स्वरुपाको नहुने केही छैन

असार २०, २०७५

काठमाडौं:  गायिका स्वरुपा आशा आफ्नो नयाँ आधुनिक गीत नहुने केही छैन को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । 

अष्ट्रेलियामा बसोबास गरिरहेकी गायिका आशाले वरिष्ट संगीतकार रञ्जित गजमेरको संगीत निर्देशनमा उक्त गीत गाउने मौका पाएकी हुन् । नेपाली चलचित्रका लोकप्रिय संगीतकार रञ्जित गजमेर पनि गायिका स्वरुपा आशाको यही गीतमार्फत लामो समयपछि स्रोतामाझ आएका हुन् । मुम्बईमा रहेर संगीत कर्ममा सक्रिय रहेका गमजेर खासगरी नेपाली चलचित्रका सिद्धहस्त संगीतकार हुन् ।


उनले संगीतबद्ध गरेका सम्झना, कुशुमे रुमाल, लाहुरे, साइनो आदि चलचित्रका दर्जनौं गीतहरु लोकप्रिय छन् । कुशुम गजमेरको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायिका स्वरुपा आशा आफैं प्रस्तुत भएकी छिन् ।

मौलिक नेपाली पहिरनमा सजिएर आकर्षक नृत्य गरेकी गायिकालाई बनेपा डान्स क्रिउले नृत्यमा साथ दिएका छन् । विदुर पाण्डेको छायांकनमा तयार पारिएको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । म्युजिक नेपालको यूट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
 

असार २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस