माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
जेठ २१, २०७५
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफ्नै नेतृत्वमा कम्युनिस्टको सरकारमा सहभागी हुनुभएको छ । मधेश आन्दोलनको नेतृत्वकर्ता भए पनि जुन तरिकाले उहाँले आफूलगायत पार्टीलाई कम्युनिस्टका अगाडि आत्मसमर्पण गर्नुभएको छ, मधेशी जनता र शहीदहरूको शहादतसँग ठूलो धोखाधडी गर्नुभएको छ ।
हुन त कुनै पनि राजनीतिक व्यक्तिको अन्तिम ध्येय भनेको सत्ता प्राप्ति नै हुन्छ । तर अहिले मधेश आन्दोलन र त्यसका एजेन्डा टुंगो लागेका छैनन् । उहाँ यति आतुर हुनुभयो कि सत्ताप्रति उहाँको मोह छरपस्ट भएको छ । उहाँको अहिले सरकारमा जानु समय सान्दर्भिक भएन । जानु नै थियो भने राजपासँग सहकार्य गरेर जानुपर्थ्यो ।
संविधान संशोधनको कुनै छाँटकाँट देखिएको छैन । कुनै पनि कम्युनिस्ट नेताले संविधान संशोधन हुन्छ भनेर भनेका छैनन् । देखाउनका लागि २ बुँदे सहमति गर्नुभएको छ । सहमति गर्न त उहाँ माहिर हुनुहुन्छ । २२ बुँदे, ८ बुँदे, ११ बुँदे, ४ बुँदे यस्ता अनेकौं बुँदे सहमति गर्नुभएको छ । तर मधेशी जनताले के पाए ?
मधेशको सवाल हल नहुँदै उहाँ स्थानीय तहको निर्वाचनमा जानुभयो । स्थानीय चुनावमा गएपनि संसदीय चुनाव र आमचुनाव संविधान संशोधन नभएसम्म हुँदैन भनेर हामीलाई पार्टीमा प्रशिक्षण दिनुहुन्थ्यो । तर अहिले सामान्य स्वास्थ्यमन्त्रीको लोभमा ती सबै कुरालाई उहाँ आफैंले लत्याइदिनुभयो ।
सत्तामा नगएर कम्युनिस्ट सरकारलाई बाहिरबाटै समर्थन गरिरहेको भए संविधान संशोधन हुनसक्थ्यो । तर अब त्यो बार्गेनिङ पावरलाई एकदमै कमजोर बनाउनुभयो । अब राजपा एक्लैले पनि केही गर्न सक्दैन ।
उपेन्द्रजीको स्कूलिङ नै कम्युनिस्टबाट भएको हो । शुरुमा एमाले र पछि माओवादी हुँदै मधेशको राजनीतिमा केन्द्रित हुँदै फोरम गठन गर्नुभएको थियो । विगतमा सम्पन्न भएको स्थानीय निर्वाचनमा समेत उहाँले कतिपय ठाउँहरूमा एमालेसँग सहकार्य तथा तालमेल र गठबन्धन समेत गर्नुभएको थियो । कम्युनिस्टप्रति उहाँको मोह अहिलेसम्म पनि कायमै छ । तर मधेशका जनताले कहिल्यै पनि कम्युनिस्ट पार्टीलाई पचाउन सक्दैनन् । त्यहाँका जनता लोकतन्त्रवादी हुन् भन्ने हो भने उपेन्द्रजीले मधेशको स्वभावविपरीत एक किसिमले उल्टो राजनीतिको शुरुवात गर्नुभएको छ ।
उपेन्द्रजीको व्यक्तित्व एकदमै अविश्वसनीय रहँदै आएको छ । उहाँमाथि यदि कसैले विश्वास र भरोसा गर्छ भने त्यो व्यक्तिको सबैभन्दा ठूलो भूल हुनेछ । उहाँको स्वभाव कस्तो छ भने उहाँ एक्लै नेतृत्व गर्ने ‘वान म्यान शो’ अर्थात् पार्टीभित्र आफू एक्लै नेता हो, बाँकी सबै केही पनि होइनन् भन्ने रहँदै आएको छ । सामूहिक नेतृत्वको राजनीति उहाँको ’ब्लड’मै छैन । एउटा खास जातिप्रति मात्र केन्द्रित हुने उहाँको स्वभाव नै हो । मधेसमा अन्य थुप्रै जातजाति छन् । तर उहाँको बानी नै एउटा मात्र यादव समुदायप्रति केन्द्रित हुने र प्राथमिकता दिने प्रवृत्ति रहेको छ । त्यही कार्यशैलीलाई मैले मन नपराएर संघीय समाजवादी फोरम छाडेको हो । त्यहाँ म उपमहासचिव थिएँ ।
मलाई लाग्छ कि मैले सही समयमा उक्त पार्टी छाडेर धेरै नै राम्रो गरेको छु । चाहेको भए मैले त्यो पार्टी नै पनि फुटाउन सक्थेँ । पार्टीभित्र अलग्गै एउटा धार बनाउन सक्थेँ । तर नेपाली कांग्रेस जो एउटा लोकतन्त्रवादी शक्ति हो, त्यसमा प्रवेश गरेँ । जनताले पनि त्यो कुरालाई स्वीकार गर्यो र प्रतिनिधिसभा निर्वाचनबाट पुनः मलाई जनताले संसदमा पठाएको छ । त्यसकारण पनि मेरो निर्णय एकदमै सही थियो भन्ने कुराको मधेशी जनताले नै निर्वाचनमा मलाई मतदान गरेर पुष्टि गरिदिएका छन् ।
उपेन्द्रजीको ध्यान संविधान संशोधन हुनुपर्छ भन्ने शतप्रतिशत प्रतिबद्धता कहिल्यै पनि देखिएन । किनभने उहाँ कम्युनिस्टप्रति ज्यादै नै आकर्षित हुनुहुन्छ । उहाँले आफ्नो पार्टीको अधिवेशनमा पनि चाइनिज प्रतिनिधिलाई बोलाउनुभएको थियो । भर्खरै आफ्ना पार्टीका नेता तथा सांसदलाई चीन भ्रमणमा पठाउनुभएको छ । उहाँ आफैं पनि परराष्ट्रमन्त्री हुँदाकै बखतमा चीनसँग थुप्रै सम्झौता गर्नुभएको थियो । चीन र नेपालका कम्युनिस्ट पार्टीसँग उहाँको लगाव बढी नै देखिन्छ ।
उपेन्द्रजी संघीय सरकारमा गइसकेपछि उहाँको पहिलो अट्याक अब राष्ट्रिय जनता पार्टी (राजपा) नेपालप्रति केन्द्रित हुन्छ । थुनामा रहेका राजपाका नेता तथा कार्यकर्तालाई नछुटाएर आफ्नो पार्टीेका नेता तथा कार्यकर्तालाई रिहा गराउनेतर्फ लाग्नुहुन्छ । संविधान संशोधनको सवालमा मात्र नागरिकतामा सामान्य संशोधन गराएर आफूले संविधान संशोधन गराएको भन्दै ‘फेस सेभिङ’ गर्नुहुन्छ । अहिले उहाँ सरकारमा जानुको मुख्य उद्देश्य भनेको लामो समयका लागि सरकारमा गएर पावरमा आउने र अकूत सम्पत्ति आर्जन गर्ने नै हो । पार्टी चलाउन पनि पैसा चाहिन्छ । त्यसकारण मालदार मन्त्रालय उहाँले रोज्नुभएको हो । त्यो पाउनु पनि भएको छ ।
उहाँ नेता भइसकेपछि व्यक्तिगत रूपले सम्पत्ति पनि धेरै जोड्न सफल हुनुभएको छ । विराटनगरमा २ वटा घर र काठमाडौंमा फ्ल्याट समेत लिनुभयो । मधेश आन्दोलन हुनुभन्दा पहिलेसम्म जो मानिसलाई काठमाडौंसम्म जानका लागि टिकट किन्ने हैसियत हुँदैनथ्यो तर, अहिले त्यत्रो सम्पत्ति कहाँबाट जोड्नुभयो ? मधेशी जनतालाई पटक–पटक आन्दोलनमा उचालेर गोली ठोकाउनुभयो र, आफू चाहिँ सम्पत्ति जोड्नतर्फ लाग्नुभयो । उहाँले जहिले पनि अनैतिक राजनीति गर्दै आउनुभएको छ । जनताले प्रतिकार गर्यो भने उहाँ अब त्यही मधेशी जनताप्रति ठूलो ‘एटम बम’ भएर पड्किनुहुन्छ । सम्पत्ति जाँचबुझ आयोगले उहाँको सम्पत्तिबारे छानबिन गर्नु आवश्यक छ ।
उहाँलाई उहाँका चाटुकारले मधेशको मसिहा नै पनि भन्ने गर्थे । तर म पार्टीमा रहुन्जेलसम्म पनि उहाँलाई कहिल्यै मसिहा भनिनँ । मधेश आन्दोलन मधेशी जनताले अधिकार प्राप्त गरोस् भन्ने उद्देश्यले कहिल्यै पनि गर्नुभएन । उहाँले आफू नेताको रूपमा कसरी स्थापित हुने भन्नेतर्फ मात्र लाग्नुभयो । जहिले पनि सत्तामा जानका लागि मधेश आन्दोलनलाई उहाँले बार्गेनिङ मात्र गर्नुभयो । अहिले पनि उहाँले त्यही बार्गेनिङ गरेर सत्तामा पुग्नुभएको छ । शक्तिशाली सरकारमा उपप्रधानमन्त्री साथ प्रोटोकलमा तेस्रो वरीयता पाउनुभएको छ ।
सरकारमा गएपनि उहाँले राजेन्द्र श्रेष्ठलाई लग्नुभएन । मन्त्रीमा जान श्रेष्ठको नाम चर्चामा रहेपनि उहाँलाई लागिएको छैन । त्यसकारण अशोक राई असन्तुष्ट देखिएका छन् । पार्टीभित्र ठूलो असन्तोष उत्पन्न भएको छ । रामसहाय यादवजस्तो व्यक्तित्वलाई काखापाखा गरिएको छ । रेणु यादवलाई विभेद गरिएको छ । महिला नेतृत्वलाई उपेक्षा गरिएको छ ।
फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता हुँदा बराबरको भागबण्डा गर्ने सहमति गरिएको थियो । तर राजेन्द्र श्रेष्ठको नाम चर्चामा रहेपनि सरकारमा को–को जाने भन्ने विषय छनौट गर्ने निर्णय गराउन आफैँमा अधिकार लिनुभयो र, श्रेष्ठलाई किनारा लगाउनुभयो । त्यो पार्टीमा ठूलै असन्तुष्टि देखिएको छ ।
उपेन्द्रजीले अब सबैभन्दा पहिले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई कारवाही गरेर मुख्यमन्त्रीबाट हटाउनुहुन्छ । राउतलाई हटाउँदा मुस्लिम समुदाय आक्रोशित हुनेछन् । त्यसकै उत्तरस्वरूप मुस्लिम समुदायबाटै मोहम्मद इश्तियाक राईलाई उहाँले संघीय सरकारमा लैजानुभएको छ । त्यो पूर्व योजनासहित उहाँले राईलाई लैजानुभएको हो ।
मुख्यमन्त्री राउतले २ नम्बर प्रदेशमा ठूलै लोकप्रियता कमाउन सफल हुनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा संविधान विभेदकारी रहेको भनेर सम्बोधन गर्दा राउतले मधेशमा धेरै चर्चा कमाउनुभयो । राउत मधेशमा स्थापित नेताको रूपमा लोकप्रिय हुँदै जानु उपेन्द्रजीलाई पचेन । त्यसपछि उहाँले राउतको विकल्प खोजी गर्नुभएको हो । उहाँको बढ्दो लोकप्रियताका कारण आफू असुरक्षित हुने र मधेशमा राउत नै नेताको रूपमा स्थापित हुने देखेपछि उपेन्द्रजीले उहाँलाई मुख्यमन्त्रीबाट हटाउनुहुन्छ । त्यो नै उहाँको अहिलेको ‘गेम प्लान’ हो ।
कम्युनिस्ट पार्टीका नेतालाई मुख्यमन्त्री बनाएर आफ्नो पार्टी सरकारमा त्यहाँ रहोस् र केन्द्र तथा प्रदेशमा सरकार चलिरहोस् भन्ने उहाँको ‘गेम प्लान’ हो । उपेन्द्रजीले जे पाउनु थियो पाइसक्नुभयो । अब उहाँको ओरालोको दिनगन्ति शुरु भइसकेको छ ।
राजपाले के गर्छ ? त्यो हामी पर्खिरहेका छौं । यदि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडकमा आयो भने नेपाली कांग्रेसले राजपासँग सहकार्य गरेर संघर्षलाई अगाडि बढाउन सक्छ ।
(नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहसँग लोकान्तरकर्मी अजय अनुरागीले गरेको कुराकानीमा आधारित । शाह कांग्रेस प्रवेश गर्नुअघि फोरम नेपालका उपमहासचिव थिए ।)
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...