सुन तस्करी प्रकरण : ४ जना विरुद्ध रेड कर्नर नोटिस जारी

असार ७, २०७५

काठमाडौं, ७ असार– साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका ४ जना फरार प्रतिवादीविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले सुन तस्करी प्रकणका फरार प्रतिवादी ४ जनाविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)मा रेड कर्नर नोटिस जारी गरिएको बताए । 


जुन १८ सोमवार (४ असार) देखि इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको हो । प्रहरीले सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवाल, सुन तस्करी सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीका भाइ मोरङको उर्लाबारी–७ घर भएका रमेश उप्रेती, काभ्रेको बेथानचोक–४ घर भएका हरिशरण खड्का र सुनसरीको इटहरी–६ घर भएका वेनु श्रेष्ठविरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको हो । 

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव इश्वर पौडेल नेतृत्वमा गठित समितिको सिफारिसमा आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले १९ वैशाखमा ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । 

सरकारी वकिलको कार्यालयले दर्ता गरेको मुद्दामा यी ४ जनालाई  प्रतिवादी बनाइएको छ । मुद्दा दर्ता लामो समयसम्म पनि उपस्थित हुन नआएपछि अदालतले उनीहरुविरुद्ध म्याद जारी गरेको थियो । 

अदालतले म्याद जारी गरेसँगै प्रहरीले उनीहरुविरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको हो । 

असार ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस