चार शहरमा अनमोल केसीको लाइभ प्रस्तुति, प्रियंकाले साथ दिने

असार ११, २०७५

काठमाडौं, ११ असार – लोकप्रिय अभिनेता अनमोल केसीले देशका चार प्रमुख शहरमा लाइभ प्रस्तुति दिने भएका छन् । आयोजक मोनिका इन्टरनेशनल गु्रपले ‘अनमोल साँझ– २०१८’ बारे जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित अभिनेता अनमोल केसीले कार्यक्रमको उद्देश्य तथा आफ्नो प्रस्तुतिबारे जानकारी दिए । कार्यक्रम भदौ ९ बाट शुरु हुनेछ । आन्तरिक पर्यटन प्रवर्द्धन, कला/संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका निभाउने आशा लिइएको उक्त कार्यक्रमबाट उठेको रकम नेत्रहीन महिला संघ नेपाललाई प्रदान गरिने बताइएको छ । चारवटै शहरमा हुने कार्यक्रममा अनमोलले डान्ससँगै गीत पनि गाउनेछन् ।

यो कार्यक्रमका लागि अनमोलले पारिश्रमिक नलिएको बताइृएको छ । सामाजिक कार्यका लागि पारिश्रमिक नलिएको अनमोलले बताए । ‘यो कार्यक्रमबाट मेरा फ्यानहरूसँग प्रत्यक्ष भेट्ने अवसर पनि पाउनेछु’, अनमोलले भने ।

कार्यक्रमअन्र्तगत भदौ ९ गते बुटवल, १६ गते पोखरा, २३ गते चितवन र २७ गते विर्तामोडमा कार्यक्रम हुनेछ । आयोजक मोनिका इन्टरनेशनल ग्रुपका अध्यक्ष कमल जिसीले विशुद्ध सामाजिक कार्यका लागि कार्यक्रम गर्न लागिएको बताए । कन्सर्टमा अनमोलसँगै अभिनेत्री प्रियंका कार्कीले स्टेज शेयर गर्ने पक्का भएको छ ।

अन्य कलाकार भने तय नभएको अध्यक्ष जिसीले बताए ।
 

असार ११, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस