७ नम्बर प्रदेशमा भोलि २५ अर्बको बजेट आउने

जेठ ३१, २०७५

धनगढी, ३१ जेठ – ७ नम्बर प्रदेशको लागि आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि करीब २५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेट भाषणको पूर्वसन्ध्यामा आज धनगढीमा पत्रकार सम्मलेन गरी बजेटको अनुमानित आकार सार्वजनिक गरेका हुन् । ‘संघीय सरकारको २१ अर्ब १ करोड रुपैयाँ बजेट रहेको छ । त्यसमा प्रदेशको आन्तरिक स्रोतबाट हुने गरी २४/२५ अर्बको बजेट ल्याउने तयारी गरेको छु ।’


ADVERTISEMENT

कृषिमा स्वाधिनताको लागि कृषि अनुदानमा बृद्धि, भौतिक पूर्वाधारको विकास, स्वरोजगारलाई प्राथमिकतामा राखी बजेट ल्याइरहेको मन्त्री बोहराले बताए । बजेट शतप्रतिशत कार्यान्वयन हुने दावी गर्दै उनले बजेट महत्वाकांक्षी नभई यथार्थपरक हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, उनले आउँदो आर्थिक वर्षमा करको दायरा बढाएको बताए । ‘करको दायरा प्रगतिशील हुनेछ । करको दायराले कसैलाई दबाब या अप्ठ्यारोमा पारिएको छैन,’ उनले अगाडि थपे । आउने बजेट प्रदेशको गरीबी निवारणमा कोशेढुंगा सावित हुने दावी गर्दै उनले आर्थिक रुपमा विपन्न दलित, जनजाति, वादी, मुक्त कमैया, हलिया लगायतलाई लक्षित गरेर पनि बजेट ल्याइरहेको बताए ।

जेठ ३१, २०७५ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस