ट्रक–बस साहित्य : ‘आजकलका सीताहरू घरमै रावण बोलाउँछन् !’

असार २, २०७५

काठमाडौं, २ असार – ‘हाम्रो कथा गाउँलेलाई के थाहा ? गाउँलेको कथा हामीलाई के थाहा ? आजकालका सीताहरू दिउँसै रावणलाई घरमा बोलाउँछन् । विचरा कतारमा बस्ने रामलाई के थाहा ?’

काठमाडौं–भक्तपुर रुटमा चल्ने बा३ख ७०५५ नम्बरको बसको पछाडि लेखिएको मुक्तकको धेरै अर्थ लगाउन सकिन्छ । मुख्यतः यसले वैदेशिक रोजगारीका कारण बदलिएको गाउँको चित्रण गर्छ ।


ADVERTISEMENT

वैदेशिक रोजगारीमा गएका कतिपय युवाका पत्नीहरू परपुरुषसँग हिँडेका समाचार आइरहेका छन् । बसको पछाडि लेखिएको साहित्यले नारीलाई होच्याउने काम त भएको छ । तर, समाजको तस्वीर झक्लिएको छ ।
बस र ट्रकमा लेखिने साहित्य र पोखिने भावनाले साहित्य सिर्जनामा महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । ट्रक साहित्यलाई आधार बनाएर चर्चित गीत गजल पनि बनेका हुन्छन् । 

‘लोग्ने हिँड्यो साउदीका खाडीमा, स्वास्नी हिँडी अर्कैको गाडीमा ! 
फल्या निमपत्ता, ३ सालमा फर्किंदा बुढी बेपत्ता !!’

लु२च २३२२ नम्बरको गाडीमा लेखिएको यो भावना पनि वैदेशिक रोजगारीमा गएका युवाको पीडा लेखिएको छ । यसमा पनि महिलालाई अपमान गरिएको देखिन्छ ।

जीवन दर्शनको कुरा

पछिल्ला वर्ष शहरी क्षेत्रमा हुने धेरै दुर्घटना टिप्परको ठक्करबाट हुने गरेको छ । टिपरको ठक्करबाट दर्जनौंको मृत्यु भएको छ । बुधबार मात्र काठमाडौंको जडिबुटीमा टिप्परको ठक्करबाट स्कूटर चालिकाको मृत्यु भयो । सडकमा उनीहरूको दादागिरीले अन्य चालक हैरानीमा परेका छन् ।

तर, त्यही टिप्परमा जीवन मृत्यु सम्बन्धी एउटा शास्त्रको श्लोक लेखिएको छ । ‘ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ।।’
जसको अर्थ हुन्छ– ‘३ वटा आँखा भएका भगवान् शिवको हामी पूजा गर्छौं । समृद्ध जीवनसँग जोडिएको मृत्युबाट उहाँले हामीलाई मुक्ति दिनुहोस् र अमरत्व प्रदान गर्नुहोस्, जसरी भरणपोषण गर्ने खरबुजा लहरोबाट छुट्टिन्छ ।’

‘खरानी मुछेर दरबार हुँदैन, टिनको पाताको तरबार हुँदैन !
एउटा कुरा याद राख केटा हो, फेसबुकमा लभ गरेर घरबार हुँदैन !!’

सामाजिक सञ्जालका कारण बढ्दो प्रेम सम्बन्धलाई साहित्यमार्फत् व्यङ्ग्य गरिएको छ ।

माया प्रितिका बिरह

‘आत्मा सबैको हुन्छ, धोका पाए जो पनि रुन्छ !
बुझ्नेले मात्र बुझेको हुन्छ, आशुको मोल कति हुन्छ !’

वानेश्वर–लगनखेल रुटमा चल्ने टेम्पोभित्र लेखिएको भावना हो, जहाँ आँशुको मोलको कुरा गरिएको छ । ट्रक ड्राइभरको विषयमा त नेपालमा चलचित्र नै बनेको छ । गाडीका पछाडि लेखिएका अधिकांश भावना महिलासँग जोडिएका हुन्छन् । कतै रोदन त कतै वेदना र पीडा ।

‘बेस्सरी बोल्दैमा कराएको हुँदैन
१–२ दिन नदेख्दैमा हराएको हुँदैन, 

बानी छ सबैसँग हाँसेर बोल्ने, 
हाँसेर बोल्दैमा मन पराएको हुँदैन !’

काठमाडौंको चक्रपथमा चल्ने बसमा लेखिएको छ । तर, नेपाली ट्रक साहित्य सुदृढभन्दा विकृत धेरै छ । साहित्यकार दामोदर पुडाशैनी भन्छन्, ‘ट्रक साहित्य पुस्तकभन्दा महत्वपूर्ण छ । तर, यसले समाज परिवर्तनको उद्देश्य बोकेको हुनुपर्छ ।’

अहिलेको ट्रक साहित्यले क्षणिक रमाइलोका लागि उत्पीडित वर्ग तथा खासगरी महिलालाई हेपेकोमा उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘साहित्य जहाँ–जहाँ भएपनि आफ्नै महत्व हुन्छ । गतिशील बाहन, एक ठाउँमा बस्दैन । त्यसकारण यो निकै महत्वपूर्ण मानिन्छ । यसमा समाज सुधार, समाज परिवर्तनका कुरा लेखिनुपर्छ । विज्ञानसम्मत् उद्दरण (कसैको भनाइ) लेखिनुपर्छ । तर, अहिले महिलालाई हेपेर लेखिन्छ । यो निकै दुःखद छ ।’

‘माथि–माथि डाँडाकाँडा तल–तल खोंच ! गाउँका केटी पोइल जान्छन् मै ड्राइभरलाई दोष !!’ ट्रक साहित्यको उदाहरण दिँदै पुडाशैनी भन्छन्, ‘केटी मान्छेलाई यौनसँग मात्रै तुलना गर्ने गरिन्छ ।’ समाजमा रहेको पुरुषवादी सोचको विकृत रुप हो यो । महिलालाई उपहास गरेर आफू रमाइलो गर्ने प्रवृत्ति अब बदलिनुपर्छ । राजनैतिक, साहित्यिक र सामाजिक रुपमा जनचेतना दिइनुपर्छ ।

असार २, २०७५ मा प्रकाशित

मनीषा अवस्थी

मनीषा अवस्थी लोकान्तर डट् कमका लागि आर्थिक विषयमा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस