तेह्रथुमको नयाँ शहर वसन्तपुर : काम सुस्त, बजार अस्तव्यस्त !

असार १७, २०७५

प्रकाश धौलाकोटी

तेह्रथुम, १७ असार –वसन्तपुरलाई सरकारले आठ वर्षअघि अत्याधुनिक सेवा सुविधा सहितको नयाँ सहर निर्माणको घोषणा गर्दा स्थानीय छिरिङ शेर्पा कम हौसिएकी थिइनन् । उनलाई त्यति बेला लागेको थियो, ‘अब यहाँका गाउँबासी पनि शहरवासी हुने भए, वसन्तपुर अब छिट्टै आधुनिक शहर बन्ने भयो ।’


त्यतिबेला सरकारको ‘नयाँ शहर’ विकास गर्ने घोषणाले वसन्तपुरका व्यवसायी मछिन्द्र सुब्बा पनि हौसिए । उनलाई बजार विकासले गति लिन्छ, र लगानीको बातावरण बन्छ, भन्ने लागेको थियो । तर आशा गरे जसरी नयाँ शहर निर्माणको काम अघि नबढ्दा अहिले उनीहरु निराश छन् । 

सरकारी घोषणा कागजमै सीमित बन्दा स्थानीयबासीमा पलाएको खुसी सेलाउदै गएको छ ।  आर्थिक वर्ष ०६७/६८ को बजेट भाषणमार्फत सरकारले यहाँको लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर सहित देशका अन्य दश वटा बजारलाई नयाँ शहर छनौट गरी विकास गर्ने योजना अघि सारेको थियो । 

मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको संगमस्थल वसन्तपुरमा नयाँ शहरको रूपमा विकासका लागि बस्ती विकास गरी वि.सं.२०९० साल भित्र एक लाख जनसंख्या राख्ने सरकारी योजना छ । तर लक्ष्य अनुसार सरकारले विकासका पूर्वाधार निर्माण गर्न सकेको छैन । सरकारी घोषणापछि नयाँ शहरको रूपमा चर्चा पाएको यो बजारका बासिन्दा नयाँ शहर विकासमा काम भन्दा बढी हल्लामात्रै भएको बताउँछन् । 

तेह्रथुम, संखुवासभा र धनकुटाका झण्डै २ दर्जन बढी गाउँको व्यापारीक केन्द्र वसन्तपुरमा शहरी विकास मन्त्रालयले नयाँ शहर विकास आयोजनाको कार्यालय पाँच वर्ष अघि स्थापना भएपनि कार्यालयले आफ्नै भवन बनाउनका लागि समेत जग्गा व्यवस्थापन गर्न सकेको छैन । 

बीस वर्षको अवधिमा आधुनिक शहर सरकारले तत्काल गठन गरेको नगर विकास समितिको अगुवाइमा ‘कृषि, पर्यटन, पूर्वाधार र संस्कृति, लालीगुराँसको राजधानी वसन्तपुरको समृद्धि’ मुख्य नारा कायम गरी नयाँ शहर विकासको काम थालेको थियो । लक्ष्य अनुसार वसन्तपुर नयाँ शहरको रूपमा विकसित हुन अब पन्ध्र वर्षमात्रै बाँकी छ । तर अहिलेसम्म नयाँ शहरको रूप कस्तो हुने भन्ने समेत टुंगो लागिसकेको छैन ।  

सरकारले बढ्दो बसाई सराईलाई नियन्त्रण गर्ने ध्येयले नयाँ शहर निर्माण गरी एकलाख जनसंख्या बसाउने भनिएको वसन्तपुर बजार केन्द्र रहेको सिंगो लालीगुराँस नगरपालिकाको जनसंख्या १६ हजार ९ सय ३४ छ । जागिरे र डेरावाल समेत गरेर पनि यहाँको जनसंख्या २० हजार बढी छैन । नयाँ शहर विकास गर्ने योजनामा बजार क्षेत्रमा जग्गाको मूल्य आकासिए पनि किनबेचको क्रम भने उत्साहजनक छैन । बजार क्षेत्रमा नयाँ घर थपिनेक्रम सुस्त छ । 

घर जग्गाको कारोबार ठप्प

बजारको बीच भागबाटै मध्यपहाडी लोकमार्ग निर्माण हुने भनेपछि अहिले बजार क्षेत्रका घर जग्गाको कारोबार ठप्प छ । बजारमा २ सय १३ घर छन् । तीमध्ये कुनै पनि घरको नक्सा पास छैन । नक्सापासका लागि आवश्यक प्रक्रिया सुरु भएको छैन । भवन निर्माण आचार संहिता विपरीत जथाभावी निर्माण गरिएका घरहरुले बजार कुरूप देखिन्छ । 

सडकको ट्रयाक कहाँबाट निर्माण हुने भन्ने अन्योलले बजार क्षेत्रमा घर जग्गाको कारोबार ठप्प रहेको स्थानीय रामकृष्ण निरौलाले बताए । ‘यहाँका सबै घरको नक्सापास छैन, घर जग्गाको कारोबार पनि ठप्प छ,’ उनी भन्छन्, ‘सडकको अन्योलताका कारण घर जग्गा धितो राख्न बैंकले मान्दैनन्, नयाँ घरहरु बनेका छैनन्, अनि कसरी शहरीकरण बढ्नु ? र बन्छ नयाँ शहर ?’ बजार क्षेत्रमा जथाभावी फालिएको फोहोर व्यवस्थापन समेत गर्न सकिएको छैन ।  बजार क्षेत्रबाट संकलन हुने र बगेर जाने ढल र फोहोर व्यवस्थापन समेत भएको छ । बजारबाट बगेर जाने फोहोर र ढलले करीब दुई सय मिटर तलको क्षेत्र समेत दुर्गन्धित बनेको छ । 

जग्गा एकीकरणमा अन्योल

नयाँ शहर विकासकालागि आवश्यक संरचना निर्माण र बस्ती विकासका लागि  आवश्यक कम्तिमा पनि पाँच सय रोपनी जमीन वसन्तपुरबासीले सरकारलाई दिन तयार भएको दुई वर्ष बित्न लागेको छ । तर सरकारी तवरबाटै जग्गा अधिग्रहण गरी संरचना निर्माण र प्लानिङ गर्ने प्रक्रिया शुरु हुन सकेको छैन ।

स्थानीयबासी जग्गा दिन राजी भएपनि प्रक्रिया अघि बढाउन सरकारले ढिलाई गर्दा ल्याण्डपुलिङको काम नभएको लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले बताए । शहरीकरणका लागि अधिग्रहण भएको जग्गाको ३० प्रतिशत जग्गा सडक र अन्य पूर्वाधारमा लाग्नेछ । बाँकी रहेको ७० प्रतिशत जग्गा जग्गाधनीले नै फिर्ता पाउनेछन् । 

पूर्वाधार निर्माण सुस्त

नयाँ शहर निर्माणका लागि पूर्वाधारका रूपमा पहिलो चरणमा सरकारले विभिन्न ११ वटा क्षेत्र तोकेर काम थालेको थियो । जसमा बसपार्क निर्माण, सडक निर्माण तथा स्तरोन्नति, एकीकृत सरकारी अवधारणाअनुसारको कार्यालय भवन निर्माण, तरकारी बजार तथा संकलन केन्द्र निर्माण पर्छन् ।

त्यस्तै सार्वजनिक पार्क निर्माण, सहरी सेवा केन्द्र, खानेपानी, रिङरोड, सरकारी जग्गा संरक्षण, जग्गा एकीकरण आयोजना ब्लक योजनाअनुसार बाटो खोल्ने कार्य र ढल निर्माण आदि रहेका छन् । 

त्यसमध्ये वसन्तपुरमा अहिले तरकारी फलफुल संकलन केन्द्र निर्माणको काममात्रै सम्पन्न भएको छ । बसपार्क निर्माण, सडक निर्माण र स्तरोन्नति, सार्वजनिक पार्क निर्माण, रिङरोड निर्माण लगायत कामहरु सुरु भएपनि कामको उल्लेख्य प्रगति छैन । एकीकृत सरकारी भवन निर्माण, शहरी सेवा केन्द्र, जग्गा एकीकरण लगायत कामहरु सुरु नै हुन सकेका छैनन् । 

गुणस्तरहीन काम, ठेकेदारको लापरवाही

आर्थिक वर्ष २०७२/०७३ को बजेटबाट उपभोक्ता समितिमार्फत निर्माण थालेकोे वसन्तपुर बसपार्कको पर्खाल एक महिना नबित्दै भत्कियो । उक्त वर्ष ३५ लाख बजेटमध्ये ३३ लाख ४५ हजार ९ सय ६० रूपैयाँ खर्च भयो । तर खर्च अनुसार बसपार्क निर्माणको काममको प्रगति भने सन्तोषजनक नभएको स्थानीयबासीको गुनासो छ ।

अर्को वर्षबाट आयोजनाको कार्यालयले टेण्डर आह्वान गरी बसपार्क निर्माणको काम अघि बढायो । सम्झौता अनुसार ठेकेदार कम्पनीले समेत काम नगरेपछि आयोजनाको करीब ३५ लाख रूपैयाँ फिर्ता भयो । सो वर्षका लागि विनियोजित ७० लाख रूपैयाँमध्ये बसपार्कको माटो काट्ने , सम्याउने, ग्याभिन, पाइप कल्भर्ट लगायन निर्माणकालागि ३६ लाख ११ हजार रूपैयाँ मात्रै खर्च भएको थियो । 

गाँडेपात्ले क्षेत्रको ६५ रोपनी खुला जमीनमा निर्माण भइरहेको बसपार्क निर्माण अहिले रोकिएको छ । मध्यपहाडी लोकमार्गले सडक निर्माण गर्दा कहाँबाट लैजाने ? भन्ने समेत टुंगो लागेको छैन । जसका कारण पनि बसपार्क निर्माणले गति लिन नसकेको हो । 

दुई चरणमा गरी पाँच वर्षमा ३ करोड ५० लाख रूपैयाँको लागतमा बसपार्क निर्माण गर्ने विस्तृत सर्भेमा उल्लेख छ । आयोजनाले बसपार्क निर्माण थालेको तीन वर्ष बितेको छ । तर ठेकेदार कम्पनी र आयोजनाको लापरवाहीका कारण बसपार्क निर्माणको काम सन्तोषजनक नभएको स्थानीय प्रकाश श्रेष्ठले बताए । 

सार्वजनिक पार्क निर्माण पनि सुस्त

वसन्तपुर बजार नजिकै निर्माण भइरहेको वसन्तपुर सार्वजनिक पार्क निर्माणको काम ठेकेदारले तोकिएको समयमा काम सम्पन्न नगर्दा आशा अनुरूप कामको प्रगति हुन नसकेको आयोजनाका इन्जिनियर रोशन नेपालले बताए । पार्क निर्माणका लागि आर्थिक वर्ष ०७२/७३ मा ५० लाख, ०७३/७४ मा ८१ लाख र ०७४/७५ मा ६५ लाख रूपैयाँ बजेट विनियोजित थियो । तर कामको जिम्मा लिएको मचिन्द्र निर्माण सेवाले सम्झौता बमोजिम काम गर्न ढिलाइ गरेको छ । 

प्रदेश नं. १ कै उत्कृष्ट खेलमैदान निर्माण गर्ने लक्ष्य लिइएको खेलमैदान निर्माणको काम निरन्तर भइरहे पनि यसका गति पनि सुस्त छ । खेलमैदान निर्माणकालागि आर्थिक वर्ष ०७३/७४ मा विनियोजित ४५ लाख रूपैयाँमध्ये ४३ लाख ६९ लाख रूपैयाँ खर्च भएको छ । 

सो वर्षको काम ठेकेदार कम्पनीले तीन महिना अघि मात्रै सम्पन्न गरेपछि अहिले दोश्रो चरणको कामका लागि ठेक्का लागेको छ । यो वर्ष ५० लाख रूपैयाँ बजेट रहेको छ । दोश्रो चरणको कामका लागि २०७५ बैशाख ३ गते आषिश, आशीर्वाद निर्माण सेवासँग सम्झौता भइ काम शुरु भएको छ ।  

सडकमा मात्रै १५ करोड बढी खर्च

नयाँ शहरी विकास आयोजनाले अहिलेसम्म १५ करोड रूपैयाँ बढी रकम सडक निर्माणकै लागि खर्च गरेको छ । तर खर्च अनुसार सडकहरुको निर्माण र स्तरोन्नति हुन सकेको छैन । नगर क्षेत्रमा रिङ रोड बनाउन विभिन्न खण्डमा ३ देखि ४ किमी दूरीका टुक्रे सडक निर्माण भइरहेका छन् । 

वसन्तपुर–केवुक, भुल्के–नेभाङ, लसुने–फिर्के, लसुने–काँडे, वसन्तपुर–काँडे, भुल्केधारा–चम्फुला, चित्रे–पट्टेकडाँडा लगायत खण्डमा ट्रयाक ओपन र स्तरोन्नतिका कामहरु भइरहेका छन् । ती कामका लागि पछिल्ला तीन

आर्थिक वर्षमा १५ करोड रूपैयाँ बढी खर्च भइसकेको छ । तर त्यसबाट कुनैपनि सडक भरपर्दा छैनन् । सडकसँगै ढल निर्माणको काम नहुँदा सडकमा गरिएको लगानीको उपलव्धि नदेखिएको हो । 

बजार क्षेत्रकै सडक लथालिङ्ग

नयाँ शहरको रूपमा निर्माण भइरहेको वसन्तपुर प्रवेश गर्ने चित्रे–वसन्तपुर खण्डमा सडक हिलाम्मे भएर घण्टौंसम्म सबारी हुने गरेको छ । वसन्तपुर बजार प्रवेश गरेपछि बजारको मुख्य चौकसम्म नै सडकमा कालोपत्रे उप्किएर वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे बन्ने गर्छ । सडक निर्माण र स्तरोन्नतिमा कसैको पनि ध्यान नपुगेको स्थानीयबासी छिरिङ लामा गुनासो गर्छिन् । 

सडक निर्माणका लागि नगरपालिका र नयाँ शहरी विकास आयोजना दुवैले चासो राखेपछि सो सडक अहिले पनि सडक डिभिजन कार्यालय धनकुटाले हेर्दै आएकाले काम गर्न असजिलो भएको नगर प्रमुख अर्जुन माबोहाङले बताए । उनले भने, ‘सडक डिभिजनले ठेक्का लगाएको छ, हामीले निर्माण कम्पनीलाई समयमा काम गर्न निर्देशन गरेका छौँ ।’ अब बजार क्षेत्रका सडकमा समेत नयाँ शहरी विकास आयोजनाले नै काम गर्ने कार्यालयका इञ्जिनियर नेपालले बताए । 

तरकारी संकलन केन्द्र प्रयोगविहीन

नयाँ शहर विकास आयोजनाको कार्यालयले सम्पन्न गरेको एक मात्र भौतिक संरचना  तरकारी फलफुल संलकन केन्द्र पनि प्रयोगविहीन छ । फलफल संकलन केन्द्रका लागि आयोजनाले ८ वटा सटर भएका दुई भवनहरु निर्माण गरेको छ । यस्तै मासुजन्य वस्तुहरुको बिक्री केन्द्रका लागि चार वटा सटरहरु निर्माण गरेका छन् ।

सटरहरू निर्माण सम्पन्न भएपछि नगरपालिकालाई हस्तान्तरण गरिसकेको भएपनि नगरपालिकाले फलफुल संकलन केन्द्र सञ्चालनका लागि चासो नदेखाएको नयाँ शहरी विकास आयोजनाका इञ्जिनियर द्रोणमानदेव कटुवालले बताए ।

नगरपालिकाले फलफुल संकलन केन्द्र सन्चालनका लागि तयारी गरिरहेको नगरपालिकाका उपप्रमुख तिला पोखरेलले बताइन् । उनले भनिन्, ‘अहिले खुला सडकमा तरकारी बजार लाग्छ, अब त्यसलाई नगरपालिकाले व्यवस्थित गरी सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।’

कुन–कुन हुन् १० निर्माणाधीन नयाँ शहर ?

मध्यपहाडी क्षेत्रमा सरकारले बनाउने भनेका दश नयाँ शहरमा तेह्रथुमको वसन्तपुरसहित पाँचथरको फिदिम, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन रहेका छन् । ती सबै शहरहरुमा अहिले शहरीकरणका लागि आवश्यक पूर्वाधार विकासको काम भइरहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

असार १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस