चीनका ह्याकरले चोरिदिए अमेरिकी जलसेनाको डाटा

काठमाडौं, २८ जेठ – चीन सरकारका ह्याकरहरूले अमेरिकी जलसेनाको गोप्य डाटा चोरिदिएका छन् । यसमा समुद्रमुनि लडिने युद्धका योजना अर्थात् पनडुब्बीबाट आक्रमण गरिने नयाँ एन्टी–शिप क्षेप्यास्त्र बनाउने योजना पनि छ । एक मिडिया रिपोर्टमा यो दाबी गरिएको हो । 

ह्याकरहरूले एक कन्ट्र्याक्टरको कम्प्युटरबाट यी डाटा चोरेका हुन् । वाशिङटन पोस्टमा छापिएको खबरअनुसार, चीनका ह्याकरहरूले सन् २०१८ को जनवरी र फेब्रुअरी महिनामा ६१४ गिगाबाइट डाटा चोरेका थिए । त्यसमा एन्टी–शिप क्षेप्यास्त्रको योजना पनि समावेश छ । 

अमेरिकी पनडुब्बीमा यी क्षेप्यास्त्रहरू सन् २०२० सम्ममा लगाइनेछ । 

एक अमेरिकी अधिकारीले बताएअनुसार, ह्याकरहरूले एक गोप्य परियोजना (सी ड्रागन), सिग्नल–सेन्सर डाटा, पनडुब्बी रेडियो रूम र डेभलपेन्ट युनिटमा ह्याक गरेका थिए । 

अखबारका अनुसार, ‘अमेरिका जहिले पनि सैन्य प्रविधिमा अघि छ । डाटा चोरी खासमा चीनले लामो समयदेखि अमेरिकालाई रोक्ने प्रयासको एक अंग हो । एकातर्फ अमेरिका उत्तर कोरियालाई रोक्नका लागि चीनको समर्थन चाहन्छ । अर्कातर्फ व्यापार र रक्षा विषयमा अमेरिका र चीनबीच तनाव छ ।’

डाटा चोरीको खबर आएपछि अमेरिकी रक्षा मन्त्रालयका इन्स्पेक्टर जनरल अफिसले सूचना दिएअनुसार रक्षामन्त्री जेम्स म्याटिसले साइबर सुरक्षालाई समीक्षा गर्न लगाएका थिए । 

एजेन्सी
 

जेठ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार