संविधान संशोधन विधि र प्रक्रियामा हुन्छ, तत्कालै हुनुपर्यो भनेर हुँदैन : उपप्रधानमन्त्री पोखरेल

जेठ ३१, २०७५

विराटनगर ३१ जेठ – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताएका छन् ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा सरकार सञ्चालनमा दुर्भाग्य शिलशिला व्यहोेरेकाले अबको सरकारले सरकार रहेको अनुभूति हुने गरी काम गर्ने बताए । ‘सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई पूर्णरुपमा सफल बनाइने छ,’ उनले भने । दुईतिहाई बहुमतको सरकारले मुलुकमा लोकतन्त्र, आर्थिक विकास र समृद्धिका निम्ति इमान्दारीपूर्वक काम गर्ने उनले बताए । ‘सरकारसँग बोलेका कुरा पूरा गराउन चुनौति पनि छ,’ उनले भने ।


उपप्रधानमन्त्री पोखरेलले संविधान संशोधनीय दस्तावेज भएकाले संसदीय अभ्यास र औचित्यको आधारमा संशोधन हुने बताए । ‘विधि र प्रक्रियामा गएर संविधान संशोधन हुन सक्ने भएपनि तत्कालै संविधान संशोधन हुनुपर्यो भनेर हुँदैन,’ उनले भने, ‘संसदीय अभ्यास र औचित्यका आधारमा संशोधन हुन सक्छ ।’ 

सरकारले भविष्यमा हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणको लागि तयारी तीब्र पारेको उनले बताए । तराईमा आउने बाढी र पहाडको पहिरोका कारण हुने जनधनको क्षति रोक्न सरकार पूर्णरुपमा तयारी अवस्थामा रहेको उनको दावी छ । उपप्रधानमन्त्री पोखरेलले विपद् व्यवस्थापन गर्न सरकारसँग उपलब्ध सबै स्रोत परिचालन गर्ने कुरामा जोड दिए । सरकारले अनुचित कार्य गर्नेलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी उनले दिए ।

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार