गुड्दै गरेको अटोरिक्सामा आगो लाग्यो

जेठ ३१, २०७५

गौशाला, ३१ जेठ- महोत्तरी जिल्लाको गौशाला नगरपालिका क्षेत्रमा बुधबार साँझ गुड्दागुड्दै एउटा अटोरिक्सामा आगलागी हुँदा चार लाख रुपैयाँ भन्दा बढी मुल्य बराबरको क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार बुधबार अबेर साँझ गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ गाउँको हनुमानचोक नजिकै पूर्व पश्चिम राजमार्गबाट दक्षिणतर्फ आउँदै गरेको एउटा अटोरिक्सा गुड्दागुड्दै अचानक आफैँ आगलागी भएको थियो । 

अटोरिक्सामा मेशिनको गडबडी भएर गुडिरहेकै अवस्थामा आफैं आगलागी भएको र आगलागीबाट सो अटोरिक्सा पूर्ण जलेर रु चार लाख ४५ हजार मूल्यको क्षति भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । 

सो अटोरिक्सामा आगलागी हुँदा त्यसमा सवार चालकसहित सबै यात्रु हतारहतार ओर्लिन सफल भएका र एकछिनमै हेर्दाहेर्दै पूरै अटोरिक्सा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । 


जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस