खेलकूदमा महिला सहभागिता बढाइने

फाइल तस्बिर
जेठ २९, २०७५

काठमाडौँ, २९ जेठ– युवा तथा खेलकूद मन्त्री जगतबहादुर सुनार(विश्वकर्मा)ले खेल क्षेत्रमा महिला सहभागिता वृद्धि भएमा महिला हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताएका छन् । 

राष्ट्रिय खेलकूद परिषद्ले आज आयोजना गरेको राष्ट्रपति खेलकूद महिला सहभागिता अभिवृद्धि विषयक अन्तरक्र्रिया कार्यक्रममा उहाँले खेल क्षेत्रमा महिलाको सहभागिताका लागि प्राथमिकता दिइने बताएका हुन् । 

मन्त्री विश्वकर्माले खेलकूदकै माध्यमबाट आपसमा तीतो सम्बन्धमा रहेका संयुक्त राज्य अमेरिका र उत्तर कोरियासमेत आपसमा शिखर वार्तामा आउन तयार भएको सन्दर्भ उल्लेख गर्दै खेलको विकासबिना समाजको समग्र विकास नहुने बताए । 

परिषद्का सदस्यसचिव केशवबहादुर विष्टले चालू आवमा शुरु भई आगामी वर्षमा पनि राष्ट्रपति खेलकूद महिला सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । सो कार्यक्रमका लागि चालू आवमा रु एक करोड ४० लाख बजेट बिनियोजित गरिएको छ । 

परिषद्का सदस्य सकुन्तला नकर्मीले कानूनी र नीतिगतरुपमा खेल क्षेत्रमा महिलाको सहभागिता वृद्धिका लागि कुनै समस्या नहरे पनि सामाजिक परिस्थिति र पुरातन संस्कारका कारण खेल क्षेत्रमा तुलनात्मकरुपमा महिलाको सहभागिता बढ्न नसकेको बताइन् । 


ADVERTISEMENT

जेठ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस