सरकारी प्रशासनको चिरफार र सुधारका उपायहरू

जेठ २५, २०७५

असीको दशकको अन्त र नव्वेको दशकको शुरूमा सार्वजनिक क्षेत्र व्यवस्थापनमा थुप्रै प्रयोग र पुनर्बोधको समय थियो । नवीन अवधारणाको विकास, तेस्रो औद्योगिक क्रान्तिले प्रविधिमा ल्याएको परिवर्तन र ग्राहक चेतनाको कारण सार्वजनिक संस्थाहरू परिवर्तनको निरन्तर दबाबमा रहे । यो दबाब थेग्न सरकार र उसका संगठन संरचनामा परम्परागत सुधार मात्र पर्याप्त थिएन । निजी क्षेत्रका संस्थागत घरानाहरू कर्पोरेट गुरिल्लाका रुपमा कुदिरहेका थिए । निजी क्षेत्रजस्तो प्रतिस्पर्धात्मक क्षमता र कार्यकुशलता भित्र्याएर सामाजिक न्याय कसरी वितरण गर्न सकिन्छ भन्ने छटपटीमा सार्वजनिक क्षेत्रका नीति शिल्पीहरू देखिए ।

निरन्तर परिवर्तनशील विश्वमा सार्वजनिक व्यवस्थापनको कार्यव्यवहार र संस्कृतिको निरन्तर परिवर्तन निकै चुनौतिपूर्ण कुरा हो । तर, सार्वजनिक प्रशासन यसअघिका प्रयासबाट परिमार्जित हुँदै भविष्यपथ निर्माण गर्ने गतिशील प्रवृत्तिबाट पर रहन सम्भव थिएन । आजभन्दा भोलि र भोलिभन्दा पर्सी आउने चुनौति सामना र स्वयम् आफ्नै अस्तित्व रक्षाका लागि राम्रो प्रणाली निर्माण र हस्तान्तरणको विकल्प थिएन । अग्रसरता व्यवस्थापन त्यसको रणनीति बन्न पुग्यो । प्रशासनिक नवप्रवर्त्तनवाद नयाँ अभियानका रुपमा देखियो । 


ADVERTISEMENT

अग्रसरता व्यवस्थापन नयाँ उत्पादन, सेवा, ब्राण्ड, प्रविधि र विस्तार मात्र होइन । यो व्यवस्थापनलाई निरन्तर गतिशील बनाउन नयाँ सोच, कल्पना र प्रतिस्पर्धा भित्र्याउने रणनीति हो, नवप्रवर्त्तन हो । नतिजा सुधारका लागि प्रविधि, संस्कृति र व्यवहार गतिशील बनाउने माध्यम हो । भोलि नयाँ तौरबाट ग्राहकलाई व्यवहार गर्नुपर्ने चुनौति छ । किनकि, ग्राहकहरू सधैं नयाँ स्वाद र शैलीका पारखी छन् । संस्थाहरूलाई उहीँ रुपमा रहन र व्यवहार गर्न समाजको गतिशील प्रवृत्तिले पनि दिँदैन, स्थीर हुनु जीवन्त संगठनको स्वभाव पनि होइन । आजभन्दा भोलि र भोलिभन्दा पर्सीका दिनहरू अझै चुनौतिपूर्ण हुँदैछन् । र, यसो हुनु गतिशील समाजको विशेषता पनि हो । संगठनमा अग्रसरताको संस्कृति भित्र्याउने अवधारणा निजी क्षेत्रको रणनीति हो । 

सफल र प्रतिस्पर्धी कर्पोरेट संस्था अर्को संस्था, अर्को कम्पनी, अर्को व्यवस्थापक र अर्को प्रविधिभन्दा कसरी उम्दा भई ग्राहक सन्तुष्टि र व्यवसाय विस्तार गर्ने भन्ने तनावमा रहन्छन् । यसैलाई सम्बोधन गर्न नै अग्रसरता व्यवस्थापन आविस्कार भएको हो । त्यसैले प्रतिस्पर्धा अर्को व्यक्ति, अर्को संस्था, अर्को प्रविधि सबै हाम्रा लागि चुनौति हुन् । व्यवसाय÷संस्था खडा गर्नु सजिलो कुरा हो । तर, जब व्यवसाय र संस्थाको कार्यक्षेत्र विस्तार हुन्छ । त्यसलाई सधैं कायम गर्नु, अझ अग्रगामी र प्रतिस्पर्धी बनाउनु ठूलो कुरा हो । चुनौतिको कुरा हो । अमेजन अग्रसरताको उदाहरण बन्यो । किनकि उ नयाँ तरिकाबाट ग्राहकको घरदैलोमा पुग्यो । 

डिज्ने कम्पनी सफल भयो । दर्शकको मन जित्ने नयाँ शैली ‘इमोसनल कनेक्सन’ अवलम्वन गर्‍यो । सोनी कम्पनीले उपयुक्त समयमा निर्णय गर्न सकेन, ग्राहकबाट टाँढिन पुग्यो । कोडाकजस्ता फिल्म रिल बनाउने स्थापित ब्राण्ड समयमै सही प्रविधि चयनमा पछि परे । परिणामतः ग्राहकले भुलिसके । जेफ विजोस (अमेजन मालिक) वील गेट्सभन्दा धनी बन्नुको रहश्य ग्राहक स्वादलाई तत्काल टिप्न, अझ भनौ नयाँ स्वाद सिर्जना गर्न सक्ने अग्रसरताको व्यवस्थापन हो । सामसुङ र एप्पलको प्रतिस्पर्धा नयाँ स्वाद सिर्जना गरी ग्राहकलाई मुग्ध बनाउनुमा नै केन्द्रीत छ । ग्राहक स्वाद टिप्न सक्षम संस्था नै निरन्तर सफल हुन्छन् । ग्राहकलाई तत्काल सम्बोधन गर्ने कर्मचारी नै प्रतिस्पर्धी अनि सफल मानिन्छन् ।

असीको दशकबाट सफल सार्वजनिक संगठनहरू अग्रसरताको संस्कृति विकास र परिवर्तन व्यवस्थापनमा लाग्दै आएका छन् । संगठनले कार्यसम्पादन उपलब्धी विस्तारका लागि रणनीति योजना, ‘अपरेटिङ गाइडलाइन’ लगायतका प्रविधि अवलम्वन गर्न थालेका छन् । संगठनका मूल्य, उद्देश्य र परिदृश्य घोषणा गर्ने र त्यसैअनुरुप रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएका छन् । परम्परागत प्रशासन जसरी–तसरी तदर्थ रुपमा सञ्चालन हुन्थ्यो ।

रणनीतिक रुपमा संगठन सञ्चालन गरिन थालेपछि संगठनका मूल्यलाई महत्व दिन थालियो । सांगठनिक मूल्य त्यस प्रकारको विश्वास वा गुण हो । जसको आन्तरिक मान्यता हुन्छ र त्यसलाई सम्झौता गर्न सकिँदैन । व्यवस्थापनको उद्देश्य संगठनका मूल्यलाई संस्थागत गराउनुमा रहन्छ । उत्साह, आदर, जिम्मेवारी, विश्वास, निष्ठा, अनुशसान र निष्पक्षताजस्ता आभ्यान्तरिक गुणको समष्टि मूल्य भएकाले यसले कार्य र निर्णयको आधार दिन्छ । मूल्यपछि उद्देश्य (मिसन) सांगठनिक प्रभावकारिता बढाउने आधार हो । उद्देश्यले संगठनको विस्तृत परिभाषा गर्छ, संगठनलाई अरुभन्दा बेग्लो रुपमा प्रस्तूत गर्छ । 

संगठनले कसलाई सेवा गर्छ, किन र कसरी भन्ने निश्चित गर्दछ । उद्देश्यको सही अभिव्यक्तिले कामप्रतिको संवेगात्मक सम्बन्ध र प्रतिवद्धता देखाउँछ । जस्तो कि डिस्ने वल्र्डको मिसन मनोरञ्जन दिनु हो, रेभ्लोनको मिसन श्रृंगारप्रेमी महिलाको मन जित्नु हो । त्यसपछि परिदृश्य (भिजन) स्थापित गरिनु आवश्यक छ । परिदृश्यले चाहेको दृश्य वा आकृति देखाउँछ । परिदृश्यले भविष्यको अनुमान गर्ने भएकाले यो निकै जटिल पनि छ । किनकि भविष्य देखिए वा लेखिएजस्तो सजिलो हुँदैन । विगत वा वर्तमानजस्तो प्रष्ट पनि हुँदैन । भविष्यद्रष्टा समस्या आउनुअघि नै समाधानको कल्पना गर्छन् । भविष्यद्रष्टाहरू भविष्यको बाटोहरू कल्पना मात्र गर्दैनन्, बनाउँछन् पनि । भविष्यद्रष्टा व्यवस्थापकमा आफ्नो मस्तिष्क खियाउने र अरुको मन जित्ने क्षमता हुन्छ । भ्यालु, मिसन र भिजन वा मन, आँखा र मस्तिष्कको सही उपयोगमा नै सार्वजनिक क्षेत्रमा अग्रसरताको संस्कृति विकास गर्न सकिन्छ ।

सार्वजनिक व्यवस्थापनमा अग्रसरता भित्र्याउनु र संस्थागत गर्नु निजी क्षेत्रमा भन्दा निकै जटिल विषय हो । सार्वजनिक संरचनाभित्र कर्मचारीतन्त्रीय पद्धति, पदसोपान र कार्यविधिगत औपचारिकताले अग्रसरतालाई सितिमिति भित्रिन नै दिँदैन । तर, ग्राहक बनेका नागरिकको चाख, सरोकार र अपेक्षाको कारण अग्रसरता जरुरी छ । अब भन्न थालियो ‘व्यवस्थापन जहाँ भएपनि व्यवस्थापन हो’ । उत्पादन, सेवा, स्रोतसाधन र कार्यविधिमाथि निरन्तर परिवर्तनको सोचबाट नै सार्वजनिक व्यवस्थापनभित्र अग्रसरतामुखी संस्कृति विकास गर्नुपर्ने बाध्यता छ । यो त्यत्तिकै सम्भव छैन, न कुनै चान्सले सिर्जना गर्ने कुरा हो । अग्रसरता सधैं विचारको नतिजा हो । सकारात्मक विचार नै त्यस्तो शक्ति हो जसले खोज, आविष्कार र नतिजा उत्पादन गर्न सक्छ, नवप्रवत्र्तन ल्याउन सक्छ । तर, संगठनको नेतृत्वले त्यसको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । यो जटिल नभइ सरल कार्य हो ।

नेपालको कुरा गर्दा हामीले जानी–नजानी केही असल कामहरू थालनी गरेका छाैं । जो संस्थागत हुन सकिरहेको छैन, नेतृत्वबाट प्रोत्साहित हुन सकेको छैन

ट्वीटर प्रणेता ज्याक डोर्सेका अनुसार उत्तम प्रविधि÷विचार नदेखिन सक्छ, यदि त्यो प्रयोगमा आएन भने । सामान्य विचारका कारण द्रोण युद्ध संयन्त्रबाट सामाजिक सचेतनाको आधार बन्यो । रिड हफम्यानले लिंक्डइनमार्फत् व्यावसायिक विवरणमा सर्वसुलभ पहुँच स्थापना गरे । प्रमुख पक्ष यति मात्र हो, व्यवस्थापनका सबै तह, विशेषतः नेतृत्वले आफ्नो संगठन किन स्थापित छ, भविष्यमा कस्ता ग्राहकलाई कसरी आजभन्दा राम्रो सेवा पु¥याउन सकिन्छ भन्ने प्रतिवद्ध सोच राख्नपर्छ । अनि मात्र संगठनभित्र अग्रसरताको संस्कृति विकास गर्न सकिन्छ । सबै नयाँ विचार र नवप्रवत्र्तनमा केन्द्रीत हुनुपर्छ । ताकि अरु व्यक्ति÷संस्थाभन्दा उम्दा गर्न सकियोस् । प्रकृत्तिको नियम नै गतिशील हुनु हो, प्रतिस्पर्धी हुनु हो । प्रतिस्पर्धामा उम्दा बन्न नसके जो कुनै अस्तित्वको संकटमा पर्छ ।

संगठनमा अग्रसरता विकास गर्ने सर्वमान्य सुत्र हुँदैन, परिस्थितिजन्यताले पनि व्यवस्थापनलाई निर्दिष्ट गर्छ । तर, निरन्तरको प्रयत्न, अनुसन्धान, मस्तिष्क मन्थन र कतिपय अवस्थामा असल अभ्यासको अनुकरण र परिमार्जनबाट अग्रसरता भित्र्याउन सकिन्छ । यस शताब्दीमा कर्पोरेट गुरिल्लाका रुपमा चिनिएका कम्पनी र उसका स्थापित ब्राण्डका आधारमा केही निष्कर्ष निकाल्न सकिन्छ । जस्तो कि डिस्ने वल्र्डको सिर्जना जसले उसकै सबै ग्राहकलाई मन्त्रमुग्ध बनाएको छ । उसका आधारमा कर्मचारी, ग्राहक र सेवा (उत्पादन) बीच संवेगात्मक सम्बन्ध स्थापना नगरी ग्राहक स्वाद र सन्तुष्टि दिन सकिँदैन । संगठनका कर्मचारी इमोसनल इञ्जिन हुन् । ग्राहक कायम राख्न र नयाँ ग्राहक विस्तार गर्न नयाँ स्वादको सिर्जना चाहिन्छ, ब्राण्ड लोयल्टी वा आउँदा दिनमा आफ्नो उत्पादन (सेवा) झनै स्वादिलो अनि मितव्ययी पार्ने प्रविधि के हुन सक्छ ? सोको निरन्तर प्रयत्न चाहिन्छ । त्यो पनि उपयुक्त समयभित्र । नयाँ प्रविधि र नवप्रवत्र्तनका लागि प्रोत्साहन गर्नुपर्छ । कर्पोरेट घरहरूले यसका लागि विचार सर्जक विज्ञ नै नियुक्त गरेका हुन्छन् । सार्वजनिक निकायमा प्रोत्साहनका व्यावहारिक उपायमार्फत् आजमाथि चुनौति दिइ भोलिको तयारी गर्न सकिन्छ ।

नेपालको कुरा गर्दा हामीले जानी–नजानी केही असल कामहरू थालनी गरेका छाैं । जो संस्थागत हुन सकिरहेको छैन, नेतृत्वबाट प्रोत्साहित हुन सकेको छैन । संगठनले लगानी गरेर विकास गरेको क्षमतालाई नवप्रवर्त्तनका लागि उपयोग गर्न सकिएको छैन । डेढ दशकअघि शिक्षा मन्त्रालयले शिक्षा प्रणालीमा आमूल परिवर्तन गरी जीवनोपयोगी शिक्षा विकासका लागि निजी क्षेत्र र विज्ञहरू भएको सानो परिवर्तन व्यवस्थापन इकाइ (सीएमजी) गठन गरेको थियो, जसका सुझावहरू शिक्षा प्रणाली परिवर्तनका लागि निकै महत्वपूर्ण पनि थिए । सुझावहरू निरन्तर कार्यान्वयन गर्न सकिएको भए आधारभूत शिक्षा साक्षरता, माध्यमिक शिक्षा सीप र उच्च शिक्षा प्रतिस्पर्धाको उद्देश्यमा पुग्न सक्थ्यो, अहिलेजस्तो बेरोजगारहरू उत्पादन गर्न शिक्षा प्रणाली उद्यत हुने थिएन ।

कृषि तथा जीव विज्ञानमा नार्क, नास्ट लगायतका निकायबाट थुप्रै आविस्कार पनि भएको छ ।  सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा शुरू गरिएको शासकीय सुधार कार्यक्रममा खास मन्त्रालयमा शासकीय सुधार इकाइ र परिवर्तन इकाइ गठन गर्ने काम भएको थियो । अहिले पनि मन्त्रालयहरूमा प्रत्येक दिन वा निश्चित समयको अन्तरालमा उच्च व्यवस्थापन तह (एसएमटी) को बैठक बस्ने गरेको छ ।

कार्यसम्पादन सूचकका आधारमा व्यवस्थापन करार गर्न सक्ने व्यवस्था छ । कर्मचारी पुरस्कार र प्रोत्साहनका लागि नेतृत्व र परिवर्तनलाई आधार मान्न सकिन्छ । सचिव बैठक, ग्राहक सन्तुष्टि सर्वेक्षण, नागरिक पृष्ठपोषण र सरकारले समय–समयमा गठन गर्दै आएका विज्ञको कार्यदललाई नवप्रवर्त्तन भित्र्याई अग्रसरता विकास गर्ने माध्यमका रुपमा प्रयोग गर्न सकिन्छ । व्यवस्थापनभित्र मनस्थिति परिवर्तन, कार्यविधि सुधार र ग्राहक प्राथमिकतालाई ध्यान नदिएसम्म हाम्रा प्रयोगहरू सुधारका नाममा बित्थामा खेर गइरहने छन्, देखावटी मात्र बन्ने छन् । यसर्थ नवप्रवर्त्र्तनलाई प्रोत्साहन र परिवर्तनको वास्तविक प्रतिवद्धता अहिलेको खाँचो हो ।

(mainaligopi@gail.com)

जेठ २५, २०७५ मा प्रकाशित

गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस