जनप्रतिनिधिको एक वर्ष : जनतासँगका वाचा केही पूरा, धेरै अधुरा !

असार १४, २०७५

बुटवल, १३ असार –झण्डै बीस वर्षसम्म जनप्रतिनिधिविहीन स्थानीय तहले नेतृत्व पाएको एक वर्ष पुगेको छ । प्रदेश ५ मा गएको वर्ष असार १४ गते (आजैका दिन) दोस्रो चरण अन्तर्गत निर्वाचन भएको थियो । 

मुलुक संघीय संरचनामा गएसँगै सिंहदरबारको अधिकार स्थानीय तहमा आयो । रूपन्देहीका स्थानीय सरकारले तुलनात्मक रूपमा अपेक्षाकृत काम गरेको देखिन्छ ।


निर्वाचनका बेला जनताप्रति गरेका प्रतिबद्धता अनुसार नै यहाँका स्थानीय तह हिड्ने प्रयत्न गरेको देखिन्छ । 

रूपन्देहीमा १ उपमहानगरपालिका, ५ नगरपालिका र १० वटा गाउँपालिका छन् । विषेश गरी रूपन्देहीका जनताले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिको विकास गरी नमूना गाउँ/नगर बनाउन आग्रह गरेका थिए । जनप्रतिनिधिको प्राथामिकता पनि तिनै क्षेत्रहरूको परेका छन् । 

विकसित तथा पूर्वाधारमा बलिया रहेका रूपन्देहीका स्थानीय तहले विकास आयोजना, पूर्वाधार निर्माणतर्फ आफ्नो ध्यानकेन्द्रित गरेको देखिन्छ । जिल्लामा सबै पक्षमा बलियो नगरपालिकाका रूपमा रहेको बुटवल उपमहानगरपालिकाले चुनावी घोषणा पत्र अगाडि राखेर नीति कार्यक्रम बनाउँदै बजेट ल्याएको दाबी गर्छ । 

बुटवल उपमहानगरपालिकाका कार्यवहाक प्रमुख गोमादेवी आचार्य चुनावी वाचालाई पच्छ्याउँदै आफूहरू अगाडि बढ्को बताउँछिन् । ‘हामीले कुनै वाचा बिर्सेका छैनौं, जनताका काम योजना र वाचा अनुसार अगाडि बढेका छौं,’ कार्यवहाक प्रमुख आचार्यले भनिन् । बुटवलले १९ वटा वडाबाट नै सेवा प्रवाह शुरू गरेको छ । आचार्यले थपिन्, ‘पहिलो एक वर्ष अनुभव सँगै लय पछ्याउदै छौं । हामी कुनै अलमलमा छैनौं ।’ 

बुटवलले आवश्यकताका आधारमा ऐन नियम, कानून, कार्यविधि र आचार संहिता बनाइ २६ वटा कानून राजपत्रमा प्रकाशित गरेको छ । अन्य केही कानून प्रकाशित गर्ने तयारीमा छ । तर यहाँका नगरबासीले पटक–पटक उठाउँदै आएको छाडा चौपाया व्यवस्थापनको काममा भने कुनै ध्यान दिएको छैन । त्यस्तैगरी भोट बैंकका रूपमा लिइने सुकुम्बासीका जनतालाई लालपूर्जा वितरण गर्ने वाचा गरे पनि त्यसका लागि तथ्याङ्क संकलन मात्र गरेको छ । यहाँ झण्डै ११ हजार घरधुरी सुकुम्वासी छन् । 

घरको नक्सा अनलाइन प्रणालीमार्फत् शुरु गरेको छ । नगरको अल्पकालिन र दीर्घकालीन योजना बनाउँदै अगाडि बढेको छ । नगरभित्रका ४० हजार घरधुरीको नम्बरिङ गरिसकेको छ । करको दायरा फराकिलो बनाउन पेशा व्यवसाय दर्ता, न्यायिक समितिको कार्यविधि बनाएर इजलास शुरु, ५ सय युवालाई रोजगार दिने योजना बनाएको छ । 

देवदह नगरपालिकाले कर्मचारी समायोजन गर्न नसक्दा जनचहनाअनुसार काम गर्न सकेको देखिँदैन । नगरप्रमुख हिराबहादुर खत्रीले कर्मचारी समायोजन हुन नसक्दा जनपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्छन् । जसले गर्दा १४ वटा वडा रहेको नगरपालिकामा १ देखि ४ सम्म एउटै कार्यालय, ७ र ८ वडाको संयुक्त रूपमा सञ्चालन गरको छ । 

छुट्टा–छुट्टै वडाबाट सेवा प्रभाव हुन नसक्दा जनताले सेवा लिन सास्ती भएको छ । अधिकांश क्षेत्र सुकुम्वासी बस्ती रहेको देवदहको निर्वाचनको बेला मुख्य मुद्दा बनेको लालपूर्जा वितरण गर्न काम अगाडि बढ्न सकेको छैन । 
तर देवदहले मुलुकमै पहिलोपटक स्थानीय पाठ्यक्रम तयार पारी कक्षा ६ र ७ मा बौद्ध शिक्षा र देवदह परिचय भन्ने विषयको पुस्तक तयार गरी पठनपाठन शुरु गरको छ । त्यस्तैगरी शिद्धबाबाको विकल्प सडकको रूपमा रहेको मुढाबास र चौकीभञ्जाङ हुँदै झस्सा जाने सडकको ट्«याक नगरपालिकाको पहलमा खुलेको छ । 

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रदेश नम्बर पाँचमा पहिलोपटक स्थानीय कानून निर्माण गरी संघीय र प्रदेश सरकारलाई बुझायो । त्यस्तै सडक ग्राभेल योजना ल्याएर धेरै ग्राभेल हुन बाँकी रहेका सडक ग्राभेल गरिसकेको छ । सडक हरियाली र सरसफाई अभियान शुरु गरेको तिलोत्तमाले यो अभियानमा छिमेकी नगरपालिकालाई पनि सँगै हिँडाउन सफल भएको छ ।

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम ल्याएर बालबालिकालाई विद्यालय भर्ना हुने वातावरण मिलाएको छ । २५ वटा सडकको राइट अफ वे (क्षेत्राधिकार) निर्धारण, न्यून विद्यार्थी संख्या भएका सामुदायिक विद्यालय मर्ज र बहुप्रतिक्षित नगरपालिकाको आफ्नै भवनको शिलन्यासजस्ता काम झण्डै एक वर्षको अवधिमा अघि बढाइएको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरले बताउँछन् ।

घिमिरेले भने, ‘सीमित साधन स्रोतबाट सकेसम्म अधिकमत काम हामीले गरिसकेका छौं ।’ तिलोत्तमाले प्लास्टिक झोला निषेध, पशु बिमामा अनुदानजस्ता अन्य कामहरू पनि अघि बढाएको छ ।

सिद्धार्थनगर नगरपालिका पनि कछुवा गतिमा अगाडि बढेको छ । अहिलेसम्म स्थानीय कानून निर्माण समेत गर्न सकेको छैन । स्थानीय कानून निर्माण, फोहोरमैला व्यवस्थापन, नेपाल भारत सीमा नाका बेलहियामा बुद्धत्व झल्किने आकर्षक प्रवेशद्वार निर्माणको जिम्मा, ४० भन्दा बढी अलपत्र सडक निर्माण सम्पन्न गरेको नगर प्रमुख हरिप्रसाद पोखरेलले बताए । 

त्यसैगरी फोहोर फालिँदै आएको डन्डा नदीमा बोटिङ सञ्चालन गर्ने पहल, ढल निकास, डुबान समस्या समाधानको लागि छलफल गरी काम अगाडि बढाएको छ ।

सैनामैना नगरपालिकाले पनि जनताले प्रत्यक्ष देखिने कामहरू अगाडि बढाएको दाबी गर्छ । नगरबासीको अवस्थाको लगत संकलन नगरको गुरूयोजना बनाउने प्रक्रिया शुरू गरेको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

‘स्थानीय कानून निर्माण, फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन, सबै (११) वटै वडामा पार्क तथा हरियाली निर्माण, कृषि पकेट क्षेत्र बनाउने तयारी, सबै सडक ग्राभेल र स्तरोन्नति, किसानलाई अनुदान, बुद्धकालीन सैनामैना सभ्यता उत्खनन् गर्ने र लामिरहमा बहुउद्देश्यीय जलासय निर्माणको तयारी भएको छ,’ कार्कीले भने ।

तर स्थानीय तहका जानकार टीकाराम घिमिरे विभिन्न कारणले जनताको आकांक्षाअनुसार एक वर्षसम्म स्थानीय तहले काम गर्न नसकेको बताउँछन् । घिमिरेले भने, ‘केही स्थानीय तहले आशातित काम अगाडि बढाएका छन् । अन्यले भने अनुभवको कमी, साधन स्रोतको अभाव र कर्मचारीले जनप्रतिनिधिलाई सहयोग नगर्दा जनअपेक्षा अनुसार काम गरेको देखिँदैन,’ घिमिरले थपे, ‘विकासका गतिविधि केही हदसम्म बढ्न थालेको छन् ।’

त्यस्तै अर्का जानकार युवराज कंडेलले जनप्रतिनिधिले प्राथामिकता क्रम नतोक्दा योजना छनोटमा अल्झिएको बताए । ‘जनप्रतिनिधिमा अनुभवको कमी देखियो । विकासको भविष्य नहेरी काम गर्दा विवादमा समेत आएको पाइयो,’ उनले थपे, ‘उत्साहित जनताको चाहन पूरा गर्न सकेको देखिएन ।’ 

यसैगरी लुम्बिनी सांस्कृतिक, कञ्चन, कोटियामाई, मर्चकारी, मायादेवी ओमसतिया, रोहिणी, सम्मरीमाई, सियारी, शुद्धोधन र गौडहवामा पनि अपेक्षाकृत काम भइसकेको छैन ।

असार १४, २०७५ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस