कमरेडहरू, मदन भण्डारीको हत्यारा किन पत्ता लागेन ?

असार १७, २०७५

एउटा मान्छे हुन्छ
एउटा योद्धा हुन्छ
एउटा मान्छे मर्दा
स्वास्नी विधवा हुन्छे
छोराले बर्खी बार्छ
एउटा योद्धा मर्दा
राष्ट्र विधवा हुन्छ
इतिहासले बर्खी बार्छ । (क. मदन भण्डारी)

यी मार्मिक कविताका हरेक बिम्बहरूमा कता–कता मदन भण्डारीको आत्मा बोलेजस्तो, प्रेत जागेजस्तो लाग्छ । हुन त मैले यसलाई कविताको नामकरण गरें तर यो कविता हो कि हैन थाहा छैन । पुर्वानुमान गरेजस्तो आफ्नै जीवनसँग मेल खाने यी सुन्दर हरफहरू भण्डारीले कुन घुम्टीमा रोकिएर कोरेका थिए होलान् ? के उनलाई आफ्नो अकल्पनीय मृत्युका बारेमा अग्रिम शंका थियो ?

हरेक वर्ष मदन भण्डारीको स्मृति दिवस उपस्थित हुन्छ । जन्मजयन्ती आउँछ । उनका विचारका सन्दर्भमा गोष्ठीहरू भइरहन्छन् । हालसालै मदन भण्डारी मेमोरियल फाउन्डेसनको आयोजनामा ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठी आयोजना गरेर भण्डारीको ६७ औं जन्मजयन्ती मनाइयो । पार्टीनिकट अन्य संस्थाहरूले पनि विविध कार्यक्रम गरेर जन्मजयन्ती मनाए ।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा विगतका वर्षहरूमा झैं तिनले बिरुवा रोपे, अनाथ बालबालिकालाई एकछाक भोजन खुलाए । अस्पतालका शय्यामा सुतिरहेका बिरामीहरूलाई फलफूल वितरण गरे । सडक सरसफाइ गरे । खेलकुद प्रतियोगिताको आयोजना गरे । तिनले मदन भण्डारीको सम्मानमा गर्नुपर्ने कुनै कसर बाँकी राखेका छैनन् । 

सम्मानकै लागि तँछाडमछाड गरेर तत्कालीन नेकपा एमाले पार्टीको गुटअनुसार मदनको नाममा तिनले फाउन्डेसन र प्रतिष्ठान समानान्तर रूपमा चलाए । राज्यको बजेटबाट संग्रहालयहरू निर्माण गरे । कतिपयले पकेट खर्च बनाए, जीविका र दैनिकीहरू पनि चलाए । जे होस्, मदनको नाम जनताको बहुदलीय जनवाद भजाएर तिनले धेरै थोक गरे । यतिसम्म कि सम्मानका कार्यक्रमहरू समेत गुटअनुसार प्रतिस्पर्धा गरेरै आयोजना गरे ।

तिनीहरूले धेरै चीज गरे । तर केवल तिनीहरूले एउटै काम कहिल्यै गरेनन् । अझ भनौं गर्न चाहेनन् । त्यो हो, तिनले आफ्ना प्रिय नेताको हत्यारा को हो ? त्यो थाहा पाउन खोजेनन् । आफ्नै पार्टीका नेताहरू पटकपटक सरकार प्रमुख (प्रधानमन्त्री) हुँदासमेत मदन भण्डारीको हत्यारा किन पत्ता लागेन भनेर तिनीहरूले कहिल्यै सोधेनन् । शायद तिनीहरू प्रश्नहरूसँग थाकिसकेको हुनुपर्छ । प्रश्नहरूसँग सम्झौता गर्ने आदत भइसकेको हुनुपर्छ । तर हरेक जन्मजयन्ती र स्मृति दिवसहरूमा आम जनताहरूको एउटै प्रश्न छ, मदन भण्डारीको हत्यारा को हो ? 

तिनीहरूलाई चेतना होस्, मदन भण्डारीको सच्चा सम्मान चारतारे होटलमा भेला भएर, सरकारी रकम दुरुपयोग गरेर अनि जबजको मात्रै चर्चा गरेर हुँदैन । उनको सम्मानको लागि त हत्याराको खोजी गरेर हुन्छ । मदन भण्डारीको सच्चा सम्मान, कुनै गोष्ठीमा समारोहमा एकथाल मासु र पुलाउ खाएर हुँदैन । उनको सम्मानका लागि त मदनले देखेका सपनाहरूलाई पुरा गरेर हुन्छ । यहाँ एकथान राजा रहने र नरहने कुराले त्यति ठूलो अर्थ राख्दैन । तर मुलुकमा नोकरशाही पूजीँपतिहरूको हालीमुहाली रह्यो भने राजा रहेपनि नरहेपनि जनताको मनमा खुशियाली आउनेछैन ।

अदालतबाट दोषी ठहर भई सजाय काटेर निस्केका लामाको २०६० साउन ११ गते कीर्तिपुर लखेटीलखेटी हत्या गरियो । दासढुंगा दुर्घटना जति रहस्यमय छ, अमर लामाको लखेटीलखेटी गरिएको हत्या झन् धेरै रहस्यमय छ । अमर लामाको हत्या कुन प्रयोजनका निम्ति कसले गर्‍यो ? 

इतिहासले बर्खीबारेको दिन

पङ्क्तिकार अबोध बालक थियो । अतः गुच्चा खेलिरहेको थियो जतिखेर मदन भण्डारी र जीवराज आश्रित दासढुंगा भन्ने ठाउँमा सवारी दुर्घटनामा परेर निधन भएको सनसनीपूर्ण खबर रेडियो नेपालमा बजिरहेको थियो । हाम्रा गाउँका बाजेहरू एकै ठाउँ भेला भएर, कान ठाडो पारेर समाचार सुनिरहेका थिए किनभने तिनीहरू एमाले थिए । कतिसम्मका कट्टर एमाले भने भात खाने थालमा पनि सूर्य चिह्न खोपाएका थिए । 

यो प्रसंग अब अपडेट गरिरहनुपर्ने त हैन, तर पुनर्ताजगीका लागि मात्र । त्यो के भने २०५० साल जेठ ३ गते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परेर तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भयो । यो दुर्घटना थियो या हत्या भन्ने कुरा अझैसम्म गर्भमै छ । तर नेपाली इतिहासले बर्खी भने बार्‍यो ।

रोचक पक्ष त के देखिन्छ भने दासढुंगा दुर्घटनाका एकमात्र प्रत्यक्षदर्शी थिए मदन भण्डारीका गाडी चालक अमर लामा । तिनका बारेमा अनेकौं किस्साहरू लेखियो, लेख्न लगाइए । बोलियो, बोल्न लगाइए । सम्मानित अदालतबाट दोषी ठहर भई सजाय काटेर निस्केका लामाको २०६० साउन ११ गते कीर्तिपुर लखेटीलखेटी हत्या गरियो । दासढुंगा दुर्घटना जति रहस्यमय छ, अमर लामाको लखेटीलखेटी गरिएको हत्या झन् धेरै रहस्यमय छ । अमर लामाको हत्या कुन प्रयोजनका निम्ति कसले गर्‍यो ? 

परिवारको र शुभचिन्तकको बेवास्ता

केही समयअघि ऊर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को अपराह्न उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु एकदमै दुःखद भएको बताएकी थिइन् । राष्ट्रपति भण्डारी मदनकी श्रीमती हुन् । विद्याले २०३९ सालमा तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसित भूमिगत रूपमै विवाह गरेकी थिइन् । 

उनले चाहेमा आजको दिनमा पनि दासढुंगा प्रकरणलाई कडाइका साथ छानबिन गर्न सक्छिन् किनभने दोस्रो विश्वयुद्धमा भएका अमानवीय अपराधहरूको फैसला अझै पनि अदालतले गर्दैछन् । आपराधिक घटना नयाँ वा पुरानो भन्ने नै हुन्न । जस्तो कि हिटलरले दुःख दिएर, ग्यासको च्याम्बरबाट जोगिएर इजरायल भागेकाहरूलाई अहिले जर्मन सरकारले क्षतिपूर्ति उपलब्ध गराइरहेको छ । 

मदन भण्डारीका दुई छोरीहरूले पनि बेलाबेलामा बाबाको हत्या कसले गरेको हो भन्ने बारेमा सत्यतथ्य जान्न चाहेको प्रतीत हुन्छ । तर ती स्वरहरू बीचबाटोमै हराउँछ । शायद अपहरण गरिन्छ । एक प्रसंगमा जेठी छोरी ऊषाकिरण भण्डारीले आफ्नो बाबाको मृत्युलाई हत्या भएको बताएकी थिइन् । साथै झोक चलेको बेला वरिष्ठ नेता माधवकुमार नेपालले मदन दुर्घटना नभई हत्या भएको कुरा उद्घोष गर्छन् । तर कुन शक्तिले हत्या ग–यो ? त्यो चाहिँ खुलाउँदैनन् । 

बजारमा चलेका हल्लाहरू अन्तिम सत्य हैनन् तर सत्यताको नजिकनजिक चाहिँ हुन्छन् । मदन भण्डारीको हत्यामा पार्टीकै जिम्मेवार नेताहरूको समेत कुनै न कुनै रूपमा संलग्नता रहेको चर्चा आजको मितिसम्म पनि चलिरहेको छ । जसरी राजा वीरेन्द्रको वंशनाश आफ्नै वंशकाले गरे, जबजको वंशनाश समेत आफ्नैले त गरेका हैनन् ? आज हरेक सचेत नेपाली नागरिकहरूले सोध्नुपर्ने बेला भएको छ – कमरेडहरू, मदन भण्डारीको हत्यारा किन पत्ता लागेन ?

नेकपा एमालेले केपी ओलीको अध्यक्षतामा गठन गरेको छानबिन आयोगले दासढुंगा काण्डबारे एक पेजको रिपोर्ट तयार गरेको थियो । अहिले त्यो रिपोर्ट कहाँ छ ? कसैलाई थाहा छैन । रिपोर्ट पार्टीलाई बुझाए  नबुझाएको पत्तोसमेत छैन

तत्कालीन एमालेको भूमिका नै शंकास्पद

मदन भण्डारी तथा जीवराज आश्रित चढेको जीप दासढुंगामा दुर्घटना भई दुवैजनाको घटनास्थलमा नै निधन भएपश्चात् स्वाभाविक रूपमा आफ्ना जनप्रिय नेताद्वयको हत्या भएको भन्दै एमालेले आन्दोलन चर्कायो किनभने राजासँग टक्कर लिनसक्ने एकमात्र नेता मदन भण्डारीले खुला मञ्चहरूबाट राजालाई ठाडै चुनौती दिइरहेका थिए । आन्दोलन उग्र बन्दै गएपछि पूर्वन्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन आयोग गठन गरियो । तर अनिल आयोगको प्रतिवेदनमा एमालेले चित्त बुझाएन ।

त्यसपश्चात् एमालेले दासढुंगा काण्डको छानबिन गर्न तत्कालीन स्थायी समिति सदस्य केपी ओली आयोग गठन गरियो । र यो समूहले नै प्रचण्डराज अनिलको प्रतिवेदन मन पारेको थिएन, यद्यपि यहाँ धेरै फ्याक्टरहरू थिए भनिन्छ । यसबारेमा राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक नलेखिएको इतिहासबाट रहस्यमै दासढुंगा घटनाको संस्मरण गरेका छन् । 

उनले आफ्नो पुस्तक नलेखिएको इतिहासमा लेखेका छन्, ‘नेकपा एमालेले केपी ओलीको अध्यक्षतामा गठन गरेको छानबिन आयोगले दासढुंगा काण्डबारे एक पेजको रिपोर्ट तयार गरेको थियो । अहिले त्यो रिपोर्ट कहाँ छ ? कसैलाई थाहा छैन । रिपोर्ट पार्टीलाई बुझाए  नबुझाएको पत्तोसमेत छैन । २०५१ को एमाले सरकारमा केपी गृहमन्त्री छँदा पनि दासढुंगा काण्डबारे केही भरपर्दा सूचना हात परेका थिए भनिन्छ । 

सूचनाको एउटा दृश्य यस्तो थियो, ‘मदन–आश्रित सवार गाडीको पछिपछि एउटा ट्रक आइरहेको थियो । त्यस ट्रकको चालकले मदनहरू सवार गाडी त्रिशूलीमा खसेको देख्यो । खसिरहेको गाडीबाट शुरूमै एकजना व्यक्ति बाहिरियो । त्यसपछि ऊ नदी किनारमा पुगेर आफ्नो जिउमा पानी छर्कंदै सडकतिर उक्लियो ।’ मोरङका पार्टी कार्यकर्ताले केपीलाई यस्तो रिपोर्ट गरेपनि उनले ठाडो कान लगाएनन् ।

भारत, नक्सलबारीमा डेरा गरी बस्ने एकजना व्यक्तिले भनेको कुरा उद्धृत गर्दै अर्का झापावासीले केपीलाई यस्तो रिपोर्ट दिएका थिए, ‘हामीले नेपालमा ठूलो दुर्घटना गरायौं । तर त्यसबापत पाउनुपर्ने जति रकम पाएनौं ।’ केही समयपछि त्यो मानिस नक्सलबारीबाट अन्यत्रै गयो रे ! सो व्यक्तिको थर, ठेगानै दिएका थिए झापाका साथीहरूले । तर कतैबाट चासो देखाइएन ।

मदन भण्डारीको निधनपश्चात् सेतो सारी लगाएर दुईपटक चुनाव जित्नुभएकी मदनपत्नी  विद्यादेवी भण्डारी सम्माननीय राष्ट्रपति भइरहँदा समेत यो घटना बुलन्द हुँदैन भने तपाईं हामी आमनागरिकलाई कसले बाल दिन्छ र ?

मनमोहन अधिकारीले पनि सकेनन्

स्व. मनमोहन अधिकारी प्रधानमन्त्री निर्वाचित भए । उनी तत्कालीन एमालेका अधक्ष थिए । फेरि पनि जनताको स्तरबाट दासढुंगा हत्याकाण्डको छानबिनको चर्को माग उठ्यो । मनमोहनलाई निकै ठूलो दबाब आयो । एककिसिमको नैतिक संकट पनि भयो मनमोहनका लागि किनभने उनी प्रधानमन्त्री थिए । उनको हातमा राज्यका सबै निकाय थिए । तर दुःखको कुरा, नौ महिनाको लोकप्रिय सरकार चलाएको मनमोहन सरकारले मदन–आश्रितको दुर्घटनाबारे जाँच गर्ने कुनै प्रयत्न नै गरेन । 

त्यो अल्पमतको सरकारका गृहमन्त्री एवं हालका प्रधानमन्त्री केपी ओलीले बहुमतको सरकार भए हत्यारा पत्ता लाग्ने दाबी गर्नुभएको थियो । अहिले ओलीसँग दुई तिहाइको पूरै बहुमत छ । राष्ट्रपति दाहिना हुनुहुन्छ । राज्यको संयन्त्रमा जेजस्ता शक्तिकेन्द्रहरू छन्, ती सब प्रम ओलीले परिचालन गर्न सक्नुहुन्छ । नयाँ र ठूलो पार्टी कम्युनिस्ट पार्टी निर्माण भएको छ । सशस्त्र युद्ध लडेर आएको तत्कालीन नेकपा माओवादी लगभग जबजकै कित्तामा उभिएको देखिन्छ । दोषी पत्ता लगाउने यो सारै अनुकूल समय छ । 

तर दुःखको कुरा यो छ कि कार्यकर्ताहरूका लागि र सम्भवतः आम मानिसका लागि समेत यो दासढुंगा घटना पुरानो भयो । चर्को नारा लगाउने, रेलिङ भत्काउने कार्यकर्ताहरू मोबाइलको साइलेन्स मोडमा जस्तै आवाज ननिकालेर बसेका छन् । तिनीहरूले आफ्ना नेताहरूलाई किन हत्यारा पत्ता नलगाएको भनेर सोध्ने हिम्मत जुटाएका छैनन् । अरू त के कुरा ? मदन भण्डारीको निधनपश्चात् सेतो सारी लगाएर दुईपटक चुनाव जित्नुभएकी मदनपत्नी  विद्यादेवी भण्डारी सम्माननीय राष्ट्रपति भइरहँदा समेत यो घटना बुलन्द हुँदैन भने तपाईं हामी आमनागरिकलाई कसले बाल दिन्छ र ?

असार १७, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस