणहिटी पर्वका धेरै छिद्र छन्, यत्रतत्र खोंच खोल्सा र खाडल भेटिन्छन् । तसर्थ जङ्गबहादुर गाँसिएको, १५५ वर्षअघिको, कोतपर्वसित १९ जेठको घटना दाँजिन सक्दैन । यो बेग्लै अध्ययन र विवेचनाको विषय भने हुन सक्छ ।  

जेठ १८, २०७५ मा प्रकाशित

ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस