असार १४, २०७५

एक जना कोरियाली साथी भन्दै थिए – हामी कोरियनको इतिहास के हो भने कुनै बेला नेपालले कोरियाली जनताका लागि खाद्यान्न सहयोग गथ्र्यो । तर, अहिले कोरिया र नेपालको अर्थतन्त्रको परिदृष्य फरक छ । कोरिया विकासको गतिमा छ, नेपाल विकासको बहसमै छ । 

तपाईं अहिले हेर्न सक्नुहुन्छ, कोरिया सरकारले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगमार्फत् मात्र नेपालमा ५० मिलियन अमेरिकी डलरभन्दा बढी नेपालका सरकारी र गैरसरकारी क्षेत्रमार्फत् खर्च गर्ने हैसियत बनाएको छ । यति मात्र होइन, विश्व बजारमा नेपालजस्ता थुप्रै देशलाई कोरियाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । त्यसो भए कोरियाको यो प्रगतिको मुख्य कारक के हो त ? मेरो प्रश्नमा उसले उत्तर फर्काए – हामीसँग दक्ष मानव स्रोत थियो र छ । त्यसैको प्रभावकारी प्रयोगले हाम्रो देशले विकासको गति लिएको हो ।


अर्की एक जना अमेरिकी नागरिक राचेलले एक प्रसङ्गमा भनिन् – ‘टाइम इज मनि’ । सैद्धान्तिक कुरालाई सहमति जनाउँदै मैले प्रतिवाद गरे – विकसित देशमा समयको महत्व कति हुन्छ, म राम्रोसँग जान्दछु । तर, नेपालमा यसको भावार्थले मेल खाँदैन । उनले फिस्स हाँस्दै भनिन् – हाम्रो देशमा आफ्नै परिवारको सदस्यसँग कहिले–काहीँ हप्तौसम्म भेट हुँदैन । उनले फेरि थपिन् ‘वी हेभ नो इनफ टाइम टु स्लिप । स्टिल इन दिस डिकेट नेपलिज आर स्लिपिङ्ग विथ आउट ड्रिम एण्ड सोसिअल रिस्पोन्सिविलिटी ।’

एक दिन त्यही कोरियालीले एउटा प्रसङ्गमा भने – मैले नेपाल सरकारको जनसंख्याको प्रतिवेदन हेरेको छु कि नेपालमा कुल जनसंख्याको करीब ४० प्रतिशत जनसंख्या ३५ वर्षमुनिको छ । एक हिसाबमा नेपाल युवाको देश हो । यो मानव स्रोतलाई सरकारले सही ठाउँमा प्रयोग गर्न सके देश र जनताले छोटो समयमा परिवर्तनको महशुस गर्न सक्छ ।

केही समयदेखि नेपालमा कार्यरत यी विदेशी मित्रलाई तपाईलाई नेपाल कस्तो लाग्यो ? सोचेजस्तै वा फरक भन्ने विषयको छलफलका क्रममा उनीहरूले फेरि थपे – ‘हेयर इज नो सिस्टम एभरीवेयर पिपुल वारगेनिङ्ग फर मनि’ ‘अस्पतालमा पनि सिस्टम छैन, सार्वजनिक सवारी व्यवस्थित छैनन् । होटलमा विदेशी भन्यो कि पैसा धेरै माग्छन् । हवाई सेवा सुरक्षित छैनन् । तपाईलाई थाहा छ ? हाम्रो देशमा सिस्टम छ । सबैले सिस्टमभित्र बसेर काम गर्नुपर्छ ’ उनीहरुको भनाइको सारांस थियो ।

युवा जमातमा अनावश्यक बहस गर्ने हो भने यो देश कसले बनाउने ? ब्राजिल आएर बनाउने हो हाम्रो देश कि पोर्चुगल आएर बनाउने हो ?

मैले यी प्रसङ्ग किन जोेड्न खोजेको हो भने सौभाग्यवश मैले देशको थुप्रै जिल्ला घुमेको छु । मुख्यतः मधेश, तराई, सुदूरपश्चिम अनि कर्णालीका थुप्रै वस्तीमा पुगेको छु । ती दूरदराजका गाउँमा युवा प्रायः भेटिँदैनन्, भएका किशोरकिशोरीमा कुनै रहर लाग्दा सपना भेटिँदैनन् । भविष्यको लक्ष्य भेटिँदैनन् । यस्ता थुप्रै ठाउँ घुम्दा मैले त्यही कोरियनले भनेको कुरा धेरै पटक सम्झेको छु । प्रतिवेदनले देशलाई युवाको देश भन्छ । तर, विकट अनि देशका गाउँ त बुढो पो भइसकेछन् । सपनाविहीन गाउँ, गाउँलेहरू मर्दा–पर्दा मलामी पाउँदैनन् । गाउँमा अनुहार चाउरिएका बाआमा र त्यही केटाकेटी हुकाइरहेकी महिलाहरू छन् । अझै महिला पनि बालबच्चाको गुणस्तरीय पढाइको लागि भन्दै शहरमै बस्छन् ।

कर्णाली प्रदेशको मुगु जिल्लाको सोरु गाउँपालिका जाँदै गर्दा बाटोमा १ जना १६ वर्षे युवा भेटे । अनौपचारिक कुरापछि मैले सोधे भाइ स्कूल जाँदैनौ ? उनले रुखो जवाफमा गजबको उत्तर फर्काए – ‘पढेर क्या गन्र्या । जसरी पनि पैसा कमाउने हो । मेरो उमेर नपुगेर मात्र हो । अहिले १६ वर्षको भए । १० कक्षामा पढ्छु, परीक्षा दिन मात्र स्कूल जान्छु । अब अर्को वर्ष १७ वर्ष पुगेपछि पासपोर्ट बनाउने हो, विदेश जाने हो । गाउँका सबै दाईहरू विदेश छन् । कोही विदेश जान भनेर शहरमै बसेका छन् ।’ काठमाडौंको कुनै मेनपावर कम्पनीको नाम लिएर उनले आउँदो वर्षको लटमा आफू लगायत १२ जना गाउँका युवा विदेश जाने गोप्य कुरा खोले ।

विकसित देशमा केही महत्त्वपूर्ण सवालबाहेक प्रायः नागरिक खासै चासो राख्दैनन् । जिम्मेवार सार्वजनिक व्यक्तिका धारणाप्रति पनि अपेक्षित प्रतिक्रिया देखिँदैन । मुख्यतः दक्षिण एसियाका जनताले अनावश्यक कुरामा चासो राख्छन्, त्यसमा पनि नेपाली युवामा अलि बढी नै यो प्रवृत्ति देखिन्छ । यसो भन्दै गर्दा मैले सामाजिक सञ्जालको प्रयोगमाथि र युवा मस्तिष्कको प्रभावमाथि प्रश्न गर्न खोजेको कदापी होइन, शंका भने पक्कै हो ।
हामी युवाले समाजमा विद्यमान विभेदका सवाल, समाजका जनजीविकाका सवाल, समाज अनि राज्यका गलत प्रवृत्तिका सवाल, देश विकासका सवाल, विकृत राजनीतिका सवालमा जति बहस र छलफल गर्नुपर्ने हो, गर्न सकेनौ । जिम्मेवार नागरिकको दायित्व, शिक्षित युवा जमातको कर्तव्य देश निर्माणको एउटा पाटो बन्नुपर्ने होइन ?

हाम्रै छिमेकी भारतले क्रिकेटमा विश्वकप जित्दा, गाली गर्नेे हामी नेपाली युवा अहिले होटलमा बसेर भोट्का तान्दै मेस्सी, रोनाल्डो, नेयमार र मुसाहरूको भजन गाएर नेपाली समाजलाई के फाइदा हुन्छ ?

हुन त भारतीय प्रधानमन्त्री गत वर्ष मात्र सामाजिक सञ्जालमा सबैभन्दा बढी ‘फलोअर’ भएको वर्ष व्यक्ति घोषणा नै भए । यस अर्थमा नेपाली भएकोमा गर्व गर्ने ठाउँ भने हामीले पनि बनाएका छौं । पहिलो इन्डियन आइडलमा जम्मा ३ करोड नेपालीले करीब १ सय २७ करोड जनसंख्या भएको भारतलाई उछिन्यौं । हामीले प्रशान्त तामाङ्गलाई नेपाली इन्डियन आइडल बनायौं । अर्को प्रख्यात भारतीय ‘रियालिटी सो लिटल च्याम्प’मा पनि तेरियालाई हामीले जितायौं । विभिन्न अरु क्षेत्रका प्रतिस्पर्धीलाई पनि हामीले अन्तर्राष्ट्रिय मञ्चमा विजेता बनाएका छौं । यस अर्थमा हामी एक नेपालीले अर्को नेपालीको भलाईप्रति कति जिम्मेवार छौं ? प्रष्ट हुन्छ ।

फिफा विश्वकप खेल जगतको महान पर्व नै हो । सन् १९३० मा शुरू भएको विश्वकप सन् २०१८ सम्म आई पुग्दा २१ औं संस्करण रसियामा सञ्चालन भइरहेको छ । १४ जुनबाट शुरू भएको विश्वकप आउँदो १५ जुलाईमा सम्पन्न हुँदैछ । विश्वकपका सवालमा रमाइलो पक्ष त के छ भने एसिया महादेशका थोरै देश विश्वकपमा सहभागी छन् । सिंगो दक्षिण एसियाले विश्वकपमा प्रवेश पाएको गौरवको इतिहास छैन । यसको मतलब हाम्रो देश मात्र होइन, सिंगो एसिया महादेशले खेलकुदमा खासै चासो नदिएको प्रष्ट हुन्छ । तर, उदेकलाग्दो विषय हामी नेपाली युवालाई विश्वकप नराम्रोसँग लागेको छ, जुन आवश्यक पनि होइन ।

विगत र वर्तमान अवस्थामा नेपालले पनि खेल जगतमा उत्साहजनक प्रगति गर्न नसकेको होइन । तर पनि जीवन र उद्देश्यविहीन नेपाली खेल क्षेत्रमा कयौं हस्ती निराशासहित खेल क्षेत्रबाट हराएका छन् । यति मात्र होइन, मिडियामा आफैंले प्राप्त गरेका मेडल बेचेर गुजारा चलाइरहेका तीता समाचार सम्पे्रषण हुँदा खेल जगतसँग सरोकार राख्ने क्षेत्र र स्वयम् राज्य र सरकार खेल क्षेत्रप्रति चासो नदिएको प्रष्ट्याउँछ । विश्व जगत्मा देशलाई परिचित गराउन खेल जगतको महत्त्वपूर्ण भूमिका रहेपनि हाम्रो देशले विश्व खेल क्षेत्रमा प्रभाव निर्माण गर्न नसकेकोमा हामी नेपाली खेलप्रेमी बाहिरी दुनियाँको फण्डामा बहस गरिरहेका छौं ।

देशमा राजनीतिक परिवर्तन संस्थागत हुँदै गर्दा हामी युवाले विकास मोडलबारे बहस गर्न सकेनौं, जति हामीले गर्नुपथ्र्यो । देश विकासमा युवाको भूमिका के हुने ? हामी युवाले बहस गर्न सकेनौं । सामाजिक विकृति र विसंगतिविरुद्ध सचेत युवाले बहस गर्न सकेनौं, जति हाम्रो समाजलाई आवश्यक थियो र छ । शैक्षिक क्षेत्रका विकृतिका सवालमा हामीले बहस गर्न सकेनौं, जति हामीलाई आवश्यक थियो ।

अस्ति मात्र कालिकोटमा दलित महिलाको हत्या भयो । कुनै युवाले त्यो सवालमा बोलेनन् । केही दिन अगाडि मात्र दलित जनप्रतिनिधिले डेरा नपाएका बडो लज्जाबोध हुने समाचार सम्प्रेषण भए । कोही युवा साथी सार्वजनिक रुपमा बोलेनन्, संविधान निर्माणका बेला संविधान सभाले जनतासँग राय लिँदा हामी युवाले खासै सिर्जनात्मक सल्लाह दिन सकेनौं ।

विश्वकप र खेल जगतलाई हामीले सम्मान गर्नैपर्छ । तर, नेपाली युवामा विश्वकपको नचाहिँदो प्रभाव देखिएको छ । हाम्रै छिमेकी भारतले क्रिकेटमा विश्वकप जित्दा, गाली गर्नेे हामी नेपाली युवा अहिले होटलमा बसेर भोट्का तान्दै मेस्सी, रोनाल्डो, नेयमार र मुसाहरूको भजन गाएर नेपाली समाजलाई के फाइदा हुन्छ ?

विश्वकपबारे जति हामी बहस गरिरहेका छौं, त्यति बहस नेपाली खेलकुद क्षेत्रको विकासका पक्षमा गर्ने हो भने देशले निकास पाउन सक्थ्यो । जति हामी खेलाडीको बारेमा बहस गरिरहेका छौं, त्यति बहस नेपाली खेलाडी र सम्भावित खेल क्षेत्रको बारेमा बहस गरिदिने हो भने मात्र पनि नेपाली खेलाडीमा अर्को आशालाग्दो पुस्ता जन्मिन्थ्यो, खेल क्षेत्रका हस्तीमा उर्जा जन्मिन्थ्यो । हामी आफूभित्र प्रतिभाको खोजीमा लाग्न सकेका छैनौं, बरु छिमेकीको प्रगतिबाट पनि गर्व गर्न सकेका छैनौं ।

हामीलाई थाहा छ, देश अनि समाजमा अहिले थुप्रै समस्या विद्यमान छन् । आउ हामी त्यहाँनिर बहस गरौं ।

हामी युवाको सिर्जनात्मकतालाई देश विकासमा कसरी प्रयोग गर्ने ? त्यहाँनिर बहस गरौं । नीति निर्माणको क्रममा हाम्रा प्रतिनिधिलाई सुझाव सल्लाहका लागि बहस गरौं । राज्यमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी रुपमा युवाको परिचालन कसरी गर्ने ? त्यहाँनिर बहस गरौं । युवा जमातमा अनावश्यक बहस गर्ने हो भने यो देश कसले बनाउने ? ब्राजिल आएर बनाउने हो हाम्रो देश कि पोर्चुगल आएर बनाउने हो ?

समाजमा विद्यमान छुवाछुतजस्तो विकृत रुपलाई कसरी निर्मूल पार्ने ? आउ त्यहाँनिर बहस गरौं । शिक्षामा विद्यमान असमानतालाई कसरी अन्त्य गर्ने ? बेरोजगारी समस्याको हल कसरी गर्ने ? सरकार र राज्यलाई सुझाव सल्लाह दिन बहस गरौं ।

स्थानीय स्रोतसाधनको प्रभावकारी प्रयोग कसरी गर्ने ? वातावरणमा नराम्रो पर्यावरणीय प्रभाव परिरहेको छ, यसका सवालमा बहस गरौं । देशका कुना कन्दरामा जन्मिएका प्रतिभालाई कसरी फलाउने फुलाउने ? सर्वसुलभ शिक्षा र गुणस्तरीय शिक्षाका आधार के हुन सक्छन् ? समाजमा विद्यमान लैंगिक, जातीय विभेदलाई कसरी अन्त्य गर्ने ? बहस गरौं ।

हामीसँग समस्याका चाङ छन्, ती समस्याबाट देशलाई कसरी मुक्त गर्ने ? जिम्मेवारी सरकार र राज्यको हो भन्ने, अनि दायित्व र कर्तव्यबाट एउटा युवा नागरिक भाग्न मिल्छ ? युवा जिम्मेवार बन्ने कि नबन्ने ?

विश्वकप कसले जित्छ ? कुन खेलाडीले कति गोल हान्छ ? यो हाम्रो सरोकारको विषय होइन । अहिले देशमा व्यवस्था फेरिएको छ, राजनीतिक कोर्स बदलिएको छ । बेग्रल्ती जनताका इच्छा आकांक्षा छन् । यति मात्र होइन, सिङ्गो युवाका सपना साकार पार्ने वचन हाम्रो सरकारले दिएको छ । यो अभियानमा सिर्जनात्मक बहस र छलफल गरौं, देश बनाऔं । हामीले देश बनाए हाम्रो सन्तानले यही भूमिमा विश्वकप खेलाउने सौभाग्य पाउलान्, विश्व जगतलाई हाम्रो भूमिमा निम्तो दिन पाउलान् ।

युवा जमातमा अनावश्यक बहस गर्ने हो भने यो देश कसले बनाउने ? ब्राजिल आएर बनाउने हो हाम्रो देश कि पोर्चुगल आएर बनाउने हो ? समयको मूल्यलाई समयमै बुझेर देशको भविष्य र सन्तानको भविष्य बनाउने महान् अभियानको थालनी गरौं, जय युवा !
 

असार १४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस