सिटामोल उत्पादन सुचारु भएको १०० दिन : बजारमा १५ लाख चक्की

काठमाडौं, २१ जेठ– सरकारी स्वामित्वमा सञ्चालित नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन गरेको सय दिनमा १५ लाख सिटामोलका चक्की बजारमा पठाएको छ ।

गत फागुन ९ गतेबाट सिटामोल उत्पादन शुरु गरेको गरेको लिमिटेडले फागुन ११ गते वीर अस्पताललाई ३० हजार चक्की सिटामोल बिक्री गरी औपचारिक रूपमा सिटामोल बिक्री शुरु गरेको थियो । सय दिनको अवधिमा १५ लाख चक्की सिटामोल बजारमा पठाइसकेको औषधि लिमिटेडका महाप्रबन्धक रोभसकुशम सुवेदीले लोकान्तरलाई जानकारी दिए ।

‘हामीले फागुन ११ गतेदेखि अहिलेसम्म १५ लाख चक्की सिटामोल बिक्री गरीसकेका छौं,  सुवेदीले भने, ‘हामीले उत्पादन गरेको सिटामोल प्रायः सरकारी अस्पताल र अहिले स्थानीय तहमा माग बढेको छ, मागअनुसार उत्पादन गरिरहेकाछौं ।’

लिमिटेडले उत्पादन गरेको सिटामोल प्रति ट्याब्लेट एक रुपैयाँमा बिरामीले पाउने गरेका छन् । 

पहिलो चरणमा उद्योगको ब्राण्डको रूपमा चिनिएको सिटामोल उत्पादन गरेको लिमिटेडले असारबाट अन्य चक्की औषधि उत्पादन गर्ने तयारी समेत गरेको छ । अर्थ मन्त्रालयबाट चक्की औषधि उत्पादनका लागि थप पाँच करोड बजेट प्राप्त भएपछि लिमिटेडले आइरन चक्की, जुकाको औषधि लगायतका अन्य १५ प्रकारका चक्की औषधि उत्पादन गर्न लागेको सुवेदीले बताए । 

उनले भने, ‘अर्थ मन्त्रालयले वैशाख अन्तिममा हामीलाई थप औषधि उत्पादनका लागि ५ करोड बजेट पठाएको छ, आगामी महिनादेखि हामीले अन्य प्रकारका औषधि चक्की पनि उत्पादन गर्ने तयारी गरेका छौं ।’

औषधि उत्पादनका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जीएमपी मोडलमा कारखाना निर्माण गर्न नसक्दा सात वर्षदेखि लिमिटेडको औषधि उत्पादन बन्द भएको थियो । सरकारले १५ करोड बजेट विनियोजन गरेपछि गत फागुन महिनाबाट  सिटामोलको उत्पादन पुनः शुरु भएको थियो ।

जेठ २१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस