गफले हैन, कामले देखाउनुपर्छ राष्ट्रियता

नेपाली समाजमा राष्ट्रियताको बहस व्यापक बन्दै गर्दा फरक–फरक धारणा आउँदैछन् । केही समाजशास्त्रीले राष्ट्रियतालाई अंग्रेजी शब्द ‘नेसनालिटी’ को अनुवादका रूपमा बुझाउँदा यसको चिरहरण हुँदैछ । ‘बाबुआमाको सेवा गर्नु सन्तानको धर्म हो’ को अनुवाद ‘सर्भिङ्ग द प्यारेन्ट्स इज चिल्ड्रेन्स् रिलिजन’ हुन सक्दैन । पूर्वीय दर्शनमा धर्मलाई कोरा परम्परा (रिचुअल) सँग नभै दायित्व (ड्युटी) सँग जोडिन्छ । हामीमा अभिभावक र सन्ततिबीच औपचारिक नभई अद्वितीय आत्मिक सम्बन्ध हुन्छ । पश्चिमाहरू सन्तानलाई बोझ मान्छन्, हामी गहना ठान्छौं । आजकल अधिकांश पश्चिमा परिवारप्रति नकारात्मक छन् । विवाह गर्दैनन्, गर्नेहरू पनि बच्चा जन्माउँदैनन्, भ्रूणहत्या गर्छन्, थुप्रैले भाडाको कोख (सरोगेसी) किन्छन् । जन्माउनेले पनि आफूले हैन, भाडाका मानिसबाट स्याहार गराउँछन् ।

बच्चाले बाबुआमाको स्नेह र आलिङ्गन पाएको हुँदैन, बच्चाले पनि बाबुआमालाई सेवा गर्नुपर्ने कर्तव्य ठान्दैन । बाबुआमाको सेवा हाम्रा लागि दायित्व हो, उनीहरूका लागि औपचारिकता मात्र । तसर्थ, हामीमा धर्मको भाव फरक छ । बुद्घको ‘धम्म’ र प्राचीन दार्शनिक मनुको ‘राजधर्म’का सिद्घान्तले यसलाई प्रस्ट्याउँछ । ‘ट्रान्सलेसन अर मिसट्रान्सलेसन’ नामक लेखमा नीरद सी चौधरी भन्छन्, ‘अनुवादले भावनासँगै व्यावहारिक समानता नबोकेमा त्यो घातक र बेअर्थको हुन्छ ।’ ‘नेसनालिटी’को अनुवादलाई राष्ट्रियता बुझ्नु नै समस्याको पहिलो जड हो ।

बुझाइमा समस्या
हिंसाका अनेक रूपमध्ये ज्ञानको हिंसा (इपिस्थेमिक भायलेन्स) प्रमुख हो । यहाँ प्रजातन्त्र, मानवअधिकार लगायत राष्ट्रियतामाथि समेत पश्चिमी अवधारणालाई अन्धभक्त रूपमा स्वीकारिँदै छ । केवल परिचयपत्रमा आफू जन्मेको ठाउँ उल्लेख गर्नु नभई राष्ट्रियता ठाउँ र संस्कृतिको निरन्तर माया, संवर्द्धन र समृद्घिकोे सत्कर्म हो । कविता वा फेसबूक स्ट्याटसमा लेखेर राष्ट्रियताको जगेर्ना हुँदैन । जन्मिएका कारणले हैन, दायित्व निर्वाहका आधारले राष्ट्रियता प्रस्टिन्छ ।

राष्ट्रियताका तर्कलाई दमदार देखाउन राजनीतिकर्मीहरू अरूको उछितो काढ्ने अनि विद्वानहरू विश्वविद्यालयमा तात्तातो बहसपैरवी गर्न तम्सन्छन् । गुलाब नाम दिँदैमा गोबरबाट सुवास प्रसारित हुँदैन भनेजस्तै अकाट्य तर्कका प्रवचनले मात्र राष्ट्रियता निर्माण हुँदैन । राष्ट्रियता नेताले दिने र नागरिकले माग्ने एकोहोरो विषय पनि हैन । राष्ट्रियता दाबी नभई प्रदर्शन गर्ने र माग्ने नभई कमाउने विषय हो । अभिव्यक्ति कम र आचरण बढीको सरोकार हो ।

राष्ट्रियताको व्यावहारिक निर्माण
सबैबाट माटोप्रतिको मायासँगै जिम्मेवारीको सफल सम्पादन राष्ट्रियताको मुख्य आधारशिला हो । यसमा नेतृत्व राष्ट्रवादी र नागरिक देशभक्त हुनुपर्छ । इतिहास र माटो बिर्सनेसँग राष्ट्रियता हुँदैन । बहसमा हैन, राष्ट्रियता व्यवहारमा देखिनुपर्छ ।

आत्मसम्मान र सामर्थ्य कमजोर भएमा राष्ट्रियता कमजोर हुन्छ । जसरी व्यापार र मुनाफा घटेमा कम्पनीको शेयर मूल्य घट्छ, त्यसरी नै राष्ट्र कमजोर भएपछि राष्ट्रियता त्यसरी नै स्खलित हुन्छ । शेयर बजारको दैनिक सूचकाङ्क हेर्दैमा मूल्य बढ्दैन, सबै मिलेर कम्पनीलाई राम्रो बनाउनुपर्छ । राष्ट्रियताको प्रवर्द्धनका लागि सबैले मिलेर देशलाई सबल र सक्षम बनाउनुको अर्को विकल्प छैन ।

देश सानो वा ठूलो हुँदैमा राष्ट्रियतामा फरक पर्दैन । पहिले आन्तरिक प्रगतिलाई चुस्त पार्नुपर्छ । डिल्लीरमण रेग्मीको ‘अनुभव र अनुभूति’ र सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ पुस्तकमा विगतमा हामो राष्ट्रियता कति
अब्बल थियो भन्ने लोभलाग्दो स–प्रमाण वर्णन छ । राष्ट्रियता सबै देशभक्त नागरिक मिलेर बढावा गर्ने सामरिक समृद्घि र मनोवैज्ञानिक सन्तुष्टि र सम्पत्ति हो । देशलाई आर्थिक हिसाबले सबल र आत्मनिर्भर बनाऔं । अधिक कलकारखाना खोलौं र व्यापक रोजगारी बढाऔं । सम्भावित सबै खनिज तथा स्रोतसाधनको अधिकतम दोहन गरौं । स्वदेशी उत्पादन प्रयोग गरौं । कर्मचारीले जागिरे प्रवृत्ति नदेखाऔं । चाणक्य ‘अर्थशास्त्र’मा लेख्छन्, ‘माछाले पानी र कर्मचारीले घूस कत्तिखेर खान्छ भन्ने देखिँदैन’ । अहिले पनि सरकारी कर्मचारीमाथि आमधारणा सकारात्मक छैन । यसलाई परिवर्तन गराऔं ।

हाम्रो विराट संस्कृति र सभ्यतालाई जोगाऔं । नागरिकका प्रतिनिधिले वास्तवमा नै जनताको सेवा गरौं । स्थानीय र प्रदेशका सरकारहरू आफ्नो क्षेत्रलाई अब्बल बनाउन तल्लीन बनून् । अबको समयमा राजनीतिक शक्ति र युद्धपोतको सट्टा व्यापार तथा वाणिज्यबाट अरू देशमाथि आधिपत्य जमाउन सहज हुन्छ । आक्रामक विश्व व्यापारका लागि चीनबाट ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) तथा भारत एवम् जापानबाट ‘एसिया–अफ्रिका ग्रोथ कोरिडोर’ (एएजीसी) नामक महत्त्वाकांक्षी अवधारणा आए । दुवै देशले अथाह उत्पादन र अकल्पनीय व्यापार गर्नेछन् । हाम्रो केन्द्रीय नेतृत्वले यस्तै गरी देशलाई आर्थिक हिसाबले सबल बनाउने र अन्तर्राष्ट्रिय पहिचान स्थापित गराउने नयाँ र मौलिक योजनाहरू तयार गरोस् । न्यायालयलाई नागरिकको भरोसा र सम्मानयोग्य बनाऔं । शिक्षा समृद्घ होस् । यो देशमा काम छैन, लक्ष्य नै विदेश जाने भनेर नसिकाऔं । स्वदेशमै भविष्य देखाऔं, आफू पनि यही माटोमा दुःख गर्न सिकौं ।

अमेरिकासँग केवल चारसय वर्षको इतिहास छ । हाम्रो समाजमा सामान्य भेदभाव हुँदा त्यहाँ क्रूर शोषण र दासप्रथा थियो । दुई सय ५० वर्ष पहिले अस्ट्रेलियाको कुनै नाम–निशान थिएन । हामीसँग पाँचहजार वर्ष लामो वैज्ञानिक सभ्यता छ । बुद्घबाट प्रसारित ‘सत्कर्म, पञ्चशील, अष्टशील, दशशील’, मनुको ‘राजधर्म’, कौटिल्यको ‘सप्ताङ्ग’, कन्फ्युसियसको ‘सचेत नागरिक समाज’का अवधारणाले पूर्वीय समाजभित्रको हामो देश समृद्घ थियोे ।

त्यसैले, सबैले आफ्नो सामर्थ्य चिनौं, कुनै न कुनै सत्कर्म गरौं । समाज र देशलाई अधिक फाइदा पुग्ने गरी आफ्नो कार्यसम्पादन गरौं । सुरक्षा निकायले देशको अस्तित्वमाथि सम्भावित खतराको जानकार रहँदै सदैव चुस्त–दुरुस्त रहौं । पत्रकारले खाली निराशा मात्र नभरौं । सबै पेशाकर्मीले दैनिक कर्मलाई जागिर नभई राष्ट्रप्रतिको जिम्मेवारीको रूपमा निर्वाह गरौं । वैभवशाली देशको सपना देखौं, सार्थक बनाउन पहल गरौं ।

अति उपभोक्तावादी संस्कृतिले हामी आप्mना सामान सस्तोमा बेचेर विदेशी बहुराष्ट्रिय कम्पनीका उत्पादन खरिद गर्दै आफैंलाई गरीब बनाइरहेका छौं । आँप बेचेर जुस किन्ने, दही–मही त्यागेर विदेशी पेय पदार्थ र ह्विस्कीका पछाडि लाग्न छाडौं । ती जङ्कफूडले जैविक र आर्थिक दुवै स्वास्थ्य बिगार्दैछ । जन्मदिनमा बत्ती निभाउने नमिल्दो कुराको नक्कल नगरौं । अरूको अन्धभक्त नक्कलले हाम्रो परिचय सकिँदैछ ।

लिच्छवी कालमा तिब्बतसँग नेपालको राम्रो व्यापार थियो, हाम्रो सम्मान थियो । जंगबहादुर बेलायत भ्रमणमा जाँदा त्यहाँकी महारानी बराबरको सलामी माग्ने हैसियत थियोे । नेपालले तिब्बत, बेलायत, इरान, अफगानिस्तान लगायत केही देशलाई व्यापारसँगै प्रशस्तै आर्थिक सहयोग समेत दिन्थ्यो । नेपालको आफ्नै भेषभूषा, भाषा, फरक खानपिन, संस्कृति, छुट्टै परिचय, सम्मान र पहिचान थियो । प्रथम र द्वितीय विश्वयुद्घमा गएका झण्डै तीन लाख नेपाली सिपाहीमा अधिकांशको मृत्यु भयो । यसले देशभित्रको जनसंख्यामा भीमकाय असन्तुलन निम्त्यायो । केही जीवितहरू विशाल धनराशि लिएर फर्किए, बिस्तारै श्रम गर्ने र आत्मनिर्भर हुने प्रवृत्तिमा ह्रास आउन शुरु भयो ।

अहिले हामी सिनेमा अरूको हेर्छौं, खाना अरूको खान्छौं, पोशाक अरूको नक्कल गर्छाैं, देशलाई अरूसँग भिख मागेर चलाउँछौं अनि कसरी बाँच्छ राष्ट्रियता ? बुद्घ, पारुहाङ र फेदाम्बा बिर्सिएर येशु क्राइस्ट पुज्छौं । दालभात अचारभन्दा बासी पाउरोटीको लालचामा रम्छौं । सीभीभन्दा डीभीमा समय दिन्छौं । अरूको देशलाई सबल र नागरिकलाई विशिष्ट सम्झन्छौं, नक्कली र आडम्बरी हुँदैछौं । हाम्रो मौलिक परिचय अरूसँग विलीन हुँदैछ । आफूलाई कमजोर र देशलाई खत्तम सम्झँदै निराश हुन्छौं । निराशाले हैन, आशा, भरोसा र प्रयासले मात्र देशको राष्ट्रियता सबल हुन्छ ।

युरोपमा पेट्रोलको अनावश्यक प्रयोगलाई अपराधजस्तै मानिन्छ । मानिसहरू हिँड्न रुचाउँछन् । हामी वर्षको झण्डै दुई खर्ब रुपैयाँको तेल किन्छौं । हाम्रैमा उत्पादन नभएका कुराको फजुल खपत नगरौं । सबैले कमाएर खाऔं, आफ्नो आम्दानी बढाऔं, राज्यलाई कर तिरौं । राज्यको आम्दानी बढेपछि नागरिकमाथि खर्च गर्न सक्छ । मुद्रा पलायनलाई सकेसम्म रोकौं । उपचार गर्न विदेश जाँदा गएको पैसाले यहीँ थुपै्र राम्रा अस्पताल बनाऔं । युवाहरू पढ्न जाँदा वार्षिक झण्डै ६० अर्ब विदेशिएको तथ्याङ्क छ । त्यसैले स्वदेशमै दर्जनौं आधुनिक विश्वविद्यालय बनाऔं ।

त्यसैले, राष्ट्रियताको निर्माण छलफलले हुँदैन, व्यवहारले दिशाबोध हुनुपर्छ । परिचयपत्रमा जन्मेको ठाउँ लेख्ने पश्चिमा कोरा प्रवृत्तिलाई राष्ट्रियता मान्न सकिँदैन । राष्ट्रियतामा उक्त ठाउँको माया हुनुपर्छ । जसरी बाबुआमाप्रति पे्रम भएका सन्ततिले उनीहरूलाई सेवा, सद्भाव, स्याहार, आदर र सामीप्यको प्रत्याभूति गर्नुपर्छ । त्यसरी नै राष्ट्रियताको माया गर्नेले निबन्ध मात्र लेख्ने नभई राष्ट्रको सेवा, आदर, संरक्षण र संवर्द्धनमा योगदान गर्नुपर्छ । राष्ट्रियताको खोजीमा विचारभन्दा व्यवहारको जगेर्नालाई जोड दिनुपर्छ । नेतृत्वको राष्ट्रवादी सोचसँगै नागरिकको देशभक्ति र देशप्रेमका व्यवहारले मात्र राष्ट्रियतालाई जोगाउन सकिन्छ । नेतृत्वले सोच र नागरिकले व्यवहार बदलेर प्रयास थाल्नुपर्छ । नेतृत्वबाट प्रगतिशील नीतिनियम आउनुपर्छ, नागरिकले त्यसलाई सगौरव अपनाउनुपर्छ ।

जेठ २१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस