नेयमार बने ब्राजिलका लागि तेस्रा सर्वाधिक गोलकर्ता

जेठ २८, २०७५

काठमाडौं, २८ जेठ – पेरिस सेन्ट–जर्मेन क्लबका सुपरस्टार फूटबलर नेयमार ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा आइपुगेका छन् । उनले ५५ गोल गर्दै रोमारियोको बराबरी गरेका हुन् ।

विश्वकपअघि अस्ट्रियाविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेर नेयमारले यो उपलब्धि हासिल गरेका हुन् । चोटका कारण गत फेब्रुअरीदेखि विश्राम गरेका नेयमारले पुनरागमन खेलको ६३औं मिनेटमा गोल गरेका थिए । 

अब उनले थप सात गोल गरेमा अग्रज खेलाडी रोनाल्डोको बराबरी गर्नेछन् । 

‘रोमारियोको कीर्तिमानलाई छुनु मेरा लागि गर्व तथा खुशीको विषय हो । ब्राजिलका शीर्ष गोलकर्ताको सूचीमा पर्दा आनन्दित छु,’ नेयमारले म्याचपछि भने । 

नेयमारको अन्तिम लक्ष्य ब्राजिलका महानतम खेलाडी पेलेको कीर्तिमान भंग गर्नु हो । पेलेले ब्राजिलका लागि ७७ गोल गरेका थिए ।

गोल डट्कमबाट
 


जेठ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस