सुर्खेतका डकर्मीलाई भुकम्प प्रतिरोधी घर बनाउने तालिम

जेठ ३०, २०७५

सुर्खेत, ३० जेठ – वीरेन्द्रनगर नगरपालिकाले नगरमा रहेका २८ जना डकर्मीलाई भुकम्प प्रतिरोधी घर बनाउने तालिम दिएपछि डकर्मीहरू खुशी भएका छन् ।

गत जेठ २४ गतेबाट सुरु भएको तालिममा सहभागी डकर्मी भीमप्रसाद पन्तले आफूहरूलाई नयाँ कुरा र प्रविधि सिक्ने अवसर मिलेको बताए । ‘तालिमले भवन निर्माणमा अपनाउनुपर्ने नयाँ प्रविधि सिक्नुका साथै दक्ष डकर्मी बन्न ठूलो सहयोग गरेको छ,’ उनले भने ।


तालिममा सहभागी अर्का डकर्मी सोमबहादुर खड्काले तालिम महत्वपूर्ण सिकाइ भएको भन्दै आगामी दिनमा थप नयाँ प्रविधि पनि सिक्न पाए थप राहात हुने बताए । वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको तालिममा ३ तलासम्म भवन निर्माणको तालिम दिइएको बताउँदै डकर्मी खड्काले ६ तलासम्म भवन निर्माणबारे तालिम दिइएको भए थप प्रभावकारी हुने बताए । 

७ दिनसम्म चलेको तालिममा इन्जिनियरहरू शोभाराम भट्टराई, सागर आचार्य, रविन्द्रप्रसाद बोहरा, जगदिश विष्ट र बालकृष्ण लम्सालले सहजीकरण गरेका थिए । भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको थियो ।

वीरेन्द्रनगर कर्णालीको राजधानी बनेको र शहरमा भूकम्प प्रतिरोधी भवन कम भएका कारण भूकम्पको जोखिम बढेको छ । जोखिम कम गर्न डकर्मीलाई तालिम दिइएको नगर प्रमुख देवकुमार सुवेदीले बताए । नगरलाई भूकम्प प्रतिरोधीयुक्त बनाउने योजना सफल पार्न अभियान सुरु गरिएको प्रमुख सुवेदीले बताए ।

जेठ ३०, २०७५ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार