अग्निपरीक्षामा ओलीको चीन यात्रा–२ : होला सी चिनफिङको नेपाल भ्रमण ?

असार ५, २०७५

चीनको ६ दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार बेइजिङ प्रस्थान गर्नुभएको छ । पहिलोपल्ट प्रधानमन्त्री हुँदा ओलीले गरेको चीन भ्रमण जति चर्चा र परिचर्चाको विषय बनेको थियो, अहिले त्यस्तो स्थिति देखिएको छैन । राजनीतिक वृत्त र सचेत नागरिकहरूमा ओलीको यो भ्रमण छलफल र मूल्यांकनको विषय बने पनि आम जनताबीच त्यति चासोको विषय बनेको छैन । 

नेपाली प्रधानमन्त्रीको चीन भ्रमण मुलुकको राजनीति द्वन्द्वबाट गुज्रिएको अवस्थामा वा नेपाल–भारत सम्बन्ध बिग्रिएको बेला बढी चर्चित हुने गरेको विगतको इतिहास छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतले गरेको पहिलो चीन भ्रमणताका भारतीय नाकाबन्दीले नेपालमा असामान्य स्थिति खडा गरेको थियो । त्यतिबेला प्रधानमन्त्री ओलीको चीन भ्रमण चर्चित हुनु स्वाभाविक थियो । 

मुलुकको राजनीतिक स्थिति स्थिर हुँदै जानु र नेपाल–चीनबीचको सम्बन्ध समस्यारहित हुनुले पनि बढी चर्चा नपाएको हुन सक्दछ । प्रधानमन्त्री ओलीको यो भ्रमण कम चर्चित रहे पनि यसले नेपाल चीन सम्बन्धमा मात्र होइन नेपाली राजनीतिमा, मुलुकको समृद्धि र विकासमा पनि दूरगामी प्रभाव पार्ने निश्चित छ ।

नेपाली राजनीति लामो समयदेखि अस्थिरता, अराजकता र तरलताबाट गुज्रिँदै आएको छ । जतिबेला नेपाली राजनीति अस्थिर रह्यो, त्यतिबेला नेपाल–चीन सम्बन्ध पनि उतारचढावमा नै रह्यो । चीनको अहित हुने गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिने नीति प्रायः सबै नेपाल सरकारले वचनमा प्रतिबद्धता देखाएतापनि व्यवहारमा लागू नगर्ने र चिनियाँ सरकारले पनि असल छिमेकी नेपाललाई भने पनि भित्री रूपमा विश्वास नगर्ने स्थितिबाट नेपाल–चीन सम्बन्ध गुज्रिँदै आएको छ । यो स्थितिमा नेपालले चीनसँगको मैत्रीपूर्ण सम्बन्धबाट खास लाभ हासिल गर्न सकेन । 

नयाँ संविधान जारी र वामपन्थी गठबन्धनको बहुमतीय सरकार बनेपछि नेपाली राजनीति स्थिर हुँदै गएको छ । अब नेपाल–चीन सम्बन्धलाई हार्दिकतापूर्ण र परिणाममुखी बनाउने पूर्वाधार तयार भएको छ । यस परिस्थितिलाई प्रधानमन्त्री ओलीले सदुपयोग गर्न सकेमा नेपाल–चीन सम्बन्धले नयाँ गति र उचाइ लिने पर्याप्त सम्भावनाहरू छन् । 

राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि छिमेकी र अन्य मित्रराष्ट्रहरूसँग नेपालले राष्ट्रिय हितमा आधारित स्पष्ट विदेशनीति बनाउन सकेको छैन । अहिले विदेशनीति तत्कालीन परिस्थितिका आधारमा निर्धारण हुँदै आएको छ । “अड्को पड्को तेलको धुप” जस्तो विदेश नीतिले न त राष्ट्रिय हितको संरक्षण गर्दछ, न त मित्रराष्ट्रहरूसँगको सम्बन्ध नै सुमधुर र विश्वसनीय हुन सक्दछ । परिवर्तित राजनीतिक धरातलको जगमा नेपालले दूरगामी र प्रभावकारी विदेशनीति निर्धारण गर्न विलम्ब हुँदै गएको छ । 

भारतको मुख हेरेर वा उसको इशाराअनुसार बनाइने चीननीतिले चिनियाँ विश्वास जित्न सकिँदैन । नेपालले आफ्नो राष्ट्रिय हितका आधारमा तय गर्ने चीननीतिले मात्र नेपाल–चीन सम्बन्धलाई नयाँ गति र दिशा दिनेछ ।

नेपालले विदेशनीति निर्धारण गर्दा दुई छिमेकी राष्ट्रहरू  भारत र चीनलाई प्राथमिकता दिनु अत्यावश्यक छ । यी दुई छिमेकी मुलुकप्रतिको नेपालनीति अन्य देशहरूसँगको विदेशनीतिलाई सामञ्जस्य गर्न सक्दा मात्रै यथार्थपरक र राष्ट्रिय हितअनुकूलको विदेशनीति बन्न सक्दछ । 

नेपालका लागि दुई छिमेकी राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध भूगोलको कारणले मात्र होइन, इतिहास, सामाजिक र सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण छ । नेपालको भारत र चीनसँगको सम्बन्ध र आत्मीयताको प्रकृति समान छैन, भिन्नाभिन्नै छ । दुवै छिमेकी मुलुकलाई एउटै विदेशनीतिका आधारमा हेर्नु र व्यवहार गर्नु बुद्धिमत्तापूर्ण हुँदैन । 

चीन नेपालको विश्वासिलो र भरपर्दो मित्रराष्ट्र हो । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नेपालनीतिले गर्दा नेपाल–चीन सम्बन्ध विवादरहित र समस्यारहित भएको हो । चीनको नेपालनीति निरन्तर एउटै रहँदै आएको छ, त्यसमा उतारचढाव छैन । चीनले नेपालबाट विश्वासिलो र भरपर्दो चीननीतिको अपेक्षा गरेको छ । प्रधानमन्त्री ओली यस्तो चिनियाँ मनोविज्ञान र चाहनाको सम्बोधन गर्न जति सफल रहन्छन्, त्यति नै यो भ्रमण उपलब्धिमूलक हुनेछ । 

भारतको मुख हेरेर वा उसको इशाराअनुसार बनाइने चीननीतिले चिनियाँ विश्वास जित्न सकिँदैन । नेपालले आफ्नो राष्ट्रिय हितका आधारमा तय गर्ने चीननीतिले मात्र नेपाल–चीन सम्बन्धलाई नयाँ गति र दिशा दिनेछ । नेपालको चीनसँगको निकटतालाई भारतीय सत्ता त्यति मन पराउँदैन । भारतीय आँखाबाट चीनलाई नेपालले हेरोस् भन्ने चाहना भारतीय सत्ताको रहँदै आएको छ । नेपालले स्वतन्त्र चीन नीति अख्तियार गर्दा वा गर्न खोज्दा भारतीय सत्ता आक्रोशित हुने कारण पनि यही नै हो । 

तर अहिले परिस्थिति बदलिएको छ । “दोक्लम” विवादबाट निकै बिग्रिएको भारत–चीन द्वन्द्व अहिले साम्य हुँदै गएको छ । भारतीय प्रधानमन्त्री मोदीले हालै गरेको चीन भ्रमणबाट सकारात्मक परिस्थिति बनेको हो । यस अवस्थामा नेपालले स्वतन्त्र चीन नीति निर्धारण गर्नु बुद्धिमत्तापूर्ण हुन्छ । प्रधानमन्त्री ओलीले स्वतन्त्र चीन नीति अवलम्बनमा जति विश्वास  चिनियाँ नेताहरूलाई दिलाउन सक्दछन्, त्यति नेपाल–चीन सम्बन्ध सुदृढ हुनेछ । प्रधानमन्त्री ओलीले यस्तो भूमिका निर्वाह गर्लान्, नगर्लान् त्यो भने परीक्षाकै विषय छ ।

चीनको लागि सुरक्षाको संवेदनशील कडी तिब्बत हो । पश्चिमा अस्थिरतावादी शक्तिहरूले नेपाली भूमि प्रयोग गरेर यो मर्मस्थानमा प्रहार गर्ने दुष्प्रयास गर्दै आएका छन् । नेपाल–चीन सम्बन्धलाई चिसो र तातो बनाउने यही मुद्दा हो । जतिबेला पश्चिमी अस्थिरतावादी शक्तिको चलखेल नेपालमा बढ्दछ, त्यतिबेला नेपाल–चीन सम्बन्धमा विश्वासको संकट आउने र यस्तो चलखेल नियन्त्रण हुँदा सम्बन्ध हार्दिक हुने गरेको छ । नेपालको राजनीतिक अस्थिरतालाई दुरुपयोग गर्ने अस्थिरतावादी शक्तिले आफ्ना प्रभाव निकै विस्तार गरेका छन् । उनीहरूको घुसपैठ नेपालको राजनीतिक क्षेत्रदेखि राज्यका संवेदनशील अंगहरूमा मात्र होइन, प्रधानमन्त्री ओलीलाई पनि

यिनीहरूले घेराबन्दी गर्दै गएका छन् । यस विषयमा प्रधानमन्त्री ओलीले चिनियाँ नेताहरूलाई जति विश्वस्त गर्न सक्दछन्, त्यति नै ओलीको चीन भ्रमण सफल हुनेछ । 

नेपालको चीनसँगको सम्बन्ध मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता र स्वतन्त्रतासँग पनि जाडिएको छ । जतिबेला नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र सामाजिक सद्भावको जग पुनः निर्माण गर्नु आवश्यक छ । यसका लागि चिनियाँ सहयोग र सदाशयता निकै महत्त्वपूर्ण हुन्छ । जबसम्म नेपाल आर्थिक र राजनितिक रूपमा भारतनिरर्भताबाट माथि उठ्न सक्दैन, तबसम्म मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथिको खतरा टर्न सक्दैन । यसका लागि चीनसँग गरिने यातायात, पारवहन, व्यापार, इन्धन र विद्युत् सम्झौता कोशेढुंगा हुन् । कोही रिसाउला भन्ने भयबाट वा कसैलाई नचिढाउने मनोविज्ञानबाट मुक्त रही प्रधानमन्त्री ओलीले चीनसँग सार्थक समझदारी र सम्झौता गर्नुभयो भने नेपालका लागि ऐतिहासिक उपलब्धि नै हुनेछ ।

जतिबेला पश्चिमी अस्थिरतावादी शक्तिको चलखेल नेपालमा बढ्दछ, त्यतिबेला नेपाल–चीन सम्बन्धमा विश्वासको संकट आउने र यस्तो चलखेल नियन्त्रण हुँदा सम्बन्ध हार्दिक हुने गरेको छ ।

अहिले विकास र समृद्धि नेपाली जनताको चाहना र महत्त्वाकांक्षा बनेको छ । यो चाहना र महत्त्वाकांक्षा पूरा गर्न ठूलो लगानीको आवश्यकता पर्दछ, जुन लगानी गर्ने क्षमता नेपाल आफंैसँग छैन । नेपालमा ठूलो लगानी गर्न सक्ने छिमेकी मुलुक चीन नै हो । सञ्चित पूँजीलाई अन्य देशमा लगानी गर्ने नीति अवलम्बन गरेको चीनलाई विश्वस्त गराउँदा चिनियाँ लगानी नेपालमा भित्रिने पर्याप्त आधार र सम्भावनाहरू छन् । सडक, रेल, ऊर्जा, सिँचाइ र पर्यटन क्षेत्रमा चिनियाँ लगानी  साझेदारी भित्र्याउने हो भने मुलुकको विकास र समृद्धिले फड्को मार्न सक्दछ । यसको लागि ओलीको पहिलो प्रधानमन्त्रित्वमा चीनसँग भएका सन्धि समझादारीहरूको सक्रियतापूर्वक कार्यान्वयन गरिने विश्वास चिनियाँ नेतालाई दिलाउन सक्नुपर्दछ । 

नेपाल–चीन सम्बन्धलाई उपलब्धिमूलक बनाउन नयाँ जग र अवधारणा प्रधानमन्त्री ओलीले पहिलो चीन भ्रमणमा गरेका १० बुँदे सम्झौता र १५ बुँदे संयुक्त वक्तव्य नै हुन् । कोशेढु्ङ्गाका रूपमा रहेका यी आधार र अवधारणाहरूलाई घटाउने होइन, समृद्ध र परिष्कृत गर्न सक्दा मात्र चीनसँगको नेपाल सम्बन्ध हार्दिकतापूर्ण हुन सक्दछ । यसमा दायाँ बायाँ गर्दा दुई देशको सम्बन्धमा अविश्वास सिर्जना हुन्छ । चिनियाँ महत्त्वाकांक्षा आयोजना बेल्ट एन्ड रोड इनिएिसटिभको कार्यान्वयनमा नेपालको सक्रिय सहभागिता रहने सन्देश दिनसके मात्र चिनीया विश्वास जित्न सक्ने स्थिति छ । 

नेपाली विद्युतलाई चिनियाँ बजारमा पुर्‍याउनु, रसुवागढी केरुङ अन्तर्देशीय विद्युत् प्रसारणलाई निर्माण गर्नु  नेपालको विद्युत् विकासका लागि आवश्यक पूर्वाधारहरू हुन् । नेपाल–चीन–भारतका बीच त्रिदेशीय चिनियाँ अवधारणाबाट नेपालले पर्याप्त लाभ हासिल गर्न सक्ने स्थिति छ । यसतर्फ प्रधानमन्त्री ओलीको ध्यान जान सक्यो भने यो भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछ । 

चीनसँग जोड्ने केरुङ–काठमाडौं–पोखरा र लुम्बिनी रेल नेपाली जनताको आकर्षण मात्र होइन, प्रतिष्ठाको विषय बनेको छ । जुनसुकै मूल्यमा यो आयोजना सफल भएको हेर्ने चाहना नेपाली जनताको छ । यो योजना नेपाली र चिनियाँ जनताको हार्दिकतालाई जोड्ने कडी पनि हो । यो योजनाबाट हुने लाभ र हानिको मूल्यांकन नेपाली जनताको नजरमा गौण बनेको छ । ओलीको पक्षमा गत आमनिर्वाचनमा उर्लिएको जनसमर्थनको एउटा उल्लेखनीय कारण पनि यही नै थियो । यसलाई असफल बनाउन बाहिर र भित्र दुवै कोणबाट दुष्प्रयास भइरहेका छन् ।

यसमा प्रधानमन्त्री ओली कति दह्रो खुट्टा टेक्दछन्, परीक्षणको विषय बनेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नेपाल–चीन सम्बन्धलाई सुदृढ र विश्वसनीय बनाउन निकै अर्थपूर्ण र उपलब्धिमूलक हुन्छ । चिनियाँ राष्ट्रपतिको भ्रमणलाई रोक्न विगतमा गरिएको षड्यन्त्र जगजाहेर नै छ । अझै पनि त्यो दुष्प्रयास पर्दापछाडि भइरहेको छ । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको वातावरण बनाउन सके भने त्यो मुलुकका लागि निकै उपलब्धिमूलक हुनेछ ।

असार ५, २०७५ मा प्रकाशित

बोर्णबहादुर कार्की

कार्की वरिष्ठ अधिवक्ता एवम् प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस