नेकपाका भ्रातृ संगठनहरूको एकता प्रक्रिया– नेतृत्वका आकांक्षी धेरै भएपछि समस्या

काठमाडौं, ३१ जेठ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ संगठनले एकीकरण प्रक्रिया शुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक महिना हुँनै लाग्दा भ्रातृ संस्थाको एकताको प्रक्रिया शुरु भएको हो । 

तत्कालीन नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय रहेको कोटेश्वर पेरिसडाँडामा बिहीवार तत्कालीन एमालेको भातृ संगठन युवा संघ र माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग –वाइसीएल)को संयुक्त बैठक बसेको छ । 

बिहीवार नै तत्कालीन नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको बैठक पनि कोटेश्वरमा बसेको छ । एकताका लागि शुक्रवार प्रेस सेण्टरको बैठक पनि बस्दैछ । 

प्रेस चौतारीको केन्द्रीय समिति बैठकमा नेकपाका स्थायी समिति सदस्यद्वय योगेश भट्टराई, पम्फा भुसाल तथा केन्द्रीय सदस्यद्वय विष्णु रिजाल र महेश्वर दाहाल सहभागी थिए । 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले जेठ ३ गते पार्टी एकता घोषणा गरेका थिए । सोही दिनलाई आधार मानेर तीन महिना भित्र भातृ संस्थाको एकता गरिसक्ने निर्णय नेकपाले गरेको थियो । 

२२ संगठन मिलाउन कार्यदल

पार्टी एकतासँगै नेकपाले भ्रातृ संस्थाहरु मिलाउन २२ वटा कार्यदल गठन गरेको छ । 

कार्यदललाई एकीकृत संगठनको विधान मस्यौदा, महाधिवेशन आयोजक समिति गठन, पदाधिकारी र सदस्यहरुको नाम छनोटका लागि अधिकार दिइएको छ । 

विद्यार्थी संगठनको एकताका लागि पर्यटन मन्त्री समेत रहेका केन्दीय सदस्य रवीन्द्र अधिकारीको संयोजकत्वमा हितमान शाक्य, नविना लामा र रञ्जित तामाङ सदस्य रहेको कार्यद बनेको छ । 
युवाको कार्यदलमा मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र रामप्रसाद सापकोटा सदस्य छन् । 

मजदुर संगठन मिलाउन विष्णु रिमालको संयोजकत्वमा जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी सदस्य छन् । श्रेष्ठ जिफण्टका अध्यक्ष समेत हुन् । 

त्यस्तै महिला, मुस्लिम, बुद्धिजीवी, जनजाती, दलित, खेलकुद, उद्योगी, इन्जिनियरलगायत विभिन्न संगठनको एकताको लागि कार्यदल गठन भएको हो । यी संगठनको नाम, नेतृत्व चयनका लागि कार्यदलहरुको बैठक बसिरहेको छ । 

आकांक्षी धेरै

दुई पार्टीका भ्रातृ संगठनका केन्द्रीय समितिहरु ठूला भएका कारण एकता प्रकृया झन्झटीलो हुने देखिएको छ ।

भ्रातृ संगठनहरुलाई छरितो बनाउनु पर्ने भएका कारण भ्रातृ संगठनका धेरै नेता एकता प्रकृयामा छुट्ने निश्चित छ । दुई वटा संगठनहरु मिलाउने क्रममा नाम र नेतृत्वमा विवाद हुने देखिएपछि कमिटि बनाउँदा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउनुपर्ने म्यान्डेट कार्यदललाई छ । 

नमिले नेतृत्वले मिलाउने

कार्यदललाई संगठनको नाम, नेतृत्व र संख्या लगायतमा विवाद मिलाउने अधिकार दिइएको छ । यद्दपी भ्रातृ संगठनहरुको एकता प्रकृयामा विवाद भए पार्टीको केन्द्रीय सचिवालयले विवाद मिलाउने छ । धेरै विवाद देखिएको संगठनको विवाद समाधान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस