वाणिज्य तथा पारवहन सन्धि किसानका बाधक, कृषि उपज निकासीमा झमेला

असार २०, २०७५

विराटनग,२० असार–पूर्वी नेपालमा उत्पादित कृषिउपज निकासीमा किसानहरूले लामो समयदेखि सास्ती पाउँदै आएका छन्  । यसको समस्याको रुपमा सन् १९६० मा भएको वाणिज्य सन्धि पुनरावलोकन नहुनु नै रहेको भनेर किसानहरूले कुरा उठाउन थालेका छन् । 

एक नम्बर प्रदेशबाट नकासी हुने निर्यातजन्य कृषि उपजमा अदुवा र अलैची अत्याधिक रहेको भएपनि त्यो सँगै अन्य अम्लिसो र गोलभेडा पनि भारतीय बजारमा निकासी हुँदै आएको किसानहरु बताउँछन् । 

अलैची, अम्लीसो, अदुवा, गोलभेडालगायतका कृषि उपजमा पटक–पटक नेपाली निर्यात कर्ताहरुले झमेला खेप्नु परेको किसान सम्बद्ध अगुवा संस्थाका प्रतिनिधिहरुले बताए । अदुवा उत्पादक संस्था पाँचथरका किसान गणेश पोखरेलले नेपालमा परीक्षण गरिसकेको अदुवालाई भारतमा समेत थप परीक्षण गर्न लगाएर दुःख दिने गरेको आरोप लगाए । 

भारतीय पक्षले पुर्वाग्रही ढंगले नेपाली निकासी कर्ताहरुलाई व्यवहार गर्ने गरेको अलैची उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष सुभाष भट्टराईले बताए ।
 
सन्धि पुनरावलोकका कुरा
सन् १९६० मा भएको नेपाल भारत वाणिज्य तथा पारवहन सन्धिको पुनरावलोकनका लागि पहिलो पटक प्रदेश स्तरमा बहस गरिएको छ । प्रदेश १ को राजधानी विराटनगरमा सोमवार आयोजित छलफलमा सन्धिका असमान ब्यवस्थाले नेपालले बर्षेनी ठु्लो अंकमा ब्यापार घाटा व्यहोर्नुपरेको भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका हुन । 

उनीहरुले शुन्य भन्सार शुल्कमा भारतीय कृषि उत्पादन भित्रिएपनि भारतीय पक्षले विभिन्न बहानामा नेपाली उत्पादनलाई रोक्दै आएको भन्दै मन्त्रालयका प्रतिनिधि समक्ष गुनासो गरेका छन् । 

वाणिज्य तथा पारवहन सन्धिमा पुनरावलोकन गर्ने बारेमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशले आयोजना गरेको अन्तरक्रियाका क्रममा अधिकांशले नेपालबाट निकासी हुने मालबस्तुमा भारतीय पक्षबाट अवरोध हुने गरेको बताए । 

मन्त्रालयका सह–सचिव नवराज ढकाललाई नेपाली निर्यात कर्ताहरुको हित हुनेगरी वाणिज्य तथा पारवहन सन्धिमा समाहित गर्ने बुँदाहरु तयार पार्न आग्रह गरे । 

जवाफमा सह–सचिव ढकालले भारतीय पक्षसँग मन्त्रालयले कुटनितिक तहबाट निर्यात कठिनाई बारे जोडदार रुपमा कुरा उठाएको बताए । ‘प्रोटोकलमा मात्र हैन सन्धिमै थप्ने कुरामा सरकारले तयारी गरिरहेको छ,’ ढकालले भने, भारतीय अबरोध बारे सरकारले पनि गहिरो अध्ययन गरिसकेकोले सन्धि नै पुनरावलोकन गर्न लागिएको हो ।’

अर्थशास्त्री प्राध्यापक डा. प्रमोदकुमार झाले नेपालमा २० बर्ष पहिले उत्पादन हुने कृषि बस्तु नै अहिले अहिले पनि उत्पादन भइरहेकाले नयाँ उतपादनमा जोड दिनु पर्ने बताए ।
 

असार २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस