पूर्वसैनिक सचिवको सम्झनामा जेठ १९ को भयानक रात, वीरेन्द्रलाई बचाउन धेरै प्रयास भयो

जेठ १९, २०७५

त्यो शुक्रबार म दिनभर अफिसको काममै थिएँ । सबै काम सकेर साँझ ६ बजे बाहिर निस्कने बेला सरकारको एडीसी अफिसमा फोन गरेँ । एडीसी सुन्दरप्रताप रानासँग कुरा भयो । ‘आज अरु केही काम छ कि भनेर सोधेँ । जेठ २४ गते हुन लागेको सरकारको रारा सवारीको तयारीबारे हामीबीच केही बेर कुरा भयो । मैले ‘अघि सरकारबाट रारा भ्रमणको तयारी र व्यवस्थापनबारे हुकुम भएको छ, त्यो सवारी वाहेक अरु केही कुरा छ भनेर मैले सोधेँ । सुन्दर कर्साबले आज खासै अरु केही छैन, सरकारको दर्शनभेट छ, संवाद सचिवले दर्शनभेट गराउँदै हुनुहुन्छ भन्नुभयो ।

शुक्रबार बिहान संवाद सचिव मोहनबहादुर पाण्डेको जाहेरी थियो । उहाँको सचिवालय सम्बन्धी काम सैनिक सचिवालयलाई त्यति धेरै थाहा या चासो हुँदैन पनि । आ–आफ्नो काम गर्ने हो । त्यो साँझ उहाँले स्पटलाइट म्यागजिनका सम्पादक माधवकुमार रिमाललाई वीरेन्द्र सरकारसँग दर्शनभेटको समय मिलाउनुभएको थियो । सायद त्यो साँझ उहाँका लागि मात्र दर्शनभेटको कार्यक्रम निर्धारण भएको थियो ।


ADVERTISEMENT

अपराह्न चियाका लागि डिल्लीबजारस्थित बडागुरूज्यू नयनराज पाण्डेको घर सवारी भएर सरकारहरु करिब ४५ मिनेट राज भएको थियो । त्यहाँ युवराजाधिराजको पनि सवारी भएको थियो । मैले पछि सुने अनुसार युवराजाधिराज त्यहाँ एक शब्द पनि बोलिबक्सेन । साँझ संवाद सचिवालयका तर्फबाट दर्शनभेट मिलाइएको हुनाले संवाद सचिव मात्र बस्ने, अरु सबै सचिवहरु जाने भन्ने उर्दी थियो । ६ बजे अफिसको सबै काम सकेर म बाहिर निस्केँ ।

शाही रक्षक वाहिनीमा हाम्रो ‘ड्रेस चेन्ज’ रूम थियो । त्यहीँ गएर ड्रेस चेन्ज गरेँ । त्यही बेला मैले डा. दुमन थापालाई फोन गरेँ । उहाँ मेरा साथी । हामी दुवैलाई एक जना साथीले खाना खान बोलाएको थियो, नयाँ बजारमा । डा. दुमन र म भेटियौँ । ठमेलमा अर्को साथी गणेश पाण्डेलाई लिएर नयाँबजारस्थित साथीको घर गयौँ । हामी त्यहाँ पुग्दा करिब साढे ७ बजेको थियो । हामी ड्रिङ्क्स गरिरहेका थियौँ । त्यस्तै ९ बजेर १५/१६ मिनेट गएको थियो, मेरो मोबाइल बज्यो । घरबाट गीता (श्रीमती) ले फोन गरेकी रहिछन् । निकै आत्तिएको स्वरमा उनले सोधिन्, ‘तिमी कहाँ हो ? महेन्द्र मन्जिल एडीसी अफिसबाट फोन आएको थियो ।’

मलाई अचम्म लाग्यो । महेन्द्र मन्जिल एडीसी अफिसबाट मलाई किन फोन आयो ? मलाई त श्री सदन एडीसी अफिसले खोज्नुपर्ने हो । महेन्द्र मन्जिल मुमा बडामहारानी रत्नको निवास हो भने श्री सदन महाराजाधिराजको । मैले तुरून्तै महेन्द्र मन्जिल एडीसी अफिसमा फोन गरेँ । ‘त्यहाँबाट मलाई फोन गरेको हो भनेर सोधेँ । ‘होइन’ भन्ने जवाफ आयो । ड्युटीमा एक जना लप्टन थिए । उनले ‘उता त्रिभुवन सदनतिर फायरिङको आवाज आएको थियो, त्यताबाट फोन आएको हो कि भने । यो कुरा करिब ९ बजेर २० मिनेटतिरको हो । फायरिङको आवाज भन्ने कुराले मेरो मनमा एकै पटक अनेकौँ तरङ्गहरु जन्मायो । मैले तुरून्तै अन्नपूर्ण एडीसी अफिसमा फोन गरेँ । त्यहाँ फोन उठेन । त्यसपछि मलाई ‘समथिङ इज रङ’ भन्ने लाग्यो ।

तुरून्तै सबै कार्यक्रम छोडेर ‘राजदरबार जान्छु’ भनेर निस्किएँ । दुमन, गणेशजी र म बाटोमा आइरहेका थियौँ, एकदमै हताश र आत्तिएको स्वरमा शाही रक्षक सैनिक प्रहरीका प्रमुख महासेनानी केशव महतको फोन आयो, ‘सर, भयङ्कर समस्या आइपर्‍यो, तपाईं तुरून्तै सैनिक अस्पताल आउनुपर्‍यो ।’

त्यति बेला हामी सोह्रखुट्टे आइसकेका थियौँ । त्यहीँबाट हामी तुरून्तै गाडी मोडेर वीरेन्द्र सैनिक अस्पतालतिर लाग्यौँ । त्यसलगत्तै समारोह प्रबन्धक कार्यालयका प्रमुख चिरनशमशेर थापाको फोन आयो । उहाँको स्वर पनि निकै आत्तिएको र हताश थियो । ‘जर्साब, मलाई सैनिक प्रहरीबाट आत्तिएको स्वरमा फोन आयो । दरबारमा के भयो ? मैले केही बुझ्न सकिनँ । सायद तपाईंलाई आउनुपर्ने फोन मलाई पो आएको हो कि भन्नुभयो । मैले ‘सर, मलाई तुरून्तै वीरेन्द्र अस्पताल आउनू भन्ने खबर आएको छ’ भनेर फोन राखिदिएँ । डा. दुमनले मलाई सैनिक अस्पतालमा छोडि दिनुभयो र उहाँहरु फर्कनुभयो ।

९ बजेर ३५/३६ मिनेटजति भएको थियो म सैनिक अस्पताल पुग्दा । अलिअलि भीड जम्मा भइसकेको रहेछ । प्रधान सेनापति प्रज्वल्लशमशेर जबरा पनि आइसक्नुभएको रहेछ । त्यस बेलासम्म मलाई के भएको हो भन्नेबारे केही थाहा थिएन । तर सबै जना मलाई नै ‘के भो भनेर सोध्दै थिए । महासेनानी सुन्दरप्रताप राना त्यति बेला ड्युटीमा प्रमुख एडीसी हुनुहुन्थ्यो । म भित्र पस्दै थिए, उहासँग जम्काभेट भयो । त्यहीँ टीका धमला जर्साबसँग पनि भेट भयो ।

उहाँहरु दुवैले ‘सर, खत्तम भयो, खत्तम भयो’ मात्र भन्नुभयो । टीका जर्साबले नै मलाई लिएर जानुभयो ट्रमा सेन्टरमा । त्यहाँ कल्पनै नगरेको कारूणिक दृश्य देख्नुपर्‍यो । सहनै नसकिने, मुटु थाम्नै नसकिने दृश्य ।

जता हेर्‍यो, उतै क्षत–विक्षत र रक्ताम्मे शरीरहरु मात्र ढलेका थिए । वीरेन्द्र सरकार, बडामहारानीको क्षत–विक्षत शरीर । सपना जस्तो लागिरहेको थियो । वीरेन्द्र सरकारलाई बचाउन सकिन्छ कि भनेर धेरै नै कोसिस भइरहेको थियो । तर मौसुफमा कहीँ कतै होस थिएन । मैले पनि मौसुफको नाडी छामेँ । शरीरमा अलिअलि मात्र तातो बाँकी थियो । सायद सरकार महाप्रस्थानमा लागिसकिबक्सेको थियो । यसअघि नै बडामहारानीको स्वर्गे भइसकेको रहेछ । सबै डाक्टर हताशामै थिए । छेउमै मुमा बडामहारानी सरकार होइबक्सँदो रहेछ । सरकार स्तब्ध होइबक्सन्थ्यो । मैले अभिवादन गरेँ ।

त्यसपछि मैले सुन्दर कर्साबसँग कुरा गरेँ । उहाँले घटनाको बेलीविस्तार लगाउनुभयो, ‘वीरेन्द्र सरकार दर्शनभेटको कार्यक्रम सकेर आफ्नो कार्यालयबाट त्रिभुवन सदन सवारी होइबक्स्यो । सरकार रात्रिभोजका लागि त्रिभुवन सदनभित्र सवारी होइबक्सेपछि हामी एडीसी रूममा थियौँ । भित्र पार्टी भइरहेको थियो । सरकारहरु सबै सवारी होइबक्सेको थियो । राजपरिवारका सदस्यको मात्र जमघट भएकाले सदाझैँ हामीले त्यति धेरै चनाखो हुनुपर्ने अवस्था थिएन । त्यसैले हामीले त्यति धेरै चासो दिएनौँ । शान्त थियो वातावरण । कहीँकतै पनि यस्तो होला भन्ने कल्पनै गरिएन । अचानक सुटिङको आवाज सुनिन थाल्यो । युवराजाधिराजबाट सुट भएछ । हामी ढोका फोरेर भित्र छिर्‍यौँ ।

भित्र छिर्दा त सबै जना भुइँमा ढलेको दृश्य मात्र देखियो । वीरेन्द्र सरकार पनि रक्ताम्मे अवस्थामा भुइँमा ढलिबक्सेको थियो । तत्काल हामीले स्थितिलाई नियन्त्रण गर्ने कोसिस त गर्‍यौँ, तर नहुनु भइसकेको थियो । गोली लागेका सबैलाई कहाँ लैजाने लैजाने भयो । हामीले सैनिक अस्पतालमै उपयुक्त हुन्छ भनेर यहाँ ल्यायौँ । त्यस्तो बेला कोही–कसैसँग सल्लाह गर्ने कुरा पनि भएन । त्यो अवस्थामा तत्काल जे मनमा आयो, हतार–हतारमा हामीले त्यही गर्‍यौँ । जर्साब, अब के गर्ने मैले सबैभन्दा पहिले पाएको जानकारी यही थियो । कस्तो पत्यानै गाह्रो ।

घटनास्थलमा रहेका सुन्दर कर्साबसहित अन्य एडीसी र प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार वीरेन्द्र सरकार रात्रिभोजमा सवारी हुनासाथ युवराजाधिराज रक्सी लागेको बहाना पार्दै भुइँमा ढलिबक्सेछ । त्यहाँ उपस्थित सबैलाई युवराजाधिराज नशाले ढलेको भान भयो । युवराजाधिराज ढलेपछि सरकारलाई अधिराजकुमार नीराजन, शाहज्यादा पारस, कुमार गोरख र डा. राजीव शाहीद्वारा त्रिभुवन सदनभित्रकै खोपीमा लगिएछ । त्यही बेला दीपेन्द्र सरकारको कम्मरमा रहेको पेस्तोल झिक्न खोजियो । नशाले अचेत भए पनि युवराजाधिराजले उक्त पेस्तोल झिक्न दिइबक्सेनछ । युवराजाधिराजलाई खोपीमा सुताएर चारै जना पार्टी स्थल फर्कनुभयो । खोपीमा युवराजाधिराजसँग भएका हतियार सधैँ क्याबिनेटमा हुन्थे । तर त्यो दिन बाहिरै थिए रे । महाराजाधिराज पार्टी स्थलमा सवारी भएपछि पार्टी चलिरह्यो । पार्टी स्थलमा सवारी होइबक्सेर सबैभन्दा पहिले वीरेन्द्र सरकारले मुमा बडामहारानीसँग कुरा गरिबक्सेको रहेछ ।

त्यसपछि सरकार बिलियार्ड रूममा सवारी होइबक्सेछ । शाही रनर र नानी (द्वारे जमुना) का अनुसार अधिराजकुमार नीराजनसहित शाही नातेदारहरु खोपीबाट फर्केपछि दीपेन्द्र सरकारले कम्ब्याट ड्रेस लगाइबक्सेछ । र्‍याम्बो र टर्मिनेटर सिनेमाका नायकले बोकेको जस्तो गरी युवराजाधिराज दीपेन्द्रले चार वटा बन्दुक (एमपी–५ सब मेसिनगन, एम–१६ एटु कमान्डो राइफल, अटोमेटिक १२ बोर गन र पेस्तोल) भिरिबक्सेछ ।

यसपछि पार्टी भइरहेको बिलियार्ड बैठकमा सवारी भएर सर्वप्रथम एक राउन्ड सिलिङमा फायर गरेर सबैको ध्यान आकर्षण गरिबक्सेछ । त्यसपछि बिलियार्ड टेबलअगाडि राज होइबक्सेका आफ्ना बुबा महाराजाधिराजलाई पहिलो राउन्ड गोली हानिबक्सेछ । गोली लागेर भुइँमा ढलेपछि वीरेन्द्र सरकारबाट आफ्नो साथमा रहेको पेस्तोल झिक्न खोजिबक्सेको रहेछ । यसै क्रममा धीरेन्द्र शाहले दीपेन्द्रको बन्दुक खोस्न खोज्दा दीपेन्द्र सरकारबाट वीरेन्द्र सरकारलाई पुनः र अन्य सहभागीलाई पनि एमपी–५ सब मेसिनगनबाट अटोमेटिक फायर गरेर निसाना साधिबक्सेछ । यसपछि त्यहाँ कोलाहलको अवस्था सिर्जना भएछ । त्यहाँ जोजो उठे, सबै युवराजाधिराजको बन्दुकको गोलीको निसाना बनेछन् । त्यहाँबाट युवराजाधिराज बगैँचातिर सवारी भएछ । रात्रिभोजमा सहभागी प्रत्यक्षदर्शीका अनुसार त्यसै अवस्थामा गाली गर्दै बडामहारानीबाट युवराजाधिराजलाई पछ्याइबक्सेको रहेछ । त्यति बेला युवराजाधिराजले बडामहारानीलाई अगाडि नबढ्न चेतावनी समेत दिइबक्सेको रहेछ ।

तर बडामहारानीले पूरै आक्रोशमा आएर युवराजाधिराजको हतियार खोसेर दीपेन्द्र सरकारलाई नै गोली हान्न खोजिबक्सेको रहेछ । सुत्ने कोठा (खोपी) सम्म पुग्न लाग्दा पनि बडामहारानीले पछ्याइरहेपछि युवराजाधिराजले आफ्नो खोपीबाहिर रहेको भर्‍याङको शिरबाट, बडामहारानी भर्‍याङमा उक्लँदै गर्दा एमपी–५ सब मेसिनगनबाट अटोमेटिक बस्र्ट फायर गरिबक्सेछ । आधा टाउको गोलीले उडाएपछि बडामहारानी भर्‍याङबाट भुइँमा लडिबक्सेछ । यही समय नीराजन सरकार बडामहारानीलाई पछ्याउँदै बङ्गलानजिक पुगिबक्सेको रहेछ । त्यही बेला युवराजाधिराजको आखिरी निसानामा नीराजन सरकार समेत परिबक्सेछ ।

यस बेलासम्म दीपेन्द्र सरकारको हातमा रहेको एमपी–५ सब मेसिनगनको म्यागजिनमा गोली सकिएको थियो । साथै एम–१६ एटु कमान्डो राइफलको पनि म्यागजिनमा गोली समाप्त भएको थियो । त्यसपछि युवराजाधिराजमा ‘सिक्थ सेन्स’ आएको हुनुपर्छ । साधारणतया यस किसिमका हत्याराहरु अरु सबै सकिएपछि अन्त्यमा आफैँले आफैँलाई सुट गर्ने मनोवैज्ञानिक स्थितिमा पुगेका हुन्छन् । अब सबै समाप्त भयो, मेरो पनि बाँच्ने केही आधार छैन भन्ने विचार गरेर होला, युवराजाधिराजले आफ्नो बायाँतर्फ वेप बेल्टमा रहेको पेस्तोल निकाली बायाँ हातले बायाँ कन्चटमा एक गोली हिर्काएर आफू त्यसैबाट ढलेको देखिन्छ ।

मौसुफको दाहिने हातमा एमपी–५ बन्दुक थियो, गोली सकिएको अवस्थामा । उद्धारका क्रममा दीपेन्द्र सरकारको बायाँ हातमा रहेको पेस्तोल छेउकै पोखरीमा खसेको थियो । अन्य हतियारहरु सुरक्षाकर्मीले सरकारको शरीरबाट निकालेर यत्रतत्र फालिएको अवस्थामा थिए । यस्तो अवस्था भएपछि ड्युटीमा रहेका एडीसी र अन्य सुरक्षाकर्मी मिलेर सबै घाइतेहरुलाई उठाउँदै वीरेन्द्र सैनिक अस्पताल लगेका रहेछन् । त्यस क्रममा सबैभन्दा अन्त्यमा बडामहारानीलाई फेला पारिएको रहेछ ।

युवराजाधिराज दीपेन्द्र, अधिराजकुमारी कोमल र धीरेन्द्र शाहलाई अपरेसन थिएटरमा राखिएको थियो । त्यो सबै दृश्य देखेपछि अब के गर्ने होला भनेर मेरो मनमा अनेक कुरा आउन थाले । मैले सोचेँ, अब आत्तिएर हुन्न । त्यसपछि डाक्टरहरुसँग कुरा गरेँ । बाहिरबाट डाक्टर झिकाउन पहल भइरहेको थियो । मैले पनि चाँडो गर्न सुझाव दिएँ । डा. गोविन्द शर्मा, डा. उपेन्द्र देवकोटा र डा. भगवान कोइरालालाई बोलाउने कोसिस भइरहेको रहेछ । कोही आइसक्नुभएको थियो ।

डा. राजीव शाहीले विभिन्न डाक्टरलाई सैनिक अस्पतालमा आउन अनुरोध गरिरहनुभएको थियो । उहाँ पनि घटनाको प्रत्यक्षदर्शी हुनुहुन्थ्यो । मैले बाहिर आएर प्रधान सेनापतिसँग कुरा गरेँ, ‘अब के गर्ने’ भनेर । हामी दुईले सल्लाह गर्‍यौँ, सेनालाई स्ट्यान्डबाई ड्युटीमा राख्ने । सशस्त्र प्रहरी र प्रहरीलाई समेत आ–आफ्नो ड्युटीमा स्ट्यान्डबाई राख्ने कुरा तय भयो । शाही जङ्गी अड्डास्थित सैनिक अपरेसन (डीएमओ) खोल्नुपर्छ भन्ने सल्लाह भयो । त्यस अनुसार चिफसाबले त्यहीँबाट डीएमओ सहायक रथी प्रदीपप्रताप बम मल्ल र युद्धकार्य महाशाखा प्रमुख महासेनानी दिलीप रायमाझीलाई खबर गर्नुभयो । सबैलाई आफ्नो जिम्मेवारीमा तैनाथ रहन आदेश गर्‍यौँ ।

यही बेला दीपेन्द्र सरकारका एडीसी राजु कार्कीले पोखरामा अधिराजकुमार ज्ञानेन्द्र सरकारसँग सम्पर्क गरिरहनुभएको थियो । मोबाइलमा उहाँले नै सरकारलाई घटनाबारे पहिलो जाहेरी गर्नुभएको थियो । सरकारको काठमाडौँ सवारीका लागि हेलिकप्टर पठाउने तयारी गरियो । काठमाडौँ एयरपोर्ट र पोखरा एयरपोर्टमा सेना परिचालन गरियो, रात्रि हवाई अवतरणका लागि । मेरो मनमा भने विभिन्न शङ्का–उपशङ्काका साथै कसरी समस्यासँग जुध्ने भनेर अनेक तरङ्ग उब्जिरहेका थिए । सबै जना धेरै आत्तिएर दौडधूप गरिरहेको देखिरहेको थिएँ । तर त्यसले मात्र समस्याको समाधान नहुने थियो । अब समस्यालाई कसरी पार लगाउने भनेर एकदमै सोचेँ । तर केही उपाय पनि देखिरहेको थिइनँ । त्यस बेला मेरो मनले के भन्यो भने– यहाँ यताउता गरेर मात्र हुँदैन, एउटा निश्चित योजनाका साथ अघि बढ्यो भने मात्र समस्याबाट मुक्ति पाउन सकिन्छ । यसैबीच सरकारहरुको हत्या भएको समाचार हावासरि फैलिन थाल्यो । मलाई चिन्ने विभिन्न साथीभाइ, नाता–सम्बन्ध सबैतिरबाट फोन आउन थाल्यो ।

क्षणक्षणमा म प्रधान सेनापतिसँग छलफल गरिरहेको थिएँ । यसैबीच मैले वरिष्ठ जर्साबहरु, गृहसचिव, दुवै प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई फोन गरेँ । सबैलाई एउटै कुरा भनेँ, ‘दरबारमा ज्यादै संवेदनशील घटना घटेको छ । तपाईंहरु सबै आ–आफ्नो कार्यालयमा स्ट्यान्डबाई ड्युटीमा बस्नुहोला । आफू अन्तर्गतका सबै युनिटलाई समेत स्ट्यान्डबाई राख्नुहोला ।’ सेनाको बलाध्यक्ष रथी दुर्गानाथ अर्याल र बलाधिकृत रथी प्यारजङ्ग थापा हुनुहुन्थ्यो । त्यही बेला बलाधिकृत थापाको फोन आयो । उहाँलाई पनि मैले त्यही भनेँ ।

राजदरबारको एडीसी अफिसमा फोन गरेर मैले सबै सचिवलाई तुरून्त बोलाएर सचिवालयहरु खोल्न अह्राएँ । मङ्गल सदन खोल्न भनेँ । मेरो सचिवालयमा कार्यरत प्रमुख सेनानी कुमार बुढाथोकीलाई फोन गरेर कार्यालय खोलेर बस्न भनेँ । साढे १० जति बज्दा हेलिकप्टर उडेको आवाज सुनियो । त्यो हेलिकप्टर पोखराका लागि उडेको थियो । तर केही बेरमै खराब मौसमका कारण पोखरा जान नसकेको खबर आयो । हामीलाई राति एभ्रो उड्न सक्छ भन्ने होस भएन । हामी खालि हेलिकप्टरको पछि लाग्यौँ । त्यसपछि म दरबार गएँ । सिभिल लुगामा भएकाले अफिस पुगेर युनिफर्म लगाएँ । त्यतिन्जेल प्रमुख सचिव पशुपतिभक्त महर्जन, प्रमुख निजी सचिव सुदनप्रसाद पोखरेल, सचिव सागरप्रसाद तिमिल्सिना, संवाद सचिव मोहनबहादुर पाण्डे, प्रमुख राजदरबार पदाधिकारी शारदाप्रसाद प्रधान आइसक्नुभएको थियो । हामी महाराजाधिराज सरकारको कार्यालय मङ्गल सदनको मिटिङ हलमा जम्मा भयौँ । मैले सबै सचिवलाई त्यति बेलासम्म थाहा पाएको सबै वृत्तान्त जानकारी गराएँ । मेरो ख्यालमा त्यो बेलासम्म उहाँहरुलाई खासै जानकारी थिएन । एकदमै चाँडो–चाँडो हामीले के गर्ने भनेर निधो गर्नुपर्ने थियो । मैले नै प्रधानमन्त्रीलाई खबर गरेर यहाँ बोलाऔँ कि बालुवाटार नै जाऔँ भनेर कुरा राखेँ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पशुपतिभक्त महर्जनले फोन गरेर ‘एकदमै जरुरी भएकाले म भेट्न आउँछु’ भन्नुभयो । उहाँले बोलाएपछि प्रमुख सचिव प्रधानमन्त्री निवास, बालुवाटार जानुभयो । प्रधानमन्त्रीलाई यो कुराको अनौपचारिक जानकारी चाहिँ भइसकेको रहेछ । प्रधानमन्त्री र प्रमुख सचिव केही बेरमै राजदरबार आइपुग्नुभयो । साढे ११ बजिसकेको थियो । मैले नै प्रधानमन्त्रीलाई अहिलेसम्मका सबै घटना जानकारी गराएँ । प्रधानमन्त्री र हामी सचिवहरुले मङ्गल सदनमै छोटो छलफल गर्‍यौँ । प्रधानमन्त्रीले ‘यस्तो आपत्मा के गर्ने तपाईंहरु योजना बनाउनुस्, त्यस अनुसार श्री ५ को सरकारले आवश्यक सबै व्यवस्था मिलाउनेछ, बरू हामी सैनिक अस्पताल जाऔँ, त्यहीँ बसेर सबै विषयमा छलफल गरौँला’ भन्नुभयो । उहाँको भनाइमा हामी सहमत भयौँ र सबै जना अस्पताल पुग्यौँ । त्यहाँको कारूणिक दृश्य देखेर प्रधानमन्त्री निकै भावविह्वल हुनुभयो । एक छिन त केही बोल्नै सक्नुभएन । त्यसपछि प्रधानमन्त्रीले मुमा बडामहारानी सरकारको दर्शन गर्नुभयो र डाक्टरहरुसँग कुरा गर्नुभयो । के गर्ने कसो गर्ने भनेर उच्च चासो दिनुभयो । हरेक विषयमा प्रधानमन्त्रीले अग्रसरता लिन थाल्नुभयो । त्यति वृद्ध मान्छेको फुर्ती देखेर हामीमा पनि होस र जोस आयो । उहाँ कत्ति पनि आत्तिनुभएको देखिएन । घटनाले भावविह्वल हुनु त स्वाभाविक नै थियो ।

हामीले दरबारबाटै प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहम्मद मोहसिन, राजपरिषद् स्थायी समिति सभापति डा. केशरजङ्ग रायमाझी र प्रमुख विपक्षी दलका नेता तथा नेकपा एमाले महासचिव माधवकुमार नेपाललाई खबर गरेका थियौँ । डा. रायमाझी सैनिक अस्पताल पुगिसक्नुभएको रहेछ । दरबारबाटै उपप्रधानमन्त्री रामचन्द्र पौडेल र अन्य मन्त्रीलाई पनि घटनाबारे जानकारी गराइएको थियो ।

घटनास्थलको निरीक्षणपछि प्रधानमन्त्रीले ‘अधिराजकुमार ज्ञानेन्द्र कहाँ होइबक्सन्छ ? भनेर सोध्नुभयो । ज्ञानेन्द्र सरकार पोखरा भएको जानकारी गराएपछि उहाँले ‘सबैभन्दा पहिले सरकारलाई काठमाडौँ ल्याउनुपर्‍यो, त्यसपछि के गर्ने भनेर सल्लाह गरौँला’ भन्नुभयो । उहाँले सुरक्षा प्रबन्ध राम्रोसँग मिलाउन पनि सबैलाई निर्देशन दिनुभयो । यसैबीच सैनिक अस्पतालको माथिको अतिथि कक्ष, कार्यालय, बैठक कक्ष सबै खोलियो । प्रधानमन्त्री रातैभर अस्पतालमा बस्नुभयो । मुलुकमै समस्या आइपरेका बेला प्रधानमन्त्री अग्रसर नहुने प्रश्नै थिएन । उहाँ अस्पताल आएर बसेपछि काम गर्न धेरै सहज भयो । प्रधान न्यायाधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, एमाले महासचिव नेपाल आइसकेपछि प्रधानमन्त्री, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझीसहित उहाँहरु सबै एउटै कोठामा बसेर घटनाबारे छलफल गर्दै अब कसरी अगाडि बढ्ने भनेर सल्लाह गर्न थाल्नुभयो । प्रधानमन्त्री कोइराला क्षण–क्षणमा सोधिरहनुभएको थियो, ज्ञानेन्द्र सरकारको सवारी कति बेला हुन्छ भनेर । काठमाडौँबाट हेलिकप्टर उड्ने क्रम जारी थियो । तर धेरै प्रयास गर्दा पनि काठमाडौँ र पोखराबीचको खराब मौसमका कारण हेलिकप्टर पोखरा पुग्नै सकेन । ज्ञानेन्द्र सरकारलाई जसरी भए पनि काठमाडौँ ल्याउनैपरेको थियो ।

मैले ‘अब हेलिकप्टरबाट सम्भव छैन, त्यतातिर नलागौँ, मोटरबाटै सवारीको प्रबन्ध गरौँ’ भनेर आफैँले पोखरा फोन गरेर ज्ञानेन्द्र सरकारसँग कुरा गरेँ । सरकारलाई काठमाडौँको सबै स्थितिबारे जानकारी भइरहेकै थियो । मैले ‘हेलिकप्टर आउन सकेन, मोटरबाटै सवारी चलाउनुपर्ला, सुरक्षाको प्रबन्ध गरौँ भनेर जाहेर गरेँ । त्यसपछि ३ नम्बर वाहिनीका वाहिनीपति सहायक रथी प्रकाशबहादुर बस्नेतलाई फोन गरेर ‘प्रहरी र सेनाको राम्रो सुरक्षा स्कर्टिङ सहित ज्ञानेन्द्र सरकारको काठमाडौँका लागि सवारी चलाउनू’ भनी अह«ाएँ । यसरी रातको साढे २ बजे मोटरमा पोखराबाट काठमाडौँका लागि सरकारको प्रस्थान भयो । हामीले काठमाडौँबाट गजुरीसम्म हेलिकप्टर पठायौँ ।

ज्ञानेन्द्र सरकारको पोखरा कार्यक्रमबारे हामीलाई केही थाहा थिएन । वीरेन्द्र सरकारलाई थाहा थियो होला । सरकारहरु कहीँकतै जाँदा वीरेन्द्र सरकारलाई सोधेर जाने चलन थियो । ज्ञानेन्द्र सरकार साता दिनअघि मात्र चितवन गइबक्सेको थियो भन्ने सुनेको थिएँ । सायद चितवनबाटै पोखरा सवारी होइबक्सेको थियो । श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष होइबक्सेकाले सरकार कोषका कार्यक्रममा सरिक हुन चितवन र पोखरा सवारी भएको हुनुपर्छ । सरकारका साथमा प्रभुशमशेर जबरा र वीरेन्द्रबहादुर शाह (लव राजा) पनि हुनुहुन्छ भन्ने सुनेँ । सरकार पोखराको रत्न मन्दिरनजिकै रहेको हिमा गृहमा राज होइबक्सेको रहेछ । अधिराजकुमार हिमालयले निर्माण गरेको बङ्गला भएकाले यसको नाम हिमा गृह राखिएको थियो । अधिराजकुमार हिमालयको निधनपछि अहिले यो बङ्गला ज्ञानेन्द्र सरकारको नाममा सरेको हो ।

राति ३ बजे म एक पटक पुनः दरबार गएँ । सरकारका एडीसीहरु र सैनिक प्रहरीका अधिकृतहरु गएर घटना घटेको त्रिभुवन सदनमा हेर्‍यौँ । बिलियार्ड बैठकको सिसाको ढोका फुटेको थियो । घटनापछि भित्र जाने क्रममा एडीसीहरुले फुटाएका रहेछन् । गोलीका खोका यत्रतत्र छरिएका थिए । वीरेन्द्र सरकारको चस्मा र टोपी त्यहीँ देखेँ । कैयौँको हाते ब्याग र अन्य ससाना सामान छरपस्ट थिए । जताततै रगतैरगत । कोठामा पङ्खा र एसी चलिरहेको थियो, बत्ती बलिरहेको थियो । त्यो दृष्यले मलाई स्तब्ध बनायो । मैले सेन्ट्री थप्न लगाएँ । ‘कसैलाई पनि भित्र पस्न नदिनू, जेजस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा रहन दिनू’ भनेर म फेरि अस्पताल आएँ ।

हामी अस्पताल फर्कंदा वीरेन्द्र सरकार सहित अन्य सरकारहरुको स्वास्थ्यमा केही सुधार होला कि भन्ने आशा मारिसकिएको रहेछ । वास्तवमा अस्पताल पुर्‍याउनुअघि नै बाटोमा वीरेन्द्र सरकारको मृत्यु भइसकेको रहेछ । नयाँ राजा घोषणा नगरेसम्म महाराजाधिराजको मृत्युको घोषणा गर्न नमिल्ने राजपरम्परा रहिआएको छ । त्यसैले अब के गर्ने भनेर हामी छलफलमा बस्यौँ । सरकारको मृत्युको घोषणा कसरी गर्ने र कसलाई कसरी नयाँ राजा बनाउने भन्ने कुरा बहुतै कठिन र जटिल थियो । त्यस अवस्थामा प्रधानमन्त्री, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझी, सभामुख रानाभाट, एमाले महासचिवले प्रभावकारी भूमिका निर्वाह गर्नुभयो । राजदरबारका सबै सचिवहरु सक्रिय हुनुभयो । त्यहाँ प्रधानमन्त्री सहितको बैठक पटक–पटक बस्यो । बिहान राजपरिषद्को बैठक बोलाउने निधो भयो । बैठकमा महान्यायाधिवक्तालाई पनि बोलाउने तय भयो ।

बहान ६ बजे हेलिकप्टर सैनिक अस्पतालमा अवतरण गर्‍यो । प्रधानमन्त्री कोइराला, राजपरिषद्का सभापति डा. रायमाझी, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन र एमाले महासचिव नेपाल हेलिप्याडसम्म ज्ञानेन्द्र सरकारलाई लिन जानुभयो । प्रधान सेनापति र राजदरबारका हामी सचिवहरु पनि हेलिप्याडसम्मै गयौँ । ज्ञानेन्द्र सरकार अस्पतालमा माथि सवारी भयो । ट्रमा सेन्टरमा सबैभन्दा पहिले राजा वीरेन्द्रको शव थियो । त्यसपछि रानी ऐश्वर्यको । अन्य शवहरु त्यहीँ छोपेर राखिएका थिए । अपरेसन थिएटरमा युवराजाधिराज दीपेन्द्र, अधिराजकुमारी कोमल, कुमार गोरख, केतकी चेस्टर र अधिराजकुमारी शोभाको अपरेसन भइरहेको थियो । अपरेसन थिएटरको कमी भएकाले डाक्टरहरुले अस्पतालको ड्रेसिङ रूममै पनि अपरेसन गरिरहनुभएको थियो । त्यो दिन डाक्टरहरुले ठूलै जोखिम मोलेर र साहसका साथ राम्रो काम गर्नुभयो । ज्ञानेन्द्र सरकारले अस्पतालको सबै दृश्य हेरेपछि प्रधानमन्त्री, राजपरिषद्का सभापति र प्रमुख सचिव पशुपतिभक्त महर्जनसँग कुरा गरिबक्स्यो । सरकारको अनुहार मार्मिक र शोकविह्वल देखिन्थ्यो ।

सरकारको सवारीपछि सैनिक अस्पतालको पुस्तकालय हलमा अधिराजकुमार ज्ञानेन्द्रका साथै प्रधानमन्त्री कोइराला, प्रधान न्यायाधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझी र प्रमुख विपक्षी दलका नेता नेपाल सम्मिलित बैठक बस्यो । हामी सचिवहरु पनि सहभागी भयौँ । बैठकमा राजपरिषद्को बैठक बसेर त्यसले नयाँ राजा घोषणा गर्ने तय भयो र यस घटनाको जाँचबुझ गर्नेबारे छलफल भयो । सरकारबाट घटना सम्बन्धी सबै छानबिन प्रक्रिया कानुन बमोजिम नै गर्न हुकुम भयो । साथै यस घटनामा मृत्यु भएका सबैको पोस्टमार्टम गर्न समेत निर्देशन बक्स्यो । यही बैठकमा राजदरबार हत्याकाण्डबारे जाँचबुझ गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने निधो भयो ।

मलाई के सम्झना छ भने, ‘यत्रो घटना घट्यो, अब यसको निष्पक्ष छानबिन हुनुपर्छ’ भनेर एमाले महासचिव माधवकुमार नेपालले निकै जोड दिनुभएको थियो । सुरूमा न्याय क्षेत्रका व्यक्ति मात्र राखेर आयोग गठन गर्ने प्रस्ताव आएको हो । तर महासचिव नेपालले नै ‘होइन, पार्टीका वरिष्ठ नेताहरु र विपक्षीका नेता समेत बसेर आयोग गठन गरौँ’ भनेर प्रस्ताव गर्नुभयो । साथै उहाँले ‘यदि त्यसो नगर्ने हो भने उच्चस्तरीय आयोगमा प्रधान न्यायाधीशलाई अध्यक्ष राखेर सदस्यमा सभामुख रानाभाट र प्रमुख विपक्षी दलको नेताका रुपमा मलाई समेत राख्नुहोस्’ भनी प्रस्ताव गर्नुभयो । बैठक सकेर फर्कने क्रममा समेत उहाँले ‘आयोगमा म छुटुँला नि ’ भनिरहनुभएको थियो । वास्तवमा उहाँको प्रस्ताव र तर्क सही पनि थियो । उहाँकै प्रस्तावलाई प्रधानमन्त्रीले समर्थन जनाउनुभएको हो । त्यही प्रस्ताव अनुसार प्रधान न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निधो भएको हो ।

राजपरिषद्को बैठकपछि दीपेन्द्र सरकारलाई नयाँ राजा घोषणा गरियो । वीरेन्द्र सरकारको मृत्युको घोषणा समेत भयो । राजपरिषद्को बैठकद्वारा अधिराजकुमार ज्ञानेन्द्रलाई राज्यसहायक बनाउने निर्णय भयो । शनिबार दिउँसो स्वर्गीय राजाको शव दाहसंस्कारका लागि आर्यघाट लैजानुपूर्व अस्पतालको प्राङ्गणमै ज्ञानेन्द्र सरकार, प्रधानमन्त्री कोइराला, प्रधान न्यायाधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, राजपरिषद् सभापति डा. रायमाझी, प्रमुख विपक्षी दलका नेता नेपाल लगायत वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा राजदरबार हत्याकाण्डबारे उच्चस्तरीय आयोग गठन सम्बन्धमा पुनः छलफल चल्यो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रामचन्द्र पौडेल, सबै सुरक्षा अङ्गका प्रमुखहरु, श्री ५ को सरकारका केही सचिवहरु पनि छलफलमा सहभागी हुनुहुन्थ्यो । छलफलपश्चात् बाहिरको वातावरण एकदमै तनावग्रस्त बन्दै गएका कारण उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय भएको कुरा तत्काल सञ्चार माध्यम मार्फत अनौपचारिक रुपमा सार्वजनिक गर्ने र औपचारिक रुपमा राज्यसहायक श्री ५ ज्ञानेन्द्रबाट घोषणा गर्ने तय भयो । यो कुरा प्रधानमन्त्री कोइरालाले प्रस्ताव गर्नुभएको थियो, जसमा त्यहाँ उपस्थित सबैले सहमति जनाएका थिए । त्यसपछि प्रमुख सचिव पशुपतिभक्त महर्जनले आयोगमा रहने सबै सदस्यलाई छेउमा गएर उहाँहरुको कानैमा आयोगको सदस्यमा बस्ने कि नबस्ने भन्नेबारे सोध्नु पनि भयो, जसमा सबै जनाले स्वीकृति जनाउनुभएको थियो । त्यसपछि राजदरबार हत्याकाण्डबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको कुरा सार्वजनिक गरियो । तर, आयोग गठन भइसकेपछि एमाले महासचिव नेपालले के कारणले हो, आयोगमा नबस्ने भनेर राजीनामा दिनुभयो ।

यस्तो किसिमको दुर्घटना हुँदा के गर्ने, कानुनी रुपमा यसका केके उपाय छन् भनेर सोच्ने र विचार गर्ने समय थिएन हामीसँग । अधिराजकुमार ज्ञानेन्द्रबाट मृत्यु भएका सबैको पोस्टमार्टम गरी कानुन अनुसार सबै प्रक्रिया पूरा गर्न हुकुम भएको हो । पोस्टमार्टमका लागि डा. हरिहर वस्ती, प्रहरी र जिल्ला प्रशासन कार्यालयबाट प्रतिनिधि समेत झिकाइसकिएको थियो । सरकारी वकिल पनि अस्पतालमै झिकाउने तयारी भइरहेको थियो । घटनाको फाइल तयार पार्ने काम चलिरहेको थियो । यसैबीच मुमा बडामहारानीबाट ‘महाराजाधिराजको शरीर चाहिँ नचिर्ने हो कि ? हुकुम भयो । अनि प्रधानमन्त्री कोइराला पनि यस कुरामा सहमत हुनुभयो । उहाँले ‘घटना यो व्यक्तिले गराएको हो भन्ने स्पष्टै छ, मृत्युको कारण सबै छर्लङ्ग छँदै छ’ भन्नुभयो । यसपछि केका लागि पोस्टमार्टम गर्ने भन्ने धेरैको तर्क आयो । सोही अनुसार पोस्टमार्टम नगर्ने कुरा तय भयो । त्यो बेलाको परिस्थिति नै कस्तो थियो भने तत्काल जेजे आइपर्छ, त्यति बेला मनमा जे विचार आउँछ, यो सही भन्ने लाग्यो भने तत्कालै निर्णय लिनुपर्दथ्यो । यस्ता कुराको निर्णय लिने को हो त ?

यसको इन्चार्ज हुने कुरा नै भएन । नयाँ राजाको घोषणा गर्न भने सबैभन्दा महत्वपूर्ण भूमिका राजपरिषद्को हुने भयो । त्यसैले शनिबार बिहानै राजपरिषद्को बैठक बोलाइयो । बैठकले राजा वीरेन्द्रको स्वर्गारोहण
भएको घोषणा गर्नुका साथै नेपालको राजकीय परम्परा अनुसार होसमा नभए पनि युवराजाधिराज दीपेन्द स्वर्गे नभएकाले सरकारलाई नै राजा बनाउने निर्णय गर्‍यो । साथै राज्यसहायकका रुपमा अधिराजकुमार ज्ञानेन्द्रलाई जिम्मेवारी दिने निर्णय गर्‍यो । दीपेन्द्र सरकारको उपचार भइरहेको थियो । बाँच्ने आशा लगभग थिएन । तर पनि चिकित्सकले मृत्युको घोषणा नगरेकाले सरकारलाई राजा घोषणा गर्न बाध्य हुनुपरेको थियो । परम्परा अनुसार राजगद्दी खाली राख्नु हुन्न । नेपालको कानुन र राजपरिषद्को कार्यविधि अनुसार नै दीपेन्द्र सरकारलाई राजा घोषणा गरिएको थियो । राजपरिषद्का सभापति डा. रायमाझीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री कोइराला, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, प्रधान न्यायाधीश उपाध्याय, प्रमुख विपक्षी दलका नेता नेपाल, उपप्रधानमन्त्री पौडेल, भूतपूर्व प्रधानमन्त्रीहरु, प्रधान सेनापति, महान्यायाधिवक्ता लगायतको पूर्ण उपस्थिति थियो । बैठकमा कोहीकसैले पनि दीपेन्द्रलाई राजा घोषणा गर्नु हुन्न भनेनन् । न कसैले अधिराजकुमार ज्ञानेन्द्रलाई राज्यसहायकको जिम्मेवारी दिने कुराको विरोध नै गरे । अझ प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेता लगायतबाटै यो प्रस्ताव आएको थियो ।

नयाँ राजा घोषणा गरियो तर राज्यारोहण गर्न सकिएन । परम्परा अनुसार राजाको स्वर्गारोहण हुँदा पहिले नयाँ राजाको राज्यारोहण गर्ने अनि मात्र स्वर्गीय राजाको दाहसंस्कार गर्ने प्रचलन थियो । यस पटक यसो गर्न सकिएन । यस्तो भएको पनि नेपालको इतिहासमा पहिलो पटक नै थियो । यसै क्रममा स्वर्गीय राजा–रानी लगायत राजपरिवारका स्वर्गीय सदस्यहरुको एकै पटक दाहसंस्कार गर्नुपर्ने भयो । सेनाका लागि यो पनि ठूलै जिम्मेवारी थियो । एकातिर सारा सुरक्षाको व्यवस्था मिलाउनु थियो भने अर्कातिर एकै पटक यति धेरै सङ्ख्यामा आर्यघाटमा दाहसंस्कारको प्रबन्ध गर्नु थियो । परम्परा अनुसार ब्राह्मणहरुले शव बोकेरै आर्यघाटसम्म पुग्नुपर्ने । पाँच वटा चिता तुरून्त बनाउनुपर्ने भयो । अन्तिम सलामीको व्यवस्था गर्नुपर्‍यो, एकैपटक ।

राजा सम्बन्धी प्रशासनिक र कानुनी सबै काम प्रमुख राजदरबार पदाधिकारी र प्रमुख सचिवालयले तथा सुरक्षा प्रबन्ध र दाहसंस्कारसँग सम्बन्धित सबै काम सैनिक सचिवालयबाट हेर्ने गरी कामको बाडफाँड गरियो । यसमा मलाई प्रधान सेनापति प्रज्वल्लशमशेर जबराले निकै मदत गर्नुभयो । गृहसचिव श्रीकान्त रेग्मीको सहयोग पनि उल्लेखनीय रह्यो । त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्मा, प्रहरी महानिरीक्षकहरु प्रदीपशमशेर जबरा र कृष्णमोहन श्रेष्ठले पनि निकै कुशलतापूर्वक आफू मातहतका सुरक्षाकर्मीलाई परिचालन गरेर निकै महत्वपूर्ण सहयोग पुर्‍याउनुभयो । राजपरिषद्को बैठकपछि अधिराजकुमार ज्ञानेन्द्रबाट राज्यसहायकका रुपमा देशवासीका नाममा पहिलो सम्बोधन गर्ने तय भयो । राज्यसहायकले गर्ने सम्बोधनमा के विषय समेट्ने भनेर चार जना सचिवले तय गर्‍यौँ ।

त्यसमा प्रमुख सचिव पशुपतिभक्त महर्जन, प्रमुख निजी सचिव सुदन पोखरेल, संवाद सचिव मोहनबहादुर पाण्डे र म थियौँ । सम्बोधन भाषण लेख्ने कामको जिम्मेवारी मुख्यतः संवाद सचिव र प्रमुख सचिवको हुन्थ्यो । यो सम्बोधनको ड्राफ्ट चाहिँ मोहनबहादुर पाण्डेले तयार पार्नुभएको थियो । ज्ञानेन्द्र सरकार र प्रधानमन्त्रीको सुझाव अनुरुप त्यो सम्बोधन तयार भएको थियो । राजदरबारका सचिवले सम्बोधन भाषण तयार पारेर सरकारबाट सहमति भएपछि अक्सर जानकारीका लागि प्रधानमन्त्रीलाई देखाउने चलन थियो । यो सम्बोधन भाषण पनि प्रधानमन्त्रीलाई देखाइयो । उहाँले ‘हुन्छ’ भनेपछि सरकारबाट देशवासीको नाममा सम्बोधन गरिबक्स्यो ।

(पूर्वसैनिक सचिव, रथी विवेक कुमार शाहको पुस्तक - 'मैले देखेको दरबार'बाट)

जेठ १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस