एसइईको नतिजामा गम्भीर त्रुटि : १ दिनपछि जोडियो ‘प्राक्टिकल’ नम्बर

असार १०, २०७५

काठमाडौं, १० असार – राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ ।

परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज ९स्तरीकृत अंक० भन्दा आज ग्रेड पोइन्ट एभरेज भटाभट बढ्न थालेपछि उक्त प्राविधिक त्रुटि पत्ता लागेको हो । 


ADVERTISEMENT

परीक्षा नियन्त्रण कार्यालयले पर्याप्त, तयारी, रुजु र पुनरावलोकन नगरी परीक्षाफल प्रकाशित गर्दा प्राविधिक गडबडी भएको पाइएको हो तर कार्यालयले कूल विद्यार्थीको नतिजा के कति बढोत्तरी भयो भन्ने नयाँ तथ्यांक सार्वजनिक गरेको छैन । यसबारे थप अध्ययन र छानबिन हुने देखिएको छ ।

प्राविधिक कमजोरीबारे पनिका कार्यालयका अधिकारी र कर्मचारीले पछिल्लोमा जुन अंक देखिन्छ, त्यही आधिकारिक र सक्कली हो भन्न थालेका छन् । पछिल्लो ग्रेड सिटअनुसार सबै ग्रेडमा विद्यार्थीको स्तर सामान्य वृद्धि भएको बुझिएको छ । 

नयाँ स्थितिमा आज सार्वजनिक गरिएको तथ्यांक नै हेरफेर हुने देखिएको छ । ए ग्रेड आउनेको ए प्लस, बी प्लस आउनेको ए ग्रेडसम्ममा हेरफेर भएको ठानिएको छ । यसबारे बुझ्न खोज्दा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीसँग सम्पर्क हुन सकेन । 

कतिपयले विद्यार्थीले परीक्षाफल आएलगत्तै आफूले सोचेजति ग्रेड नभएको चिन्ता गरेका थिए भने नयाँ विवरण आएपछि प्रशन्नता व्यक्त गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले नयाँ सफ्टवेयरमा प्राप्तांकलाई जोड्ने सूत्र हाल्दा गल्ती भएको पाइएको र विस्तृत के भएको बुझ्न बाँकी रहेको बताए । उनले यसबारे आवश्यक अध्ययन भइरहेको बताए ।

परीक्षा उपनियन्त्रक गेहनाथ गौतमले पनि सफ्टवेयरले कमाण्ड नगरेकाले शुरुमा केही कम ग्रेड आएको र पछिल्लो नजिताले विद्यार्थीलाई न्याय भएको दाबी गरे । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनका अध्यक्ष ऋतुराज सापकोटाले भने, ‘विद्यार्थीले नयाँ र सक्कलीस्तर सहितको पछिल्लो नतिजा पाएको हो भने उनीहरूका लागि राम्रो हो तर प्रणाली त्रुटिपूर्ण हुनु कार्यालयको कमजोरी हो । बरु १ दिन ढिलो गरेको भए हुन्थ्यो, यसरी त्रुटिपूर्ण विवरण सार्वजनिक हुनु गलत हो ।’ 

असार १०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस