'ट्रकोमा निवारण भएपनि ढुक्क हुने अवस्था छैन'

जेठ २२, २०७५

काठमाडौँ, २२ जेठ- अन्धोपनको दोस्रो मुख्य कारणको रुपमा रहेको खस्रे रोग अर्थात ट्रकोमा नेपालबाट निवारण भएको छ । 

विश्व स्वास्थ्य संगठनले जेनेभामा ७१औँ महासभाको अवसरमा गत जेठ ६ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई रोग निर्मूलनको प्रमाणपत्र प्रदान पनि गरिसकेको छ । 

ट्रकोमा निवारण भएको दक्षीण तथा दक्षीणपूर्व एशियामा नेपाल पहिलो देश भएसँगै पुनः ट्रकोमाको प्रकोप फैलन नदिन निगरानी आवश्यक भएको सरोकारवालाले ध्यानाकर्षण गराएका छन् । 

नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका निर्देशक डा इन्दुप्रसाद ढुंगेलले यो रोग धुलो, सुख्खा र फोहर वातावरणमा बढी मात्रामा लाग्ने भएकाले जनस्तरमा सरसफाइ, जनचेतना गराउने काम जारी राख्नुपर्ने बताउनुहुन्छ । 

उहाँले आँखा पाक्ने रोगजस्तै ट्रकोमा रोग पनि व्यक्तिगत र वातावरणीय सरसफाइको कमी भएको अवस्थामा लाग्ने भएकाले झिंगा, हातका औला र लुगाफाटोका माध्यमबाट संक्रमित व्यक्तिबाट अन्यलाई सर्ने भएकाले जनचेतनाका कार्यक्रम जारी राख्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले आँखाको नानीको जालोमा शुरुमा संक्रमण भई पछि परेलाभित्र पसी नानीमा टाँसिएर घाउ, अल्सर हँुदै गएपछि ज्योति हराउँदै जाने बताउनुभयो । 

क्लामाइडिया ट्रकोमाटिस नामक जीवाणुको संक्रमणबाट हुने सरुवा रोग ट्रकोमा लागेमा एक किसिमको मन्दगतिले आँखा पाक्ने यो रोग आँखापाक्ने रोगमा जस्तै आँखा रातो हुने, पहेँलो चिप्रा (कचेरा) लाग्ने, आँखाको ढकनी सुन्निने, आँखा चिलाउने र बिझाउने लक्षण देखा पर्दछन् । 

ट्रकोमा निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले अहिले पनि तराईका आँखा अस्पतालमा ट्रकोमा रोगी भारतबाट उपचारका लागि नेपाल आइरहेकाले जोखिम रहेको बताउनुहुन्छ । खुला सिमानाका कारण मानिसको आवतजावतले गर्दा सरुवा रोग भएकाले पुनः सो रोग आउने सम्भावना धेरै रहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “यसको रोकथाम गर्नका लागि सिमानामा अनुगमन निगरानी अझै पनि आवश्यक छ ।” नेपालका लागि ट्रकोमा निवारण ठूलो उपलब्धि भएको भन्दै कार्यकारी निर्देशक मिश्रले नेपाल नेत्रज्योति संघले सरकारको सहयोगी भई ट्रकोमा निवारण गर्न सकेको बताउनुभयो । 

नेपाल नेत्रज्योति संघले नेपालमा हुने अन्धोपनको कारणबारे सन् १९८१ मा गरेको सर्वेक्षणबाट कूल जनसंख्याको छ प्रतिशतमा ट्रकोमा पाइएको थियो भने कूल अन्धोपनको २ दशमलव ४ प्रतिशत अन्धोपन रोगका कारण भएको सर्वेक्षणले देखाएको थियो । 

मोतियाबिन्दु पछि ट्रकोमा अन्धोपनको दोस्रो प्रमुख कारणको रुपमा रहेको तथ्य उक्त सर्वेक्षणले देखाएको थियो । कतिपय जिल्लामा ट्रकोमा रोगको प्रकोप २३ प्रतिशत जनसंख्यामा भएको देखिएको संघका कार्यकारी निर्देशक मिश्रको भनाइ छ । 

संघले ट्रकोमा रोगबाट प्रभावित भएका २० वटा जिल्ला कैलाली, कञ्चनपुर, चितवन, नवलपरासी, बाँके, बर्दिया, सुर्खेत, दैलेख, रोल्पा, डोटी, अछाम, बारा, पर्सा, सर्लाही, रसुवा, रुकुम, दाङ, कपिलवस्तु, रौतहट र बैतडीमा विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेअनुसारको रणनीतिअनुरुप निवारणका लागि कार्यक्रम गरेको थियो । 

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा डा तीर्थप्रसाद मिश्र ट्रकोमा सरुवा रोग भएकाले सदैव दोहोरिने चुनौती रहेकाले ढुक्क भएर बस्न नहुने बताउनुहुन्छ । 

तराई र मध्यपहाडमा बढी देखिएको ट्रकोमा नेपाल भारतको खुला सिमानाका कारण निगरानीको बाटोमा सधैँ नै काम गरिरहनु आवश्यक छ । 

उपचारको माध्यमबाटै रोकथाम गर्न सकिने अन्धोपनलाई सन् २०२० सम्ममा उन्मूलन गर्ने नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय आँखा स्वास्थ्य कार्य योजना र नीतिलाई सहयोग पु¥याउने उद्देश्यले नेपाल नेत्रज्योति संघअन्र्तगत सन् २००२ देखि ट्रकोमा रोगबाट प्रभावित जिल्लामा राष्ट्रिय ट्रकोमा कार्यक्रम सञ्चालन गरिएको थियो । 

विश्व स्वास्थ्य संगठनका अनुसार कुनै समुदाय वा राष्ट्रमा एकदेखि नौ वर्षसम्मका बालबालिकामा रोगको संक्रमणको प्रकोप पाँच प्रतिशतभन्दा कम भएमा अन्धोपन गराउन सक्ने ट्रकोमा रोग निवारण भएको मानिन्छ । 

अर्को सूचकअनुसार सम्पूर्ण जनसंख्याको एक हजार जनामध्ये एक व्यक्तिभन्दा कमलाई मात्र आँखाको परेलाका रौँ आँखाभित्रपट्टि फर्किएको पाइएमा पनि ट्रकोमा रोग निवारण भएको मानिन्छ । 


जेठ २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस