कथा : सान्नानीका सपना

असार २, २०७५

दिपक अभिमन्यू

उनलाई हेर्न र उनीसंग गफ्फिन मात्रै भए नि उनको चिया पसलमा पुग्थे राम प्रसाद ।  

"साहुनी .... चिया खाम न" प्रत्येक दिनको सूर्योदयको पहिलो झुल्कोसँगै उनी सान्नानीको चिया पसलमा हाजिर भईहाल्थे।

उनलाई साहुनीका खिल्खिलाएका र बेला बखत छिल्लीदै बोलेका ति रमाईला र काउकुति लाउने शब्दहरु श्रवण गर्ने आदत बसेको थियो  । अझ भनुँ राम प्रसादलाई सान्नानीका बोलीचाली हँसाई व्यवहार अम्मल बनेको थियो। उनका कानमा हरक्षण प्रतिध्वनित भइरहन्थे सान्नानीका मिठा छिल्लिएका र काउकुति लाउने स्वरहरु।

साहुनीको हातै मिठो राम प्रसादले चियाको चुस्को लाउँदै भन्दा 'कत्ति न हातै चाट्या जस्तो हेरन राम दाई पनि' भनेर मसक्क मस्किदा पसलमा चिया खाँदै गरेका अरुहरु समेत भुतुक्क हुन्थे, राम प्रसाद त झन नहुने कुरै भएन। साहुनी चियामा चिनीको साटो अलिकति मुस्कान मिसाईदिए कति मिठो हुन्थ्यो होला हँ ? पसल भित्र पसेर चिया खाम न साहुनी भन्दै यूवकहरु नि ठट्टा गर्न भ्याईहाल्थे।

'साहुनी' भन्नेबित्तिकै कहिले उनी आफैँ"कति कप चिया"भन्न पुग्छिन् भने कहिलेकाहीँ "साहुनीले बनाएको चिया कति मीठो"भनिदिँदा फुरुक्क पर्छिन् । उनी दूध र चिनीको मिश्रणबाट मीठो चिया बनाउँछिन् तर उनको आफ्नो जीवन भने सायद त्यति स्वादिलो छैन उनले बनाएको चिया जस्तो ।

पतिले अर्की ल्याएपछि आफ्नो अंशभागको सम्पत्ति बेचेर माइतीको आडमा चियापसल राख्न पुगेकी सान्नानीको चिया पसल भनेपछि प्रख्यात भएको छ। थाहा छैन उनको पसलको चिया मिठो हो कि उनको उन्मत्त वैशालु मुस्कान । या उनका छिल्लिएका हावभाव कटाक्षयुक्त कुराकानी जसले मान्छेहरुलाई एकैछिन भएपनि सारा तनाव बिर्साएर उनीसंग बाधेर राख्थ्यो चिया पसलमा।

उनको चिया पसल छेउछाउमा रहेका सरकारी गैरसरकारी कार्यालयहरू बैक तथा कलेजहरुमा पनि उनको चिया पसल चर्चामा थियो।यहि पसलको आम्दानीले छोरीलाई बोर्डिङ्ग स्कूलमा पढाउछिन र छोरालाई मोन्टेश्वरीमा राखेकी छिन्।उनलाई असाध्यै रहर छ छोरालाई ठुलो मान्छे बनाउने।

त्यसैले उनले आफ्नो वैंसलाई बन्धक राखेर लाउने खाने मोजमस्ती गर्ने रहरलाई छोराछोरीको भविष्यसँग साटेकी छिन्। उनको जीवनको एउटै लक्ष्य नै छोरी र छोरालाई पढाएर ठूलो मान्छे बनाउने छ। तर उनलाई थाहा छैन ठूलो मान्छे कसरी बन्दछ ।

कलेज बैंक अनि सरकारी गैरसरकारी कार्यालयका हाकिमहरू पसलमा आएर चिया खाँदा उनी आफ्नो छोरा र छोरीको प्रतिविम्ब तिनमा देख्छिन् । उनको बालापनदेखि लोग्ने तथा तिनका परिवारले दिएका चरम यातनाले पराकाष्ठ नाघेपछि उनले नरपिचास पतिसंग अलग हुने निर्णय गरेकि थिईन्।

अतितका तिता भोगाईहरुले उनलाई जीवनसाथीका नाममा कलङ्क पतिसंग अलग हुन प्रेरित गर्यो र लोग्नेसंग कुनै अंशभाग सम्पत्ति नलिई साथमा छोरी र छोरामात्र लिएर तिनको भविश्य उज्यालो बनाउने एक असल संस्कार दिने उद्देश्यले छोराछोरीको जिम्मा समेत आफैले लिई शहर पसेकी सान्नानीको दैनिकी चिया नास्ता बनाउँदै ग्राहकलाई सन्तुष्ट पार्दै बित्छ।

चिया खान आउदाजाँदा रामप्रसादलाई थाहै नपाई दिल दिएकि उनलाई पनि राम प्रसादले आफ्नो जीवनको खुशी र मुटुको ढुकढुकीका रुपमा स्विकारेको थियो।तर पनि दुनियाँ सामु उनीहरु एक अर्काका अघोषित पतिपत्नी भएपनि खुलेर दुनियाँलाई देखाउन चाहादैनथे।उनीहरु छोराछोरीका आँखामा र समाजका आखामा गिर्न चाहादैनथे।

सान्ननीको र रामप्रसादको सम्बन्ध पनि अनौठो थियो।कुनै एकलाई केहि हुन्नथ्यो अर्को लाई डाहा छटपटिहुन्थ्यो।एक दिन दुइ दिन गर्दै पर्खाइको धैर्यले सीमा नाघ्यो । पीडा गुम्सेर शून्य कोठामा छरिन थाले।उनको हातको मीठो चिया मात्र अतीतमा सीमित रह्यो। उनी जिउँदो लासझैँ भइन् । उनको सोचाइ विपरीत उनका छोरीहरूले चिया पसललाई यथावत् राखे।

उनी अर्कै संसारमा पुगिसकेकी थिइन्।उनका आँखा एकटक लगाएर दैलोमा बिहान देखि बिछ्याइएका हुन्थे।कहिलेकाहीं उनलाई लाग्थ्यो साँच्चै उनको छोरा हाकिम भएर पो आयो कि उनलाई यस्तै भान परेको उनको व्यवहारले देखाउँथ्यो चिया खान आउनेहरुलाई ।

अनि सबै कोठा गएर हेर्थिन् । तर यो सब उनको कल्पनाको दृश्य यथार्थमा प्रतिविम्व भएको नाटक मात्र थियो । धेरैले यथार्थ अवगत गराउन खोजेता पनि उनी सहमत हुन सक्दिन थिइन् । उनको आफ्नै सोचाई थियो आफ्नै समय थियो । त्यसमा कसैले हस्तक्षेप गर्न सक्दैनथ्यो ।

रेडियोमा मुरलीधर मिझारको सपना सबै उडायो हुरीले भन्ने गीत बजिरहेको थियो उनी टोलाएर त्यो गीतमा डुबीरहेकि थिइन्।उनी सोच्दै थिइन्-उनको जीवन मात्र कल्पनामा दिन रातमा परिणत हुनु र रात दिनमा परिणत हुनुसम्म सीमित रह्यो,उनको सपना केवल सपनामै सिमीत रह्यो,निद टुट्दा बिहानीसंगै टुट्ने।

असार २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस