टिप्परले आतंक मच्चायो, रूट पर्मिट खारेज गर सरकार !

असार १०, २०७५

थानकोटबाट ओरालो लागेपछि सवारी चालक सागर भोजपुरेले हल्का जिब्रो निकाल्यो, रातोपिरो भयो र भन्यो – ‘पछाडि टिप्पर हुइँकिएर आएको छ । साइड छाडौं होला जस्तो लाग्यो, दाजु ।’ उसले थप्यो – ‘कति हतार छ यिनलाई, मानौं कि यिनले सिमेन्ट–बालुवा होइन, इमर्जेन्सीका बिरामीहरू बोकेर कुदिरहेका छन् ।’ सागरको भनाइमा गम खाँदै मैले भनें– ‘जान देऊ न त ।’

निकै तीव्र गतिमा कानको जाली नै फुटाउने गरी जोडसँग हर्न बजाउँदै, धूलैधूलोले पुरिएको एउटा टिप्परले कारको झ्याललाई नै हान्ला जस्तो गरेर ‘ओभरट्याक’ गर्‍यो । हाम्रो फुच्चे कार यसरी हरायो जसरी आकाशमा उडिरहेका जहाजहरू कुहिरो र बादलभित्र क्रमश हराउँदै जान्छन् । मैले सागरलाई भनें – ‘यो टिप्परको पिछा गर । यसको नम्बर टिपेर ट्राफिक प्रहरीलाई दिनुपर्छ ।’


मेरो आदेशले सागरलाई हौसला भयो । रातो भएको अनुहारमा बिस्तारै सुन्तला कलर आयो । कुरुक्षेत्र चलचित्रमा जस्तै सागरले फुच्चे कार कुदायो । हामी टिप्परको नजिक पुग्यौं । नम्बर प्लेट हेरें, तर आँखा पुग्यो अर्कै चीजमा । नम्बर प्लेटको माथिल्लो भागमा बडो गर्वका साथ लेखिएको थियो – ‘पहाडको यमराज ।’

पहाडको यमराज देखेपछि सातोपुत्लो नै उड्यो । यस्तो लाग्यो कि अहिलेसम्म यो दुःखी पहाडी भूभागमा बाँच्ने सौभाग्य पाएको छु । कतै दोबाटोमा यो यमराजले फेला पार्ला र इहलीला समाप्त भएर सदाका लागि देहत्याग होला भनिकन बडो सावधानीका साथ हिँड्नुपरेको छ । जीवनमा पहिलोपटक यो एकबारको जुनी देखेर थकथकी लाग्यो । मनमा जान्ने इच्छा जाग्यो – ‘कलियुगका यी यमराजका चालकको अनुहार कस्तो रहेछ ?’

यमराजको नजिक पुगेर म गुण्डागिरीको भाषामा चिच्चाएँ, ‘ए, बाहिर निस्की, मलाई चिन्या छैन ?’

यमराजको चालक लुरुक्क बाहिर निस्कियो । उसले मलाई सीआईडी पुलिस ठान्यो । एकहोरो बकबकाउँदै भन्न थाल्यो – ‘सर, हतारमा गाडीको बिलबूक साइटमै छाडियो, लाइसन्स रिन्यू गर्न हिजै बुझाएको हो । मैले हजुरलाई चिन्न सकिनँ, हतार थियो अनि ओभरटेक गरें । आज चार टिप जसरी पनि बोक्नुपर्नेछ । भोलि घरको ढलान छ । चार टिप नबोके साहुले मार्छ । आजलाई माफ दिनपर्‍यो, हजुर ।

मैले सोधें – ‘यो एम्बुलेन्स हो कि टिप्पर ? त्यहाँभित्र दमका रोगी छन् कि बालुवा ?’

‘यो टिप्पर हो, हजुर ! भित्र लोकन्थलीका साहुको गिट्टी छ,’ यमराजको चालकले भन्यो ।

‘तिम्रा साहुलाई घाममा सुकाइदेऊ । म मरेको भए भोलि एक दिन पुग्थ्यो । तीन दिनमा काजकिरिया सकिन्थ्यो । काजकिरियापश्चात् मेरो अस्तित्व हुन्थ्यो यो पृथ्वीमा ? तर तिमी त मासुभात खाइरहेका हुन्थ्यौ किनकि तिमी त यमराज हौ । टिप्परेहरूले दिनहुँ मान्छे मारेका छन्, जता पायो त्यतै सुँड ठोक्दै हिँडेका छन् । के तरिका हो यो, बिस्तारै गुड्न सक्दैनौ, यार ?’ मैले भनें ।

यमराजको चालकले केवल माफी मागिरह्यो ।

सवारी चालकहरू कहिलेकाहीँ रिसाउँदा भन्ने गर्छन्, ‘यो बूढाले के खोज्या हो ? बाटो काट्न आउँदैन भने किन हिँड्नु, दश लाख खोजेको त हैन होल नि ।’

यमराज चालकको ‘माफ दिनपर्‍यो’ भन्ने शब्दमा उसले यसअघि जानेरै, बुझेरै गल्ती गरिरहेछ, कोहीसँग डराइरहेको थिएन र जे गरिरहेछ बडो दादागिरीका साथ गरिरहेछ बन्ने प्रस्ट हुन्थ्यो । उसका हाउभाउहरूमा कुनै किसिमको हीनताबोध प्रकट भइरहेको थिएन । शायद भयानक दुर्घटनाप्रति यिनीहरूलाई हेक्का हुन्थ्यो अनि कानूनको अलिकति पनि डर हुन्थ्यो भने दुर्घटनाको दर कम हुन्थ्यो । पुकार चपाइरहेको थियो, हल्का मादक पदार्थको गन्ध पनि आइरहेको थियो । मानौं कि ऊ झ्याप तालमा थियो । 

चौबाटोमा ल्याङल्याङ गरेर कसैको हुर्मत काड्ने म को हुँ र ? तँ गइहाल् जा, अब आइन्दा ख्याल गरेर गाडी चला, तँ मेरो भाइजस्तो होस् भनिदिएँ । त्यसपश्चात्, बडो मिजासोलो तरिकाले यमराजको चालक आफ्नो गन्तव्यतर्फ लाग्यो । टिप्परको ओभरटेकको डरलाग्दो हर्नले सातो काडिएको सागरको मुहारमा फेरि पनि एक प्रकारको चमक छायो । सागर भोजपुरेले मलिन भाषामा भने, ‘दाइ, यो केटाको चाल गतिलो छैन । यसले कुन दिन मान्छे मार्छ–मार्छ । सोचिरहेको छु, अस्ति काभ्रेमा मान्छे हान्ने त्यही केटा हो कि ?

टिप्पर देख्दै डर लाग्छ

सानेपाकी सानु महर्जन टिप्परलाई देखेपछि दुई किलोमिटर वरै स्कूटर रोक्छिन् । उनको कथन छ, ‘टिप्पर चालकहरू निकै निडर हुन्छन्, हतारमा हुन्छन् । दुर्घटना भइहालेमा टिप्पर व्यवसायीहरूले तिनीहरूको जिम्मा लिन्छन् र ट्राफिकलाई पैसा खुवाएर कुरा मिलाउँछन् ।’ यिनलाई किन यस्तो लागेछ ? यसमा एउटा दुःखद घटना रहेछ । कलेजबाट घर फर्कंदै गर्दा परार साल यिनको साथी निरूपा बज्राचार्यलाई टंगालमा टिप्परले ठक्कर दिएछ । निरूपाको शरीर हलचल गर्न मिल्दैन । टिप्पर चालकलाई ज्यान मुद्दा हालियो । तर तीन महिना नपुग्दै जेलबाट निस्कियो ।

जबसम्म सडक दुर्घटना भइसकेपछि ज्यान मारेबापतको मुद्दा दश लाख रुपैयाँमा मिल्छ, तबसम्म मान्छे मारेमा दश लाख त हो नि भन्ने सामान्य चेतना सवारी साधनहरूको मालिकमा घुस्छ । सवारी चालकहरू कहिलेकाहीँ रिसाउँदा भन्ने गर्छन्, ‘यो बूढाले के खोज्या हो ? बाटो काट्न आउँदैन भने किन हिँड्नु, दश लाख खोजेको त हैन होल नि ।’ त्यस्तै बालबच्चाहरू, अशक्त महिलाहरू र हुलमुलका पैदल यात्रुहरूले सडकमा अवरोध गर्दा, दश लाख खोजे जस्तो छ, ज्यान जाला होस् गर है भन्ने किसिमका धम्कीहरू तिनको मुखबाट निस्किन्छ ।

त्यसैले पहिलो कुरा त दश लाख रुपैयाँ दिएर यातयात व्यवसायीहरूले हत्या प्रकृतिको दुर्घटनाको ढाकछोप गर्ने काम गलत हो । लाइसेन्स मात्र सबै कुरा हैन चालक बन्नका लागि । नेपालमा लाइसेन्स भयो, अब त चालक भयो भन्ने भ्रम छ । ट्राफिक नियम उल्लंघन गर्नेहरू, मादक पादार्थ सेवन गरेर सवारी चलाउनेहरू, ओभर स्पीडमा चलाएर जानाजान दुर्घटना गराउने चालकउपर ज्यान मुद्दा लाग्यो भने दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । तर यहाँ के छ भने पैसाले सबैथोक मिल्छ, नक्कली लाइसेन्सले सवारी चलाउनेहरू पनि लाखौं छन् यो देशमा । ट्राफिकहरू बेचिएका छन् ।

सुनिन्छ, यातयात व्यवसायीहरूले ट्राफिक प्रहरीको हाकिमलाई आफ्नो हातमा लिएका हुन्छन् । पहिले सिन्डिकेटको मारमा यो समस्या झन् विकराल थियो । ट्राफिक नियम उल्लंघनको विषय छानबिनका लागि ट्राफिक कार्यालय वा अदालतमा जानुपर्नेमा यातयात व्यवसायीहरूको टेबुलमा पुग्ने गरेको उदाहरणहरू कैयौं छन् । यातयात व्यवसायीले हरेक गाडीबाट उठाएको पैसा कुनै विकास निर्माण, सेवाको क्षेत्रभन्दा पनि यस्तै यस्तै शक्तिकेन्द्रहरूमा बाँड्नका लागि प्रयोग गर्छन् । र तिनले दुर्घटना र सवारीचालकको सन्दर्भमा यातायात कार्यालयको टेबुलमा बसेर फैसला गर्छन् ।
टिप्पर दुर्घटना हैन, व्यक्ति हत्याको शृङ्खला हो

टिप्परले मान्छे मारेको सुन्दासुन्दा अब यो टिप्पर भन्ने साधन नै हत्याराको अर्को नाम जस्तो भएको छ । सडकमा सामान्य अवस्थामा गुडिरहेको टिप्पर देख्दा समेत पैदलयात्रीहरू डराउने, तर्सिने गरेका छन् । चियापसलहरूमा टिप्पर आतंकका बारेमा चर्चा हुने गरेका छन् । सामाजिक सञ्जालहरूमा विभिन्न ट्रोलहरू बनेका छन् टिप्परको बारेमा । जस्तो कि, ‘भुइँचालोसँग त सजिलै जोगिन सकिन्छ तर टिप्परसँग सचेत बनौं ।’ त्यस्तै अर्को ट्रोल नि छ, ‘टिप्परले सातो काडेको मान्छे ट्याक्सी देख्दा डराउँछ ।’

भारतको राजस्थानतिर के हुन्छ भने ठूला मालवाहक सवारीसाधनहरूले पैदलयात्री र साना सवारीसाधनहरूलाई हानेर मारेको खण्डमा सम्भवतः त्यसका चालक बाँच्ने सम्भावना निकै न्यून हुन्छ । वरिपरिका मानिस सबै भेला हुन्छन्, चालकलाई सवारीसाधनसँगै डोरीले बाँध्छन् । र मट्टितेल खन्याएर आगो लगाइदिन्छन् । हालसालै यो पङ्क्तिकार भारतको भ्रमणमा जाँदाको अनुभव हो यो । चालकले बिस्तारै गाडी गुडाइरहेका थिए । मैले सोधें, ‘किन एकदमै बिस्तारै हाँकेको ? चालकले भनेका थिए, ‘यो संवेदनशील ठाउँ हो, कसैलाई छोयो र केही भइहाल्यो भने म ज्युँदो फर्किन्नँ ।

। शहरी क्षेत्रमा राति १० बजेदेखि बिहान ४ बजेको समयमा मात्र यस्ता सवारीलाई चल्न दिने नियम बसाइनुपर्छ । अन्यथा आलाकाँचा चालकको लापरवाहीबाट सर्वसाधारणको ज्यान जाने शृङ्खला रोकिने छैन ।

तर हाम्रो देशमा टिप्पर चालकहरूको मानसिकता पनि निडर जस्तो बनिसक्यो । हामीसँग अन्य सवारी साधनहरू, पैदलयात्रीहरू डराउँछन् भन्ने भान परेको हुनसक्छ शायद । तिनले मुख्य सडकको बीच भागमा स्पीडमा गुडाउँछन् । दायाँबायाँ हेर्दैनन् । सडक हो दुर्घटना हुन्छ । तर टिप्परको आतंक अत्यन्तै फराकिला सडकहरूमा पनि भएका छन् । दायाँबायाँ मोड्न नमिल्ने स्थानहरू, घुम्टीहरूमा तीव्र गतिमा चलाएका कारण पनि टिप्परले धेरै मान्छे मारेका छन् । 

त्यसैले भन्न सकिन्छ, यो टिप्पर दुर्घटना हैन, व्यक्तिहत्याको शृङ्खला मात्रै हो । यिनीहरूले हत्याको जालो फिँजाएका छन् । के यसको छानबिन हुनुपर्दैन सरकार ? दैनिकजसो समाचारहरूमा टिप्परले आतंक मच्चाएको पढ्न पाइन्छ । तीमध्ये धेरैका ‘अन द स्पट’ ज्यान गएको छ । घाइतेहरूको संख्या पनि धेरै छ । खासगरी स्कूटरमा यात्रा गरिरहेका महिलाहरू टिप्पर आतंकमा बढी मारिएका छन् । केही दिनअघि मात्रै काठमाडौंको जडीबुटीमा महिलालाई ठक्कर दिएको टिप्पर जलाइयो । देशभरिका यस्ता दर्जनौं उदाहरणहरू छन्, जो यहाँ पेश गरिरहनु नपर्ला । 

टिप्पर आतंक कसरी रोक्ने ? 

पहिलो कुरा त अत्यधिक टिप्पर दुर्घटना बढेका कारण नेपालमा आउने टिप्परहरूको प्राविधिक जाँच हुन जरूरी छ । कतिपयको भनाइ छ – टिप्परको बनोट, जस्तो कि अगाडिको भाग निकै चुच्चो भएका कारण चालकले आँखा देख्दैनन् । कतिपयको तर्क छ – ब्रेक निकै कमसल छ । कतिपयको अनुमान छ – ह्यान्डल कडा छ, घुमाउन गाह्रो छ । कतिपयको अनुभव छ – जब स्पीडमा जान्छ, यसलाई ठाउँको ठाउँ ब्रेक दबाएर रोक्न मुश्किल छ ।
कारण जेसुकै भएपनि टिप्परको आतंक किन दिनहुँ मच्चिएको छ, यो खोजको विषय हो । यसमध्ये एउटा के हुन सक्छ भने अधिकांश टिप्परहरू निर्माण ढुवानी सेवामा संलग्न छन् । तिनले बालुवा, गिटी, माटो, सिमेन्ट जस्ता निर्माण सामग्रीहरू बोक्ने गर्छन् । सडक निर्माण होस्, वा घर निर्माण, ठूला भवनहरू निर्माण होस् त्यहाँ टिप्परकै प्रयोग भइरहेको छ । सवाल के हो बने चालकलाई टिपअनुसार अर्थात् कति खेप सामान ओसार्न सक्छ त्यही अनुपातमा पैसा दिने गरिन्छ । त्यसैले चालकहरू बडो हतारमा हुन्छन् । कसले कति खेप बोक्न सक्ने भन्ने प्रतिस्पर्धामा हुन्छन् । दुर्घटनाको मुख्य कारण यो हो ।

अर्को हाम्रो देशमा कति बजे कुन रूटमा कुन सवारी चल्न हुने नहुने भन्ने नियम कानून नै कडा रूपमा पालना भइराखेको छैन । वास्तवमा विकसित देशहरू हेर्‍यो भने जनघनत्व धेरै भएका, आवास क्षेत्रहरू, स्कूल र मुख्य चोकका बाटाहरू जहाँ मानिसहरूको आवतजावत धेरै हुन्छ, त्यहाँ टिप्परजस्ता ठूला सवारीसाधनहरू गुड्न बन्देज लगाइएका हुन्छन् । कार्यालय समय, स्कूलको समय र अस्पताल क्षेत्रमा पनि यस किसिमका नियमहरू हुन्छन् । तर हामीकहाँ जसलाई जे मन पर्‍यो त्यही हुन्छ ।

पङ्क्तिकारलाई त के लाग्छ भने टिप्परको रूट पर्मिट नै खारेज गरिदिएहुन्छ । नेपालको सडकमा यो टिप्पर गुड्नबाट बन्देज लगाइनुपर्दछ । त्यसो गर्न सकिँदैन भने टिप्परका चालकहरूको अनुसन्धान गर्नु आवश्यक छ । धेरै चालकहरू कलिला युवकहरू देखिन्छन् । तर यो अनुमान पूर्ण हैन । टिप्परको हकमा विशेष यातयात कानून निर्माण गरेर ट्राफिकले कडाइका साथ पालना गराउनु टड्कारो बनेको छ । टिप्पर चालकहरूको अनुमतिपत्र के कस्तो हो, त्यो पटकपटक जाँच गरिनु आवश्यक छ । शहरी क्षेत्रमा राति १० बजेदेखि बिहान ४ बजेको समयमा मात्र यस्ता सवारीलाई चल्न दिने नियम बसाइनुपर्छ । अन्यथा आलाकाँचा चालकको लापरवाहीबाट सर्वसाधारणको ज्यान जाने शृङ्खला रोकिने छैन ।

असार १०, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार