विश्वकप विजेता टोलीको जर्सीमा तारा हाल्ने चलन कहिलेदेखि ?

काठमाडौं, २८ जेठ – विश्वकप फूटबल चलिरहेका बेलामा संसारकै ध्यान ३२ वटा टोली र तिनका खेलाडीमा केन्द्रित हुन्छ । 

अनि ती खेलाडीले लगाएका जर्सीले पनि खुबै ध्यान खिच्छन् । देशको पहिचान नै त्यही जर्सीबाट खुल्छ । 

विश्वकपको ‘किट’को कुरा गर्दा त्यसमा दशकौंदेखिको परम्परा र विशेष संकेतहरू हुन्छन् । रंग, कोलर र कपडाको गुणस्तर सबैमा मसिनो ध्यान पु–याइएको हुन्छ । 

जर्सीको सबभन्दा महत्त्वपूर्ण कुरा तारा हो । केही भाग्यमानी टोलीका खेलाडीले मात्र तारावाल जर्सी लगाउन पाउँछन् । टोलीको नाम भएको ब्याजमाथि ताराहरू रहेका हुन्छन् र ती ताराले टोलीका विश्वकप जीतहरूलाई संकेत गर्छन् । 

जस्तो, ब्राजिलको जर्सीमा पाँचवटा तारा छन् । यसको अर्थ उसले पाँचचोटि विश्वकप जितेको छ । 

टोलीहरूले जर्सीमा तारा हाल्ने चलन सन् १९७० मा शुरू भएको हो । त्यतिखेर ब्राजिलले तेस्रोपटक विश्वकप जितेपछि आफ्नो ब्याजमाथि तीन तारा हालेको थियो । 

त्यसपछिका वर्षमा सबै विश्वविजेताहरूले यो परम्परा पछ्याउने गरेका छन् । अघिल्लो विश्वकप जर्मनीले जितेपछि एउटा तारा थपेर चार तारा बनाएको छ । 

यसपालि पनि पहिलेकै मध्ये एक विश्वविजेताले तारा थप्ने सम्भावना रहेको देखिन्छ ।

एजेन्सी

जेठ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस