साताको अन्तिम दिनमा पनि नेप्से दोहोरो अंकले गिरावट

जेठ २४, २०७५

काठमाडौं, २४ जेठ- लाभकरको बिषयलाई लिएर साताभर तनाबग्रस्त रहेको शेयर बजारमा साताको अन्तिम दिन पनि गिरावट आएको छ । बिहिबार शेयर बजार परिसूचक नेप्सेमा झण्डै २५ दशमलव ६८ अंकको गिरावट  आयो ।

 


ADVERTISEMENT

साताको पहिलो दिन आइतबार आन्तरिक राजश्व विभागले बोनस र हकप्रद सेयरको अंकित चुक्ता मूल्यकै आधारमा लाभकर गणना गर्न सेयरबजारका नियमनकारी निकायलाई निर्देशन दिएपछि सेयरबजारका लगानीकर्ता आन्दोलीत भएसँगै लगातार बजार प्रभावित भयो । सरकारको निर्णय विरुद्ध उत्रिएका लगानीकर्ताले मंगलबार शेयर बजार ठप्पै पारेका थिए ।

 

बिहिबार बजार २ प्रतिशत घटेर १२५७ दशमलव ०७ अंकमा ओर्लिएको छ । क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५ दशमलव ४७  अंकले घटेर २ सय ६४ दशमलव ४६ अंकमा झरेको छ ।

 

बिहीबार १६६ कम्पनीका १४ लाख ४१ हजार कित्ता शेयर ४६ करोड ८५ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढी मेगा बैंकको दुई करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

 

सरकारले लाभकरका बिषयमा अध्ययन गर्न गठन गरेको समितिमा लगानीकर्ताको प्रत्यक्ष सहभागिता नहुँदा उनीहरुमा करको त्रासदी कायमै रहदा बजार ओरालो लागेको हो । 


अर्थमन्त्रालयका सह सचिवको नेतृत्वमा गठित समितिले १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने र असारमसान्तसम्म पुरानै व्यवस्था अनुसार लाभकर गणना गरिने सहमति भएको थियो ।
 

जेठ २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस