ट्रम्प-किम वार्ताबारे उत्तर कोरियाका नेपाली हितैषीको विश्लेषण- अमेरिका 'लाइन'मा आयो !

जेठ ३०, २०७५

उत्तर कोरियाले निशस्त्रीकरणको विषयमा कोरियन प्रायदीपलाई आणविक निशस्त्रीकरण गर्ने कुरा पहिलेदेखि नै भन्दै आएको हो ।

पहिले त अमेरिकाले मात्र राखेको थियो, उत्तर कोरियाले आणविक अस्त्रको विकास गरेको थिएन । उनीहरू (अमेरिका)ले युद्धका लागि गरेको हो भने हामीले पनि आफ्ना लागि आणविक देशकै रूपमा विकास गनुपर्छ भनेर विकास गरेका हुन् । उत्तरले जापान र दक्षिण कोरियालाई पनि पीर पर्ने भयो नि !

उत्तर कोरियाले जे भनेको थियो अहिले त्यो बिन्दुमा अमेरिका पनि आएको हो भनेर बुझ्नुपर्छ । अमेरिकी साम्राज्यवादसामु उत्तर कोरियाले घुँडा टेक्यो भनेर विश्लेषण गर्नु गलत र उल्टो हुन्छ । नत्र अमेरिकाले मानेकै थिएन नि ! अमेरिकालाई उनीहरूले हराएको हो कोरिया युद्धमा । अहिलेसम्म उत्तर कोरिया टिकैकै त्यही कारणले हो । उत्तरको अडानमा अमेरिका आएको हो ।

कोरियाली प्रायदीपबाट आणविक हतियार हटाउने कुरा उत्तरले भन्दै आएको हो । अमेरिकाले हाम्रा कुरा पनि सुनोस् भनेर उसले आणविक हतियार उत्पादन गर्‍यो ।

अहिले अमेरिकाले कोरियाली प्रायदीपका आणविक हतियार नष्ट गर्ने कुरा गरेको छ ।

उत्तरको आफ्नै पहिचान छ, क्युवाको पनि । अमेरिकासँग झगडा गर्छ भनेर मात्र होइन, आफ्नो मुलुकमा उत्पादका साधन उत्पादन गर्छ कि गर्दैन, योग्यता अनुसारको काम र काम अनुसारको ज्याला पायो कि पाएन ? यस्ता कुराहरू पनि हेर्नुपर्छ । महत्त्वपूर्ण कुरा त्यो व्यवस्थामा कुन वर्गको शासन छ, कुन वर्गको हितमा काम भइरहेको छ भन्ने हो । परराष्ट्र नीति फरक कुरा हो ।

उत्तर कोरियामा गरिबी र भोकमरी भएको भन्ने आरोप पनि पश्चिमा शक्तिले फैलाएको अफवाह मात्र हो । एउटा खान नपाउने देशले आणविक अस्त्रको विकास गर्न सक्दैन । १५ वर्षअगाडि नै त्यहाँ ३ लाखभन्दा बढी इञ्जिनियर थिए । डाक्टर र वैज्ञानिक त्यति नै थिए । क्युवाको कुरा गर्दा प्रति २२० जना मानिसमा एकजना डाक्टर छन् । त्यो हिसाबले हेर्ने हो भने विकसित देशको तुलनामा क्युवा आउँछ, स्वास्थ्यको दृष्टिले भन्दा । जबकि अमेरिकाले उनीहरूलाई घेरेको छ । कहिलेकाहीँ मेसिन ल्याउन पनि दिँदैन ।

विज्ञानको विकासको कुरामा उत्तर कोरिया कति अगाडि छ भन्ने कुरा त्यहाँ गएर मानिसले हेरेपछि थाहा हुन्छ । म ४ पटक त्यहाँ गएँ । किमको बुवा र हजुबुवालाई भेटें । यसअघि उत्तरमा समस्या भइरहेको थियो । कुनै पनि बेला युद्ध हुनसक्ने स्थिति थियो । युद्धबिरामको अर्थ शान्ति सम्झौता होइन ।

उत्तर कोरियामा गरिबी र भोकमरी भएको भन्ने आरोप पश्चिमा शक्तिले फैलाएको अफवाह मात्र हो । खान नपाउने देशले आणविक अस्त्रको विकास गर्नै सक्दैन ।

कुनैपनि बेलामा युद्ध हुने भएकोले तिनीहरू चौबीसै घण्टा अलर्ट रहन्छन् । युद्धका निम्ति सदा तयार रहनुपर्ने भएकोले उनीहरू आर्थिक रूपमा जति अघि जानुपर्ने हो, त्यति हुनसकेको छैन । शान्ति सम्झौता भइसकेपछि आर्थिक विकासमा धेरै अगाडि बढ्ने निश्चित छ ।

उनीहरूको जनसंख्या हाम्रो भन्दा कम छ । खनिजले हामीभन्दा धनी छन् । प्रविधि पनि त्यत्तिकै विकास भयो । त्यहाँ कपास उत्पादनका लागि हावापानीले दिँदैन । अहिलेसम्म लगाउने लुगा चुनढुंगाको लुगा हो । कोरियाली नेताको सुट सबै चुनढुंगाबाट बन्छ । त्यो बनाउने कारखानामा म दुईपटक गएको छु । नेपालमा पनि त्यस्तो सम्भावना छ । हामीसंग पनि चुनढुंगा छ ।

अमेरिका–उत्तर कोरिया वार्ताले नेपालसँगको सम्बन्धलाई झन फाइदा हुन्छ । नेपाल र उत्तर कोरियाबीच सांस्कृतिक सम्बन्ध जोड्नुपर्छ, त्यो अहिलेसम्म भएको छैन । विभिन्न देशका विद्यार्थीको आवतजावत छैन त्यहाँ । युद्धको स्थितिले त्यस्तो भएको हो । अब त्यो अलिकति खुकुलो भइसकेपछि मलाई लाग्छ नेपाल र उत्तर कोरियाबीच एउटा सांस्कृतिक सम्बन्ध बनाउने र विद्यार्थीहरू आदानप्रदान गर्ने गर्न सकियो भने नेपालले धेरै फाइदा पाउँथ्यो ।

पहिले त नेपाल र उत्तर कोरियाबीच रासायनिक मलको व्यापर हुन लागिसकेको थियो । त्यसबेला कृषिमन्त्री हुनुहुन्थ्यो ठूलो मैनाली (राधाकृष्ण मैनाली) । पछि उहाँले आफैं भाउ बढाउन भन्नुभयो ।

यसबारे मैले प्रधानमन्त्री मनमोहनजीसँग पनि कुरा गरेँ । उहाँले ध्यान दिन्छु त भन्नुभयो, तर केही भएन । मलका व्यापारीले चलखेल गरेर सरकारलाई गुमराहमा पारेको छ भन्ने थाहा पाउला भनेर त्यो बढाउन खोजेको थियो । मसंगै कुरा भएको थियो । पहिले हामीले खुबै आलोचना गर्‍यौं । यो के व्यापार हो ? १० रूपैयाँमा दिन्छु भनेको सामालाई १२ रुपैयाँ गरिदेउ भनेर कसैले भन्छ ? यो गलत छ । युद्धको सम्भावना घटेपछि नेपाल र उत्तर कोरियाबीच व्यापारमा पनि लाभ हुने सम्भावना छ ।

उत्तर कोरियाका नेताहरू नेपाललाई एसियाली मित्रको रूपमा महत्त्व दिन्थे । उनीहरू हामीभन्दा सानो देश हो । उनीहरूको प्रगति अचम्म लाग्दो छ । उनीहरूको हल भवन हेर्दा अचम्म लाग्छ । उनीहरूले व्यक्तिगत कुराभन्दा राष्ट्रिय हितमा ध्यान दिए । उनीहरूको प्रथमिक विद्यालयको हल नै कति ठूलो हुन्छ । म २०४९ सालमा पहिलोपटक उत्तर कोरिया गएको थिएँ ।

स्वास्थ्य क्षेत्रमा पनि उनीहरूको प्रगति राम्रो छ । त्यहाँ गएका बेला मेरो दाँत निकै दुख्यो । उहाँहरूले सिधै अस्पताल जानुस् भन्नुभयो ।

त्यहाँ कपास उत्पादनका लागि हावापानीले दिँदैन । अहिलेसम्म लगाउने लुगा चुनढुंगाको लुगा हो । कोरियाली नेताको सुट सबै चुनढुंगाबाट बन्छ । त्यो बनाउने कारखानामा म दुईपटक गएको छु ।

स्कूले विद्यार्थीहरूसँग मैले पिकनिकमा गएर कुराकानी गरेको छु । उनीहरू अधिकांशले कम्तिमा ८० प्रतिशत नम्बर ल्याउँछन् । कोही फेल हुँदैनन् । पहिलो, दोस्रो र तेस्रो केटीहरू हुन्छन् । यत्तिकै नम्बर दिएको हो कि भनेर मैले सरहरूलाई सोधेँ । तर त्यस्तो होइन रहेछ । केटाहरू धेरै खेल्ने र केटीहरू पढाइमा ध्यान दिने भएकाले पहिलो, दोस्रो, तेस्रो केटीहरू नै हुने रहेछन् ।

उनीहरू आफ्नै भाषामा पढ्छन् । त्यहाँका ३ लाख इञ्जिनियरबाट सिध्नुपर्ने कुरा धेरै छ ।

हाम्रो पार्टी ‘जुछे’ विचार मान्छ । जुछे भनेको मान्छे आफ्नै खुट्टामा उभिने हो । उनीहरू आफ्नै खुट्टामा उभिएकाले यति धेरै विकास गर्न सके । आफूहरूलाई अमेरिकाले कमजोर सम्झेको हुनाले आफ्नै हाइड्रोजन बम बनाएको भन्थे ।

सारमा भन्नुपर्दा अमेरिकासँगको वार्तापछि उत्तर बलियो भएको हो । बलियो भइसकेपछि उसले आर्थिक विकास गर्न थाल्छ । उत्तरले अहिलेको रक्षा खर्चको १ प्रतिशत मात्र घटउँदा पनि उनीहरूको जीवनस्तर दोब्बर माथि पुग्छ । हामी हरेक कुरा विदेशबाट किन्छौं, उनीहरू आफैँले बनाउँछन् ।

हामीले पनि हातहतियार स्वदेशमा बनाउन सके नेपालको जीवनस्तर माथि उठ्छ । अर्बौं रुपैयाँ बाहिरिनबाट रोकिन्छ । यसका लागि भारतमा राम्रो सरकार बन्नुपर्छ, अनि मात्र नेपालले आफैँ विकास गर्न पाउँछ ।

भारतमा प्रगतीशील सरकार बन्यो भने मात्र नेपाललाई फाइदा पुग्छ ।

(नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’सँग सुशील पन्तले गरेको कुराकानीमा आधारित)
 

जेठ ३०, २०७५ मा प्रकाशित

सुशील पन्त

लोकान्तरका समाचार संयोजक सुशील पन्त समसामयिक राजनीति र  संसदीय मामिलामा कलम चलाउँछन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार