‘शिक्षित सियारी, शिक्षित समाज’ अभियानमा अर्घाखाँची सिमेन्टको साथ

जेठ २७, २०७५

रुपन्देही, २७ जेठ- अर्घाखाँची सिमेन्ट प्रा.लिले रुपन्देहीको सियारी गाउँपालिकाका ३३०० विद्यार्थीहरुलाई एक वर्षसम्म आवश्यक पर्ने स्कुल ब्यागसहित विभिन्न शैक्षिक सामग्रीहरु एकमुष्ट उपलब्ध गराएको छ । गाउँपालिकाले आयोजना गरेको ‘शिक्षित सियारी, शिक्षित समाज’ नामक कार्यक्रममा अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गरेको हो । 


प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गर्नुभएको ‘हामी सबैको इच्छा, अनिर्वाय निःशुल्क शिक्षा नामक अभियानलाई सार्थक पार्न शिक्षा क्षेत्रमा लगानी गर्न लागेको अर्घाखाँची सिमेन्टले जनाएको छ ।  ‘शिक्षित सियारी, शिक्षित समाज’ कार्यक्रममा उक्त क्षेत्रमा भएका सम्पूर्ण बालबालिकाहरुलाई बिद्यालयमा झिकाऔँ, सिकाऔँ र टिकाऔँ भन्ने मूल नारा अन्तर्गत सबैकालागि शैक्षिक समाग्री वितरण गरिएको थियो । उक्त कार्यक्रम प्रदेश नम्बर ५ का माननीय मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा सियारी गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको थियो ।



कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाका प्रमुख अयोध्या थारुले अर्घाखाँची सिमेन्ट प्रा.लि.लाई धन्यवाद दिँदै भने, ‘अर्घाखाँची सिमेन्टको यो कार्यले यस गाउँपालिकाका सम्पूर्ण विद्यार्थीहरु निकै उत्साहित भएका छन् । यस कार्यले निश्चय पनि सकारात्मक परिणाम दिनेछ र यस्ता कार्यहरु निरन्तर भईरहने हो भने पक्कै पनि यस गाउँपालिकाले लिएको ‘शिक्षित सियारी, शिक्षित समाज’ अभियानले सार्थकता पाउनेछ र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सुरु गर्नु भएको ‘हामी सबैको इच्छा, अनिर्वाय निःशुल्क शिक्षा नामक महान अभियान पनि सार्थक हुनेछ ।’

सोही कार्यक्रममा अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक पशुपति मुरारकाले सबैले आ–आफ्नो ठाँउबाट सक्दो सहयोग गर्न सके अभियान सफल हुनेमा दुईमत नभएको बताए ।  उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्टका निर्देशक राजेश अग्रवालले आउँदा दिनमा पनि सियारी गाउँपालिकासँग निरन्तर रुपमा विभिन्न सहकार्य गरी अगाडि बढ्ने कुरा व्यक्त गरे । कार्यक्रम जेठ २६ गते शनिवार सियारी गाउँपालीकाको कार्यालय हर्नैयामा सम्पन्न भएको थियो ।  

जेठ २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस