बालकृष्ण निस्के, रेशम चौधरी एक्लै भए !

जेठ २०, २०७५

सबैभन्दा धेरै जेल बसेको नेतालाई नै सबैभन्दा पाको, हक्की तथा जनताको समर्थन पाएर माथि उठेको नेता भन्ने बुझिन्छ यो देशमा । स्व. नेता बीपी कोइरालाकै कुरा गरौं, कम्तीमा पंक्तिकारका लागि उनी नेता कम र साहित्यकार धेरै हुन् । शायद सबैका लागि यस्तै हुन् । उनले लेखेका आत्मवृत्तान्त र जेल बसाइका अनुभूतिहरूमा जनताको भावनाहरूलाई कसरी नजरबन्दमा राखिन्छन् भन्ने कुरा बडो रोचकताका साथ प्रस्तुत गरेको पाइन्छ । आफूलाई पनि जेल बसम् बसम् लाग्छ ।

निकै जान्ने पल्टिएर एक हरफ विदेशको प्रसङ्ग पनि जोडौं । गोरा र काला जातिको संघर्षको कालखण्डमा नेल्सन मण्डेलाले काला जातिहरूलाई दासत्वबाट मुक्त गर्न वर्षौंवर्षसम्म जेलको भित्तामा आफू निस्किने दिनको रेखा कोरेर बस्नुपरेको थियो । तर त्यो दिन कुनै मिति थिएन, केवल एउटा अपेक्षा मात्र थियो । रंग दासत्वको त्यो निर्मम बिरासतलाई नामेट पार्न खोज्दा मण्डेलालाई किन जेलभित्रै बन्दी पारियो ? 


खैर, हामीले राजनेता, जननेता, त्यागी, सन्त, चिन्तक, सादा, महान् विचारक जस्ता, यस्ता कैयौं उपमा दिने नेताहरू कोही यो धर्तीमा जीवित छन्, केही छैनन् । जे जस्तो भएपनि कुनै न कुनै कालखण्डमा तिनले जेलजीवन बिताएका छन् । हो, दस्तावेजीकरण नभएका हुन सक्छन् । धेरै टाढा नजाम् । गणतन्त्र प्राप्तिकै सम्मुखमा शेरबहादुर देउवादेखि माधव कुमार नेपालसम्मका नेताहरू नजरबन्दमा परेका थिए । तिनले जेलभित्र जाँदा हतकडी र निस्किदाँ फूलमाला लगाएका थिए ।

आन्दोलनकै रापतापको समयमा नजरबन्दीमा परेका नेताहरू एकाएक जनताको नजरमा प्रिय नेताको रूपमा बास बस्न आइपुगेका थिए किनभने तिनले नयाँ संविधान र गणतन्त्रको उपहार ल्याइदिएका थिए । जनताले आफ्नो देश हाँक्ने नेतृत्व चुनावबाट चुन्न पाउने स्थिति बसालेका थिए । र समग्रमा तिनले स्वतन्त्रताको कोसेली बोकेर निस्केका थिए । 

अधिकांश नेताहरू जो बिरामी छन् तिनले प्रहरीको डण्डा राम्रैसँग भेटेका थिए । केही दिनअघि मात्रै राष्ट्रपति विद्या भण्डारीले माफी दिएर छुटेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुङ्गेलले भनेका थिए, ‘मलाई हिटरमा पिसाब फेर्न लगाइयो, अनि किड्नी ड्यामेज गरियो, म मुटुको बिरामी छु । गणतन्त्रका लागि लडेबापत मलाई जेल पठाइयो ।’

ढुङ्गेलको चित्तदुखाइ धेरै हदसम्म हैन, पूरै सही छ । राज्य भनेको व्यवस्था परिवर्तनको संवाहक मात्र हैन, त्योबीचमा घटेका घटनाहरूको जिम्मेवारी लिने निकाय पनि हो । जस्तो कि १२ बुँदे सहमति जिम्मेवारीको एक उदाहरण हो । तर दुईचारजना मानवअधिकारवादको व्यापारीलाई फाइदा पु–याउन राज्यको मूल स्पिरिटका रूपमा रहेको शान्ति प्रक्रियाको चिरहरण गर्न मिल्छ ? शान्ति प्रक्रिया भन्नुको अर्थ त्यसभन्दा अगाडिको लडाईं रोक्ने भनेको त होला नि हैन ? 

तत्कालीन माओवादीले सञ्चालन गरेको १२ वर्षको युद्ध ’जनयुद्ध’ व्यक्तिहत्याको शृङ्खला थिएन, त्यो एउट राजनीतिक आन्दोलनको प्रारूप थियो । त्यसैले तत्कालीन माओवादी आन्दोलनमा संलग्न हुनेहरू सबै बालकृष्ण ढुङ्गेल थिए, हुन् । राजनीतिक लडाईंका चरणमा भएका घटनाक्रमहरूलाई व्यक्तिसँग जोड्नहुँदैन थियो भन्ने हो । झापामा पनि मान्छेका टाउको काटिएकै थिए, खुट्टालाई चार इन्च छोटो बनाइएकै हो । यसको विस्तृत विवरण तत्कालीन खाँटी एमालेहरूलाई थाहा होला । 

जे होस्, नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्नका लागि यो भूमिका के कस्ता विचारकहरू लामो समयसम्म जेलजीवन खेप्नुप–यो, कालकोठरीमा नजरबन्दी हुनुप–यो, त्यतातर्फ चर्चा गर्न लागेको त हैन । तर जजसले विभिन्न कालखण्डमा लामो वा छोटो जेलजीवन बिताएर निस्के, चुटाइ, पिटाइ, गोदाइ खाए त्यो सबै राजनीतिक घटनाक्रमको उपज थियो । न त्यसमा आदेशपालकहरूको दोष थियो, न युद्ध र आन्दोलनकारीहरूको नै ।  हालका मन्त्री मातृका यादवले पनि जेलमा मरुन्जेल पिटाइ खाएकै हुन् । त्यसैले उनी बिरामी भइराख्छन् । हाल उपचार गर्न विदेश गएका छन् ।

ओलीज्यूको जेलजीवनको लिगेसीले पनि जनताको जीवनमा खुशियाली त ल्याएकै हो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना जेल जीवनका अनुभूति सुनाउन थाल्नुभयो भने निकै महान् कर्म गरेजस्तो आँखा चम्काउनुहुन्छ । मानौं कि एकबारको जुनीमा उहाँले सबैभन्दा राम्रो काम गरेको नै जेलजीवन बिताएको हो । खिस्स हाँस्दै ‘म परिवर्तनका लागि जेलनेल बस्दा तिमीहरू आमाको गर्भमा पनि थिएनौ’ भन्ने उहाँको वचन निकै तीखो हुनेगर्छ । हाँसोमा पनि रोदन लुक्नेगरी उखान फ्याँक्नुहुन्छ उहाँ । उहाँको तर्क हुन्छ, ‘म जेलनेल खाएको मानिस हुँ, तिमीहरू बतासे भुइँफुट्टाहरूलाई के थाहा छ ?’ 

पक्कै पनि यहाँ कोहि भुइँफुट्टा छन्, कोही बतासे । त्यसैले पुराना अतीत भुलेर राजनीति र अपराधलाई एकै तुलामा जोखेर तौल मापन गर्न खोजिन्छ । तर यसका आयतन र आयामहरू बिल्कुलै फरक हुन्छन् । लोककल्याणकारी राज्यमा व्यवस्थामा लोकवासीको भलाइ हुन्छ र त्यसको प्रत्याभूति लोकतन्त्रले गर्छ । नेपाली जनताले आफ्ना भलाइका लागि निकै ठूला आन्दोलन, संघर्ष, र बलिदानहरू गर्दै आएका छन् । ओलीज्यूको जेलजीवनको लिगेसीले पनि जनताको जीवनमा खुशियाली त ल्याएकै हो ।

फर्केर हेर्दा २००७ सालयताको नेपाली राजनीतिक इतिहासलाई अध्ययन ग–यो भने, त्यहाँ मूलतः विकास र उन्नति भन्दा पनि कुनै न कुनै हिसाबले शासकहरूको दासत्वबाट फुत्किनका लागि जनताले कहिले आम र कहिले फुटकर रूपमा राजनीतिक हस्तक्षेपहरू बढाएको देखिन्छ । राज्य व्यवस्था बदल्नैका लागि हजारौं हजारको बलिदान चढाउने परम्परा पुरानै भएको बुझिन्छ । यति मात्रै फरक हो, ती कहिले सुखानीको रूपमा प्रकट भए, कहिले रोल्पा, रुकुमको रूपमा प्रकट भए अनि कहिले टीकापुरको रूपमा ।

बीपी कोइराला, मदन भण्डारीका महान देनहरू पनि जनताकै भावनामाथि उभिएका थिए । जनताकै जगमा उभिएर तिनले नीति, योजना बनाएका थिए । र क्रमशः तिनीहरूले दासत्वका पर्खालहरूलाई प्वाल पार्न खोजिरहेका थिए । त्यही प्वालबाट एकएक गरेर फुत्त बाहिर निस्किएर, कतै विलीन हुँदै गए एकछत्र राज गरिरहेका शासकहरू । अनि जनताले चुनेका जनताको प्रिय नेता शासक बन्न थाले । हामी नेपालीहरू जम्माजम्मी सामन्तवादी लिगेसीमा चलेको व्यवस्थाबाट भर्खरै फुत्किएका दुखिया शुक्रकीट हाैं ।

टीकापुरको आँसु

वामपन्थीको सरकार बनेर मात्रै बालकृष्ण ढुङ्गेल छुटेका हैनन् । राष्ट्रपतिज्यूको पनि व्यक्तिगत चिन्ता र चासो पक्कै भयो होला बालकृष्णको सन्दर्भमा किनभने बालकृष्णको विषय सर्वथा आलोचनाको विषय बनेको थियो । यसो हुनुमा मानवअधिकारबादीहरू र मिडियाको भूमिका असन्तुलित थियो । त्यसो त बालकृष्णले लामो जेलजीवन कटाइसकेका थिए । उनी जेल सजाय भुक्तानी गरेरै पनि निस्किन सक्थे । जे होस्, उनी निस्किए, मानवअधिकारको रक्षा भयो ।

भर्खरै बालकृष्ण ढुङ्गेल जेलबाट निस्केका थिए । बाहिर जताजतै  उनको चर्चा थियो । यो पंक्तिकार टीकापुर घटनाको आरोपित रेशम चौधरीलाई भेट्न सदरखोर डिल्लीबजार गएको थियो । त्यो नितान्त मित्रताको भेट थियो । रेशम चौधरीलाई राखिएकै जेलमा बालकृष्णलाई राखिएको थियो । उनीहरू जेलभित्र साथीजस्तो भएर बसेका थिए । रेशम चौधरीका अनुसार, उनीहरू सदरखोरमा दिनभरि सँगै समसामयिक गफ गरेर दिन कटाउँथे । बालकृष्ण निस्के, रेशम चौधरी एक्लै भए । 

हेर्नुहोस्, रेशम चौधरी टीकापुरमा शान्ति, अमनचयन होस्, जातीय हिंसा नहोस् भन्ने चाहना बोकेका एक राष्ट्रवादी युवाको रूपमा उभिएका रहेछन् ।  राष्ट्रवादी मान्छे, सबै नेपाली एक हौं, मिलेर बसौं भन्ने किसिमको मान्छे । उनले टीकापुर नरसंहारमा आफ्नो संलग्नता अस्विकार गर्दै आएका छन् । त्यो घटनाको बारेमा उनले ‘चिरफार’ नामक पुस्तक समेत निकालेका छन् ।

त्यो पुस्तकमा घटना किन भयो र त्यो आन्दोलनमा आफ्नो भूमिका के थियो भनी प्रस्ट लेखेका छन् । भेटघाटहरूमा कुनै कुरा नलुकाई, कसर बाँकी नराखी आफ्नो पीडा ओकल्ने गरेका छन् उनले । र यो कुरा प्रधानमन्त्री ओलीलाई पनि थाहा छ । तर नेपाली उखान छ, धान खाने मुसा, चोट पाउने भ्यागुता । वास्तवमा यतिखेर रेशम चौधरी चोट पाउने मुसा भएका छन् । 

एकमात्रै उदाहरण – देउवा सरकारले गठन गरेको स्वतन्त्र छानबीन टोलीले टीकापुर घटनामा रेशम चौधरीको संलग्नता नभएको प्रतिवेदन बुझाएको थियो । त्यो रद्दीको टोकरीमा गयो ।

आन्दोलन गर्न मधेसवादी दलहरूले कम्मर कसेर सबै किसिमका शक्तिहरू परिचालन गरेको सन्दर्भमा रेशम चौधरी त केवल थारू समुदायको हर्ताकर्ता युवा मात्र थिए । उनले थारू समुदायलाई अधिकार देऊ मात्रै भनेका थिए । षड्यन्त्र गरी लुटिएका जमीनहरू फिर्ता गर र यो देश पनि हाम्रो हो भन्ने पहिचान देऊ मात्र त भनेका थिए । यसबाहेक उनले केही भनेका थिएनन्, गरेका थिएनन् । 

तर यथार्थ कुरा भन्नैपर्छ । प्रहरीकै गोप्य दस्तावेजमा लेखिएको छ – ‘टीकापुरको घटना हुँदा उनी चार कोस टाढा थिए ।’ त्यस घटनाका बारेमा नेकपा नेता भीम रावल धेरै जानकार छन् । यहाँ सत्य कुरा लुकाइएको छ । कसका योजनामा थारूका बस्तीहरू जलाइयो, कसका योजनामा थारू चेलीबेटीहरूलाइ बलात्कार गरियो ? त्यो गाउँमा प्रहरीको कुटाइ नखाएको घरै छैन । बालबच्चादेखि बुढेसकाल लागेका थारूहरूलाई पनि निकै बर्बरताका साथ कुटपिट गरिएको छ ।

थारू बस्तीको घरगोठमा आगो जलाइएको छ । गाई, बाख्रा, भैंसी जलाइएको छ । यी जेजस्ता भएका छन्, त्यो टीकापुरमा घटना हुनुभन्दा कैयौं दिन अघिदेखि चलिरहेको थियो । 

मार्न आउनेहरूसँग जाइलाग्ने त आन्दोलनको प्रकृति नै होला । जनआन्दोलनमा यस्तै भएको थियो । टीकापुरमा प्रहरीको गोलीबाट सयांै घाइते भएको कुरा अझै लुकाइएको छ । टाउको र छातीमा ताकी–ताकी गोली हानेर मारेको सत्यता, बाध्यताको कारणले मात्रै बाहिर आएको हो । आन्दोलन दबाउन किन ताकी–ताकी गोली हानेर सीधै मारियो ? त्यसको प्रतिक्रिया के होला ? के त्यहाँका जनता फूलमाला र अबिर बोकेर निस्केलान् सरकारको अभिनन्दनमा ?

केही वर्षपहिले भारतीयहरूले नाकाबन्दी गरेका थिए । तर किन गरेका थिए त ? भेदहरू उतिखेरै पनि प्रस्ट नभएका हैनन्, तर कसैले बोल्ने हिम्मत गरेनन् । नेपालमा पहिचानको आन्दोलनले तीव्र गति पक्रेको, जातीय अधिकारका लागि विभिन्न समुयदायहरू संगठित बन्दै गइरहेको अवस्थामा र त्यसले सफल नै हुने छाँटकाँटको कठोर प्रारूप लिँदै गर्दा आन्दोलनकारीहरूको सेन्टिमेन्ट ‘एन्टी इन्डिया’ तिर ढाल्न नाकाबन्दीलाई प्रश्रय दिने काम राज्यबाटै भएको थियो । बृहद् योजना अनुसार भएको थियो ।

के त्यो टीकापुर घटनाको केन्द्रविन्दु मधेसी समुदायको राजनीतिक आन्दोलन हैन र ? रेशम चौधरीले एक्लै कसरी त्यति धेरै प्रहरी मारे ?

थारू समुदायको घर बस्ती जलाएर ‘देखिस्, जातीय अधिकार माग्दा हालत के हुन्छ’ भन्ने डर देखाइएको हो । यो देशका शासकको भारत पलायन हुनबाट रोक्ने र रेशम चौधरीलाई जेलमा सडाएर, ‘देखिस्, धैरै जान्ने हुँदा हालत के हुन्छ भन्ने सन्देश दिन खोजिएकै हो । घटनाको नजिक पुगेर नियाल्दा प्रहरीहरू हतियारविना त्यो आगोको ज्वालामा किन गए, प्रहरीको हेडक्वार्टरको आदेश पो थियो कि ?

रेशम चौधरीले मञ्चबाट आन्दोलनमा सहभागी हुन भाषण गरेका मात्र हुन् भन्ने लाग्छ । त्यसभन्दा उत्तेजक भाषण त उपेन्द्र यादवले गरेका थिए । यिनी अहिले सरकारमा गएका छन् । राजेन्द्र महतोहरूले लाठी र भाला बोकेर आन्दोलनमा सहभागी हुन उर्दी गर्थे । उनीहरू मधेस आन्दोलनको ब्याज खान आतुर छन् । तर एक सामान्य युवा जसको भूमिका जम्माजम्मी आन्दोलनकारीको थियो, ऊ सदरखोरमा पूरै टीकापुर घटनाको आरोप खेपेर बन्दी भइरहेछ ।

के त्यो टीकापुर घटनाको केन्द्रविन्दु मधेसी समुदायको राजनीतिक आन्दोलन हैन र ? रेशम चौधरीले एक्लै कसरी त्यति धेरै प्रहरी मारे ? कुन हतियार थियो उनीसँग ? कुन गोलीगट्ठा थियो उनको झोलामा ? उनको घरमा, होटलमा, एफएममा कति भेटिए बम, गोला र बारुदहरू ? उनले कति महिनासम्म तालिम गरेका थिए हत्याकण्ड मच्चाउनका लागि ? उनको मोबाइल फोनका सम्पर्कहरू चेकजाँच गर्दा के कस्ता अपराधीहरूसँग ‘कनेक्सन’ भएको देखियो ?

एउटा व्यक्तिगत रिसइबीका कारण विना कुनै बलियो प्रमाण कसैलाई फसाउने कुरा त्यो राणाकालमा हुन्थ्यो, पञ्चे र राजाको पालामा पनि निर्दोष जेलमा, अपराधी खुलेआम बाहिर हुन्थे । हामीले गणतन्त्र केका लागि ल्याएका हौं ? यस्तै दमन र अत्याचार गर्न ? वास्तवमा रेशम चौधरीको आपराधिक पृष्ठभूमि हुन्थ्यो भने भारी बहुमतका साथ चुनाव जित्दैनथिए । माननीय सांसद हुँदैनथिए ।

राष्ट्रपतिज्यू, असल चालचलनका आधारमा आरोपीहरूलाई माफी दिनुभएको छ । रेशम चौधरीको चालचलन नजिकबाट बुझ्नेहरूलाई थाहा हुन्छ, उनी कति निर्दोष छन् भन्ने कुरा । उनलाई यो देशको निकै माया छ, जति हामी सबैलाई छ । देशमा अमनचयन, शान्ति चाहान्छन् उनी पनि । आँखामा आँसु लिएर देशप्रेमको संकेत गर्छन् उनी पनि । राष्ट्रपतिज्यू, विना कसूर सदरखोरमा उनी किन बस्नुपर्ने ?

टीकापुरमा जे भयो त्यो नराम्रो भयो । तर यो आन्दोलनको जगमा उभिएर भएको दुःखद घटना थियो । मध्यरातमा रेशम चौधरी चौकी आक्रमण गर्न गएर प्रहरी मारेका हैनन् । रेशम चौधरीले योजना बनाएको भन्ने छ । कहाँ बनेको थियो त्यो योजना? केके छन् दसी प्रमाण ? केही खुल्दैन, केवल भनिन्छ, रेशम चौधरी हत्यारा हो । यो सत्यता सबैले बुझेका छन् । तर किन बुझेर बुझ पचाइरहेका छन्, उदेक लाग्छ ।

राज्य भन्दा ठूलो कोही हुँदैन । राज्यको नियम, कानूनभन्दा ठूलो पनि कोही हुँदैन । निर्दोषलाई झुटो आरोपमा फसाउने राज्य, त्यो जनताको राज्य हुँदैन । त्यो राज्य ‘एकल’ हुन्छ । एकल सोचले ग्रसित राज्य सधै त्रसित हुन्छ । कानूनलाई हातमा लिएर राजनीतिक इगो लिन खोज्ने हो भने नेताको पञ्जाबाट धेरै टाढा पुग्छन् चीजहरू । त्यो चाँडै चेतना हुन जरूरी छ ।
राष्ट्रपतिज्यू, रेशम चौधरीलाई रिहा गर्नुस् ।
 

जेठ २०, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार