दुग्ध विकास बोर्ड विधेयक पारित

जेठ ३०, २०७५

पोखरा, ३० जेठ - प्रदेश नं ४ को आज बसेको बैठकले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सभासमक्ष जेठ २१ गते प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल पछि आज पारित गरिएको हो । 


ADVERTISEMENT

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले घाँसमा आधारित दाना र प्राङ्गारिक मलमा आधारित कृषि उत्पादनमा जोड दिइने उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूधको आवश्यकता पर्छ र त्यसका आधारमा प्रदेश नं ४ मात्र दैनिक छ लाख लिटर दूध आवश्यक हुन्छ । 

त्यसअघि प्रदेशसभा सदस्य प्रभा कोइराला, विष्णुप्रसाद लामिछाने, दिलमाया रोकाहामगर, पियारी थापा, हरिशरण आचार्य र दोवाटे विश्वकर्माले छलफलमा भाग लिँदै सरल तरिकाबाट ऋण प्रवाह, बजारीकरण एवं अनुदानको व्यवस्था गरी युवा शक्तिलाई कृषिप्रति आकर्षण बढाउनु पर्नेमा जोड दिनुभएको थियो । 
 

जेठ ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस