नेपाल–भारतका सेनाले भारतको पिथौरागढमा गरे संयुक्त अभ्यास

जेठ ३०, २०७५

काठमाडौं, ३० जेठ – नेपाल र भारतका सेनाले भारतको पिथौरागढमा संयुक्त रुपमा ‘अभ्यास सूर्यकिरण—१३’ तालिम गरेका छन् ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेषित गरेको जानकारी अनुसार तालिममा प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धी विषय समावेश थिए । जेठ १६ गतेदेखि शुरू भएर २९ गतेसम्म चलेको तालिममा नेपाल र भारतका ३–३ सय सैनिकको सहभागिता रहेको थियो । २०६७ सालदेखि संयुक्त अभ्यास शुरू गरेका दुबै देशका सेनाले १–१ वर्षको अन्तरमा तालिम सञ्चालन गर्ने गरेका छन् ।


ADVERTISEMENT

अभ्यासमा नेपाली सेनाको तर्फबाट गोरख बक्स गणका प्रमुख सेनानी तिलकबहादुर थापा क्षेत्रीको कमाण्डमा १ सेक्सन महिलासहित ३ सय फौज र भारतीय सेनाको तर्फबाट १३ जम्मु–कस्मिर राइफल्सका महासेनानी निपुन कृष्णनको कमाण्डमा ३ सय फौज सहभागी भएका थिए । नेपाली सेनाको तर्फबाट संयुक्त अभ्यासको पर्यवेक्षक मध्यपश्चिम पृतनापति उपरथी राजेन्द्र कार्की र भारतीय सेनाको तर्फबाट उत्तर भारत एरिया हेडक्वाटर्सका चिफ अफ स्टाफ उपरथी निरज बर्माले संयुक्त रुपमा समापन गरेका थिए ।

अभ्यासमा नेपाली सेना र भारतीय सेनाबीच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदानप्रदान भएको थियो । २ देशका सेनाबीच सम्पन्न सैनिक अभ्यासले सदियौंदेखि कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने र द्विपक्षीय समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ । 

जेठ ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस