मोडलिङ सपना त्यागेर २७ वर्षमै २६ सन्तानकी आमा !

काठमाडौं, २८ जेठ– भित्तामा सुन्दर पेन्टिङ, खुल्ला भागमा कार्पेट बिच्छ्याइएको ठाउँ ।  किताब लिएर पढ्दै गरेका बालबालिका ।

काठमाडौंको धापासीमा करिब एक रोपनी जग्गामा एउटा दुईतले घर छ । घरमा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लेखिएको ठूलो बोर्ड राखिएको छ । गेटभित्र पस्दा देब्रेपट्टि बालबालिकाको लागि खेल्ने ठाउँ छ । घरको दोस्रो तलमा खुल्ला ठाउँको आधा भागमा बेञ्च र टेवल राखिएको छ भने आधा भागमा कार्पेट बिच्छ्याइएको छ । त्यहाँ बालबालिकहरु कपी, किताब लिएर पढ्दै गरेका थिए ।

झापाकी २७ वर्षीया विनिता अर्यालले सञ्चालन गरेको बालगृह हो यो । उनले विगत आठ वर्ष अघिदेखि आमाबुबा गुमाएका, बाटोमा भेटिएका अनाथ बालबालिकाहरुलाई संरक्षण र शिक्षा दिएर राखेकी छन् । उनीसँग अहिले २६ जना छोराछोरी(बालबालिका) छन् । 

झापाकी बिनिता २०६४ सालमा एसएलसी परीक्षा दिएर काठमाडौं आइन् । काठमाडौंमा दिदीको घरमा बसेकी विनिता दिदीको पार्लरमा काम सिकेर बस्दै थिइन् । स्कूल पढ्दादेखि नै अभिनय र नृत्युमा उनी रुची राख्थिन् । विनिताको मोडलिङ गर्ने सपना थियो । काठमाडौं आएको दुई वर्षपछि २०६६ सालमा झापाकै इन्द्र प्रसाद अर्यालसँग उनको बिहे भयो । 

श्रीमान् बिहानै अफिस जान्थें साँझ मात्रै फर्कन्थे, विनिता दिनभरी दिदीको पार्लरमा काम गर्थिन् । पार्लर काम गर्दै गर्दा एकदिन विनिताले पत्रिकामा बाग्लुङ्का पाँच जना बच्चाको आमाबुबाको ६ महिनाको अन्तरालमा निधन भएको र बालबालिकाहरु गाउँलेले दिएको मकैको भरमा बाँचिरहेको समाचार पढिन् । 

बाबुआमाको मृत्युपछि राम्रोसँग खान नपाउँदा सानो बच्चालाई कुपोषण समेत भइसकेको समाचारमा पढेपछि उनको आँखा रसाए । आमाबुबा गुमाएका अबोध बालबालिकाको कष्ठकर दैनिकीले उनको मन अमिलो बनायो ।

उनलाई ती बालबालिकालाई कसरी सहयोग गर्न सकिएला भन्ने लाग्यो, विनितालाई । तर ती बालबालिका बाग्लुङमा थिए, उनी काठमाडौं । विनिताले ती बालबालिकालाई आफैंले स्याहार गरेर राख्छु भनेर सोच बनाइन् ।  ति बच्चाहरुलाई आफूले राख्ने बताउँदै विनिताले समाचार प्रकाशित गर्ने सञ्चार माध्यममा पुगेर सहयोग गर्न आग्रह गरिन् । तर उनको हिम्मतलाई कसैले विश्वास गरेनन् ।

‘मैले समाचार छापिएको मिडियामै गएर, ती बच्चाहरु लिन आएको, त्यसका लागि मैले केके गर्नुपर्छ भनेर सोधे, त्यहाँ हुनुभएको सबैजना हास्नुभयो,’ विनिताले विगत सम्झदैं भनिन्, ‘मैले पत्रकारलाई भने ती बच्चाहरुको लागि जस्तोसुकै दुःख गर्न परेपनि तयार छु भने, उहाँहरुको विश्वास नै गर्नुभएन ।’

त्यतिबेला पत्रकारले आफूलाई अविश्वास गर्नु पनि स्वाभाविक रहेको उनी बताउँछिन् । काठमाडौंमा कोठा भाडा लिएर बसेकी १८ वर्षकी युवती, स्कट लगाएर मिडिया हाउस् पुगिन् । सानी केटीको यो शाहसलाई उनको उमेरले छोपिदियो । उनी निराश भनेर घर फर्किइन् ।

त्यागिन् मोडलिङ गर्ने सपना, बनिन् पाँच सन्तानकी आमा

ती बच्चाहरुलाई कुनै संस्थाले संरक्षण दियो होला भन्ने सोचेर उनी आफ्नै दैनिकीमा फर्किइन् । बिहे पछिको जीवन र आफ्ना सपनाहरुलाई पूरा गर्ने कार्यमा लागेकी थिइन् । उनले मोडलिङ क्षेत्रमा आफ्नो करिअर बनाउने सोचेर उनले आफ्नो फोटोसेसन समेत गराइन् । उनलाई म्युजिक भिडियोमा खेल्ने अफर आयो । उनले म्युजिक भिडियोमा खेल्ने सम्झौता पत्रमा हस्ताक्षर गरिन् । पहिलो पटक म्युजिक भिडियोमा खेल्न लागेकी बिनिताले आफू सपनाको नजिक पुगेको आभाष गर्दै थिइन् ।

उनलाई साँझपख एउटा अपरिचित नम्बरबाट फोन आयो ।  उनले फोन उठाइन् । त्यो फोन बाग्लुङको निसी गाविसका वडा सचिवको फोन रहेछ ।  वडा सचिवले बिनितालाई पाँच महिना अघि उनले राख्न चाहेको बच्चाको अवस्थाको विषयमा जानकारी गराए ।  ती बच्चाहरुको अवस्थामा  दयनीय भएको भन्दै वडा सचिवले नागरिकताको फोटोकपी लिएर आएमा बच्चा दिने बताए । उनी त्यतिबेला निकै खुसी भइन् । तर बच्चा लिन जान नागरिकता थिएन बिनितासँग । त्यसको पनि उनले उपाय निकालिन् । आमालाई साथ लिएर गइन् र आमाको नागरिकता बुझाएर बालबालिका लिन उनी बाग्लुङ पुगिन् । 

बच्चा लिन बागलुङ गएको कुरा श्रीमान्लाई भनेकी थिइनन् । बाग्लुङबाट बेलुका पाँच जना बच्चासहित कोठामा विनिता पुग्दा उनका श्रीमान् अचम्ममा परे

६ महिना अघि समाचारमा पढेको टुहुरा बालबालिका आफूले राख्न पाउने भएपछि अरु कुरालाई उनले विर्सिइन् । 

बच्चाहरु लिन बाग्लुङ हिडेकी विनितालाई पोखरा पुग्दा म्युजिक भिडियो सुटिङका लागि एक घण्टा भित्र आइपुग्नु भनेर फोन आएको उनी सम्झन्छिन्  ।

‘बच्चा लिन आउँनु भनेर फोन आएपछि म बाग्लुङ आए, त्यहीँ दिन म्युजिक भिडियोको सुटिङ हुने भनेर खबर आयो, एकातिर मेरो सपना थियो, अर्कोतिर आमाबुबा गुमाएर भोकभोकै रहेका पाँचजना बच्चाको जीवन,’ उनले भनिन्, ‘मलाई आफ्नो सपना भन्दा पनि ती बच्चाहरुको जीवन महत्त्वपूर्ण लाग्यो, आफ्नो सपना त्यागेर म बच्चा लिन बाग्लुङ नै गए ।’

वडा सचिवले काठमाडौंसम्म ल्याउनको लागि कुनै अवरोध नगरिदिनु भनेर सिफारिस बनाएर पाँच जना बच्चाको जिम्मा विनितालाई लगाए । बच्चाहरुलाई आफूसँगै लान पाउँदा उनी निकै खुसी भइन् । 

पाँचजना बच्चा लिएर कोठामा पुग्दा श्रीमान् छक्क

उनले आफू बच्चा लिन बागलुङ गएको कुरा श्रीमान्लाई भनेकी थिइनन् । बाग्लुङबाट बेलुका पाँच जना बच्चासहित कोठामा विनिता पुग्दा उनका श्रीमान् अचम्ममा परे । बिनिताको अबोध बच्चा प्रतिको प्रेम देखेर उनले केही भनेनन् । विनितालाई सहयोग गरे उनले । उनी ती बच्चाहरुलाई कसरी राम्रोसँग पाल्ने भन्ने मात्रै सोच्थिन् । उनको दैनिकी बच्चाहरुको स्याहारमा नै बित्न थाल्यो ।  

श्रीमानको महिनाको पाँच हजारको जागिरले ती पाँचजना बच्चा र आफ्नो दैनिकी चलाउन किनै मुस्किल प¥थ्यो बिनितालाई । तर पनि ती बच्चाहरुको भविष्य नै मात्र सोच्थिन् उनी । उनले अनाथ बच्चाहरुलाई राखेर हेरचाह गरेको थाहा पाएपछि प्रहरीले पनि बाटोमा, जंगलमा भेटिएका बच्चाहरु उनकै जिम्मा लगाथें ।

आफ्नै दुध खुवाएर बचाइन् 

उनले बच्चाहरुलाई संरक्षण दिएर राखेपनि कुनै संस्था भने संचालन गरेकी थिइनन् । धेरै जना बालबालिका भएपछि उनीहरुको पालन पोषणका लागि सहयोग जुटाउन संस्था खोल्न आफन्तहरुले विनितालाई सुझाव दिए । 

आफन्तहरुको सल्लाहमा उनले २०६७ सालमा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ नामक संस्था स्थापना गरिन् । त्यतिबेला उनीसँग १६ जना बालबालिका थिए । आम्दानीको स्रोत केही थिएन । १६ जना बालबालिकाको लागि खाना खाजको व्यवस्था गर्नु सामान्य कुरा थिएन । त्यसका लागि विनिता कायौं पटक आफैं माग्न समेत हिडिन् । 

आफू गर्भवती हुँदा समेत विनिताले आफ्नो भन्दा नि ती बालबालिकाकै लागि सोच्ने गर्थिन् । २०६९ सालमा उनले छोरी जन्माइन् । विनिताले आफ्नी छोरीलाई पनि आफूसँगै रहेका बालबालिकहरुको साथमा हुर्काइन् । 

आफ्नो छोरी जन्मिएपछि छोरीसँग अन्य चारजना बालबालिकलाई आफ्नै दुध खुवाएको बचाएको उनले बताइन् । उनले खुसी हँुदै भनिन्, ‘जन्मदिने आमाबाट फालिएका बच्चाहरुलाई मैले आफ्नै दुध खुवाएर हुर्काएकोछु ।’ 

बालबालिकाको संरक्षणका लागि विनिताले संस्था स्थापना गरेको ८ वर्ष भइसकेको छ । बच्चाहरुको लागि उपयुक्त वातावरण खोज्ने क्रममा उनले ६ पटक सम्म ठाउँ सरिन् ।

विनिताले धापासीमा एक रोपनी क्षेत्रमा रहेको एक घरमा मासिक ३० हजार भाडा तिरेर आठ कोठा भाडामा लिएकी छिन् । 

उनीसँग अहिले साढे दुईवर्षदेखि १६ वर्षसम्मका २६ जना बालबालिका छन् । दाताहरुसँग  रकम भन्दा पनि विनिताले बालबालिकाको लागि खाद्यन्न र शैक्षिक सामाग्री माग गर्ने गरेकी छिन् । 

२६ जना बालबालिकाको पालनपोषणका लागि मासिक एक लाख खर्च हुने गरेको उनले बताइन् । संस्था स्थापना गरेको भनेपछि सबैले विदेशीको सहयोगले चलेको होला भन्ने सोच्ने गरेपनि आफूले नेपाली दाताहरुको सहयोगबाट नै बालबालिकाको पालनपोषण गर्दै आएको विनिताले बताइन् ।

‘अरुले त संस्थाको नाम देख्ने बित्तिकै यहाँ डलरको खेती भयो भन्ने सोच्छन्, आफ्नो पीडा आफैसँग छ, अहिलेसम्म नेपाली दाताहरुसँग मागेर नै बालबालिकाको खर्च टार्दै आएकी छु’ बिनिताले भनिन्, ‘समाज सेवाकाका लागि विदेशी सहयोगी नै चाहिन्छ भन्ने हुदैन ।’

आफूले आठ बर्षसम्म नेपालीहरुकै सहयोगबाट संस्था चलाइरहेको उनले बताइन् । आगामी दिनहरुमा पनि नेपालीको सहयोगमा आफूले बालबालिकाको संरक्षण गर्न सक्नेमा उनी विश्वस्त छिन् ।
‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’का सबै बालबालिका टोखाको सामुदायिक विद्यालयमा पढ्छन् । बालबालिका पढाउनका लागि रकम आवश्यक नपरेपनि अन्य शैक्षिक क्रियाकलापका लागि आवश्यक पर्ने रकम जोहो गर्न आफूलाई समस्या पर्ने गरेको उनले बताइन् । 

‘४ जनाले जर्मन छात्रवृत्तिमा नाम निकालेका छन्, अरु छोराछोरीको पनि स्कूलमा निःशूल्क नै छ,’ उनले भनिन्, ‘तर स्कूलले सरसफाइ, अन्य क्रियाकलापको लागि पैसा माग्दा निकै समस्या पर्छ, एउटासँग ५० रुपैंया माग्दिदा पनि धेरै खर्च हुन्छ, बच्चाहरुले ममिले पैसा दिनुभएन भन्लान् भन्ने चिन्ता हुन्छ ।’

बालबालिकाको मुस्कानले बढाउने हिम्मत

विनिताको आँट र हिम्मतले आजसम्म २६ जना बालबालिकाले आवास र शिक्षा पाइरहेका छन् । २६ जना बालबालिकाले ममी भन्दै आफ्नो काखमा रमाउँदा उनको हिम्मत झनै बढ्छ, मनमा शान्ति छाउँछ ।  

‘छोराछोरीले स्कूलले गफ सुनाउँछन्, ममी भन्दै झुम्मिन आउँछन्, यस्तो चाहियो भन्दै मलाई घुर्की पनि लगाउँछन्,’ उनले भनिन्, ‘आफ्नी आमा मानेर उनीहरुले आफ्ना चाहनाहरु सुनाउँदा मलाई धेरै खुसी लाग्छ ।’ 

‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ का बालबालिका निकै अनुशासीत छन् । साना बालबालिकाले ठूलालाई सम्मान गर्छन्, ठूला बालबालिकाले आफूभन्दा  सानालाई माया र हेरचाह गर्छन् । पढाइमा पनि उनीहरु निकै अब्बल छन् । 

‘मैले मेरा बच्चाहरुलाई व्यवहारिक ज्ञान दिन पनि सफल भएको छु, उनीहरु निकै अनुशासीत, जिम्मेवार छन्, पढाइ पनि राम्रो छ,’ विनिताले खुसीको भाव देखाउँदै भनिन् । 

यस्तो छ उनको सपना

विनिताले आफूले हेरचाह गरेका पाँच जना बालबालिकालाई उनीहरुकै परानो घरमा पुनःस्थापना समेत गराइसकेकी छन् । 

बाबुआमा नभएपनि गाउँमा उनीहरुको पुर्खौली सम्पति रहेका धादिङ र काभ्रेका पाँच जनालाई एसएससी दिएपछि घरमै पुनस्र्थापना गराएको उनले बताइन् ।

‘पाँच जनाको सानोमा पालनपोषण गर्ने कोही नभएर यहाँ बसेका थिए । एसएससी दिएर १६ वर्ष पूरा भएपछि उनीहरुलाई आफ्नै ठाउँमा पुनःस्थापना गराएको छु, अहिले त फेसबुकमा हाइ ममि भन्दै म्यासेज पठाउँछन्’ रोमाञ्चित हुँदै उनले सुनाइन् । 

संरक्षण गृहमा बालबालिकाहरुलाई पढाइसँगै नृत्य, अभिनय र अन्य क्रियाकलापमा पनि सक्रिय हुन उनले सिकाउँछिन् । आफूले पूरा गर्न नसकेको सपना आफ्ना छोराछोरीले पूरा गर्छन् भन्ने विश्वास छ विनितालाई ।

 ‘मेरो सपना थियो मोडलिङ गर्ने मैले मेरो सपनाहरुलाई परिवर्तन गरेर उनीहरुको खुसीको लागि बाँचे, मलाई विश्वास छ मेरा छोराछोरीहरुले मेरा सपनाहरुलाई पूरा गर्छन्, यिनीहरु सक्षम र सबल नागरिक भएर बाच्नेछन्’ विनिताले भनिन् ।

उनीसँग अहिले कक्षा ९ सम्म पढ्ने बालबालिकाहरु रहेका छन् । कक्षा १२ सम्म पढाएर आफैं सक्षम हुन सिकाउने उनको योजना छ । 
 

जेठ २८, २०७५ मा प्रकाशित

रिता लम्साल

रिता लम्साल लोकान्तरका लागि स्वास्थ्य र सामाजिक मामिलामा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस