बजेटमाथिको छलफल आजबाट शुरु हुँदै

काठमाडौं, २७ जेठ– आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटको मन्त्रालयगत शीर्षकमा आइतबारदेखि प्रतिनिधिसभामा छलफल हुँदैछ । वार्षिक बजेटको सामान्य छलफल सकिएपछि मन्त्रालयगत छलफल शुरु हुन लागेको हो ।

प्रतिनिधि सभाले विनियोजन विधेयक संशोधन दर्ताका लागि अनुमोदन गरिसकेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले आइतबारबाट मन्त्रालयगत शीर्षकमा छलफल हुने बताए । 

सचिवालयले मन्त्रालयगत छलफलको तालिका तय गरेको छ । मन्त्रालयगत छलफल सकिएपछि विभागीय मन्त्रीहरूले सदनमा जवाफ दिनेछन् । 

वार्षिक बजेट विनियोजन विधेयक असार मसान्तभित्र पारित भइसक्नुपर्नेछ । सरकारले विनियोजन विधेयकसहितका अन्य तीन आश्रित विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरिसकेको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ २० गतेको बैठकमा विधेयक प्रस्तुत गरिसकेका छन् ।

जेठ २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस