नेपाल–भारत सीमामा गोली चल्यो, घाइते भारतीय नेताको धरानमा उपचार हुँदै

जेठ ३१, २०७५

विराटनगर ३१ जेठ – नेपाल–भारत सीमा क्षेत्रभन्दा सय मिटर भारतीय भूमिमा जनता दल युनाइटेड (जेडीयू) का नेता पप्पु पटेलमाथि गोली प्रहार भएको छ ।

भारतको जोगबनीमा आज दिउँसो पटेलमाथि गोली प्रहार भएको हो । रानी भन्सारदेखि करीब १ सय मिटर टाढा टिकुलिया वस्तीमा अज्ञात समूहले जनता दल युनाइटेडका नेता पप्पु पटेलमाथि गोली प्रहार गरेको हो । मोटरसाइकलमा हिँडिरहेको बेला पछाडिबाट ३ राउण्ड गोली प्रहार गरिएको भारतीय प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

गोली लागेको पप्पुलाई तत्काल विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको लागि ल्याइएको थियो । गम्भीर घाइते पटेललाई नर्सिङ होममा उपचार हुन नसकेपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । घटना भारतमा भएका कारण थप जानकारी नभएको प्रहरी जनाएको छ ।

उता, घटनास्थलबाट भारतीय प्रहरीले पेस्तोलमा प्रयोग भएका गोली बरामद गरेको फार्बिसगञ्जका एसडीपीओ मनोज कुमारले जानकारी दिए । पटेललाई गोली प्रहार गर्ने अज्ञात समूह नेपालतर्फ नै भागेको हुन सक्ने भारतीय प्रहरीको अनुमान छ ।

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस