खेलाडीलाई लक्षित गर्दै नेपाल औषधि लिमिटेडद्वारा ‘इनर्जी ड्रिंक्स’ उत्पादन

काठमाडौं, २२ जेठ –नेपाल औषधि लिमिटेडले शक्तिवर्धक जीवनजल उत्पादन शुरु गरेको छ ।

बिरामी नहुँदा पनि प्रयोग गर्न मिल्ने ‘इनर्जी ड्रिंक्स’ जीवनजल उत्पादन गर्न माग आएपछि लिमिटेडले शक्तिवर्धक जीवनजल उत्पादन शुरु गरेको जनाएको छ ।

लिमिटेडका महाप्रबन्धक  रोभसकुशम सुवेदीले पानीमा यो जीवनजल मिसाएर खाँदा शक्ति मिल्ने भएकाले मागअनुसार उत्पादन गरेको बताए  ।

धेरैजसो खेलकुद क्षेत्रमा कार्य गर्ने व्यक्ति तथा खेलाडीहरूले शक्तिवर्धक जीवनजल उत्पादन गर्न माग गरेको उनको भनाइ छ । 

‘गर्मीमा शरीरबाट बग्ने पसिनामा नुनको मात्रामा कमी आउने भएकाले पानी मात्रै पिउनुभन्दा जीवनजल मिसाउँदा शरीरलाई शक्ति मिल्छ,’ उनले भने, ‘हामीले ५० हजार प्याकेट जीवनजल उत्पादन गरेका छौं, अहिले माग भएको ठाउँमा पठाउने तयारी गरिरहेका छौं ।’

शरीरलाई शक्ति प्रदान गर्न तयार पारिएको नयाँ जीवनजलमा कुनै फ्लेभर नहुने उनले बताए । धेरै परिश्रम गर्ने र कमजोर व्यक्तिलाई ‘इनर्जी ड्रिंक्स’ले शक्ति दिने उनको दाबी छ । 

यसअघि लिमिटेडले झाडापखाला लाग्दा प्रयोग गरिने सुन्तला फ्लेभरको जीवनजल उत्पादन गर्दै आएको थियो ।

पहिलो चरणमा ५० हजार इनर्जी ड्रिंक्स उत्पादन गरेको लिमिटेडले आगामी दिनमा मागअनुसार उत्पादन बढाउने लक्ष्य लिएको छ ।

जेठ २२, २०७५ मा प्रकाशित

रिता लम्साल

रिता लम्साल लोकान्तरका लागि स्वास्थ्य र सामाजिक मामिलामा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस