कांग्रेसको माग– सभामुख र उपसभामुखको निर्वाचन पुनः होस्

जेठ ३१, २०७५

काठमाडौं, ३१ जेठ –नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको पुनः निर्वाचन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा कांग्रेस नेतृ उमा रेग्मीले सभामुख र उपसभामुखको पुनः निर्वाचन गर्न माग गरेकी हुन् । 


ADVERTISEMENT

बिहीवार प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेसका बालकृष्ण खाँणले पनि सभामुख र उपसभामुख एउटै दलको हुन नहुने धारणा राखेका थिए ।

सोही विषयलाई लिएर सदनमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको थियो । कांग्रेसले संसदमा लगातार यो बिषय उठाउँदै आएको छ ।

‘संविधानको धारा ९१ को उपधारा २ मा सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र एउटै दलबाट हुन नहुने व्यवस्था स्पष्ट छ । माओवादी र एमाले पार्टी एकीकरण भएर नेकपा बनिसकेको छ । उहाँहरु दुवैजना पार्टीबाटै निर्वाचित भएर जानुभएको हो,’ प्रतिनिधिसभा बैठकको शून्य समयमा रेग्मीले भनिन्, ‘तर यो संविधानको पालना कसले गर्ने हो ? संविधानको पालना गरिएको छैन । हिजो असाध्यै अनुभवी माननीयबाट पनि पार्टी छाडिसक्नुभयो भन्ने कुरा आयो ।  सभामुख, उपसभामुख बन्दा पार्टीको प्रक्रियाबाट आउनुहुन्छ । पदावधी सकिएपछि पार्टीकै कार्यकर्ता भएर जानुहुन्छ ।’

यसअघि बिहीवारको बैठकमा एमालेका खगराज अधिकारीले सभामुख र उपसभामुख दुवैले पार्टी परित्याग गरिसकेको भन्दै एउटै पार्टीको भन्न नमिल्ने तर्क गरेका थिए ।

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार