उत्तर कोरियाली मिडियाको दाबी : ट्रम्पले प्रतिबन्ध हटाउन मञ्जूरी जनाए

जेठ ३०, २०७५

काठमाडौं, ३० जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सिंगापुरमा किम जोङ–उनलाई भेटेपछि प्रेस सम्मेलनमा उत्तर कोरियाले आफ्नो आणविक हतियार नष्ट गर्ने विश्वास दिलाएपछि मात्र उसमाथिको आर्थिक प्रतिबन्ध हट्ने प्रस्ट पारेका थिए । 

तर उत्तर कोरियाको मिडियाले अर्कै दाबी गरिरहेको छ । प्योङयाङको कोरियन सेन्ट्रल न्युज एजेन्सीले दाबी गरेअनुसार, ट्रम्प उत्तर कोरियाविरुद्धको प्रतिबन्ध हटाउन राजी भएका छन् र उनले देशलाई सुरक्षा दिने ग्यारेन्टी पनि गरेका छन् । 

केसीएनएको रिपोर्टमा बताइएअनुसार, किम जोङ–उनले ह्वाइट हाउस आउने ट्रम्पको निम्तो पनि स्वीकारिसकेका छन् । 

तर यो दाबीको पुष्टि भइसकेको छैन र ह्वाइट हाउसले यसमा कुनै बयान दिएको छैन । 

मंगलवार ट्रम्पले दक्षिण कोरियासँगको युद्धाभ्यास अन्त्य गरिने बताएपनि उत्तरमाथि दबाबका लागि प्रतिबन्ध जारी रहने बताएका थिए । 

ट्रम्पले सिंगापुर वार्तापछिका ट्वीटमा पनि प्रतिबन्धका विषयमा केही लेखेका छैनन् ।

एजेन्सी
 

जेठ ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस