घरेलु हिंसा न्यूनिकरण गर्न मदिरा नियन्त्रण गर्दै चामुण्डा विन्द्रासैनी नगरपालिका

जेठ ३१, २०७५

सुर्खेत, ३१ जेठ – घरेलु मदिराले घरेलु हिंसा बढाएको बताउँदै दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाले नियन्त्रण गर्ने भएको छ ।

नगर कार्यपालिकाका बैठकले घरेलु मदिरा नियन्त्रण गर्ने निर्णय गरेको हो । नगरपालिकामा समृद्धिको यात्रा तय गर्दै शान्ति कायम गर्ने उद्देश्यले अवैध घरेलु मदिरा नियन्त्रण गर्नका लागिएको नगर प्रमुख सुर्यबहादुर शाहीले जानकारी दिए । ‘समाजमा हुने अधिकांश घटना अवैध मदिराकै कारणले हुन्छन्,’ उनले भने, ‘अवैध मदिराको कारोबार पूर्णरुपमा रोक्न अभियान सञ्चालन गर्न लागेका छौं ।’


घरेलु उत्पादित मदिरादेखि अवैध अन्य मदिराको कारोबार गर्नेलाई शुरूमा चेतावनी दिइने र अटेर गरे कानून बमोजिम कारवाही गरिने नगर प्रमुख शाहीले लोकान्तरलाई बताए । ‘नगरपालिकाभित्र पनि अवैध मदिराको कारोबार अत्याधिक भएकाले ७ दिने सूचना गरिसकेका छौं,’ उनले भने, ‘अझै अटेर गरे छापा मार्ने तयारी छ ।’

समाजमा अवैध मदिरा सेवन गरी होहल्ला गर्ने, झैंझगडा गर्ने लगायतका विकृति भइरहेकाले मदिरा नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने उनले बताए । नगरपालिका र प्रहरीले मात्रै मदिरा नियन्त्रण गर्न नसकिने भएकाले नागरिकको सहयोगको खाँचो पर्ने उनको भनाइ छ । 

नगर उपप्रमुख ताराकुमारी शाही खत्रीले अवैध घरेलु मदिराकै कारण महिला घरेलु हिंसाको शिकार हुने गरेको बताइन् । न्यायिक समितिमा आएका मुद्दाको अनुसन्धान गर्दा अधिकांश मुद्दा मदिराकै कारणले हुने गरेको उनले जानकारी दिइन् ।

जेठ ३१, २०७५ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस