कसरी रोज्ने एसईईपछिको अध्ययन ?

असार २२, २०७५

अक्षरांक पद्दतिको अभ्यासका कारण २०७४ सालको एसईई परीक्षामा सबै विद्यार्थी उत्तीर्ण भए । यद्यपि अझै पनि झण्डै ७५ हजार विद्यार्थीले माथिल्लो तह अध्ययन गर्न नपाउने गरी मात्र ग्रेड पाएको देखिन्छ । 

असहज राजनीतिक परिस्थितिका कारण २००७ सालमा २ पटक प्रवेशिका परीक्षा भयो । सहभागी सबै परीक्षार्थीलाई प्रथम श्रेणीमा पास भएको घोषणा गरियो । यसबाहेक अन्य वर्षका परीक्षामा असफलता निकै उच्च थियो । गत वर्षदेखि अंकको सट्टा अक्षरांक पद्दतिको अभ्यासले पास र फेल भन्ने द्विविधा अन्त्य भयो । तर पनि आएको नतिजाले कुन विषय अध्ययन गर्न पाउने/नपाउने वा के–कस्तो अध्ययन गर्ने भन्नेमा चाहिँ अझै विद्यार्थी द्विविधामा नै छन् । 

फलामे ढोकाको रुपमा चिनिएको यो परीक्षा पास भएकै विद्यार्थी पनि उच्च शिक्षामा निकै असफल हुने तीतो सत्य सर्वज्ञात छ । केही पहिले मात्र राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको उच्च माध्यमिक शिक्षा परिषद्को वार्षिक परीक्षामा लगभग ४० प्रतिशत मात्रै उत्तीर्ण हुन्छन् । यद्यपि आम समाज चाहिँ त्यो असफलताप्रति निःसन्देह छ । एसईईमा उच्च सफलता हात पार्नेे बहसमा हराउँदा त्यसपछिको उच्च शिक्षा कसरी सार्थक र सफल बनाउनेमा हामी प्रायः मौन छौं ।

प्रायः विद्यार्थी एसईईपछि विषय वा संकाय छनौट गर्दा सचेत र सावधान नभएको पाइन्छ । अझै पनि उच्च ग्रेडका विद्यार्थी विज्ञान विषयकै अध्ययन गर्नुपर्छ भन्ने मानसिकतामा रहन्छन् । अन्य संकाय खाली अन्य श्रेणीका विद्यार्थीलाई मात्रै हो भन्ने अव्यावहारिक धारणा पाइन्छ । उत्कृष्ट हुने सम्पूर्ण विद्यार्थी समेत यस्तै भन्छन् । २०५० सालकी सर्वाेत्कृष्ट गरिमा राणा मात्र एक अपवाद उदाहरण हुन्, जसले बोर्ड फस्ट भएर पनि गैरविज्ञान विषय अर्थात् कानून अध्ययन गरिन् ।

२०६६ सालका सर्वोत्कृष्ट विवेक अधिकारीले साहित्यमा रुचि भएको बताएपनि विज्ञान संकायको अध्ययन गरे । उनकै शब्दमा यो जबर्जस्त मान्यता थियो । अहिले प्रथम भनिएकाले पनि विभिन्न सञ्चारमाध्यमलाई विज्ञान नै अध्ययन गर्ने बताउँदै छन् । अधिकांश कलेज समेत राम्रा विद्यार्थीले विज्ञान नै पढ्नुपर्छ भन्छन् । नाम चलेका संस्था नै यस्तो वकालतको अग्रमोर्चामा छन् ।

अमेरिका, युरोप लगायत विश्वका कतिपय सफल मुलुकमा ६० प्रतिशतभन्दा बढी उत्कृष्ट विद्यार्थी व्यवस्थापनमा अध्ययनरत देखिन्छन् । अस्ट्रेलियामा फेशन डिजाइन र अन्य केही पर्यटनमा छन् । सूचना प्रविधिको चमत्कारिक प्रगतिले विश्वभर षडोषी दिमागमाथि अनन्य आकर्षण पैदा गरिरहेको छ । तर, हामी जुन क्षेत्रमा आफै प्रगति गर्न सक्ने अवस्थामा छैनौं । त्यसमा चाहिँ सफल र क्षमतावान विद्यार्थीलाई मात्र लग्दैछौं । 

पैसा त फेरि कमाउन सकिन्छ । तर, केही गरी समय खेर गयो भने त्यो प्राप्त गर्न किञ्चित सम्भव छैन । यसको ज्ञात घनिभूत भएको देखिन्न । त्यही भएर पुस्तकालय र प्रयोगशालामा सम्झौता गरेरै भएपनि कलेजहरू लिफ्ट र स्वीमिङ्ग पुल बनाउने दौडमा रमाउँछन् ।

व्यापार, व्यवसाय, पर्यटन, शिक्षा, साहित्य र अन्य विभिन्न उद्योगहरू, जसको सम्भावना प्रचूर छ, तिनीहरूमा चाहिने मानवस्रोत तयार गर्न चाहिँ कमसल विद्यार्थीलाई मात्रै सिफारिस गर्छाै । हाम्रा राम्रा विद्यार्थी बढी विदेश पलायन हुनु र देशको विकास पछाडि परिरहनुको एउटा प्रमुख कारण यो समेत हो ।

गलत सन्दर्भ, प्राप्तांक वा अरुको भनाईलाई आधार बनाउँदा विद्यार्थी स्वयम्को इच्छा र त्यो इच्छालाई व्यवहारमा परिणत गराउने विषय/संकाय छनौट हुन सकेको देखिँदैन । कलेज समेत औपचारिकताका लागि भन्दा गहिरिएर परामर्श दिन सकिरहेका छैनन् । प्रत्येक विद्यार्थी संकायका हिसाबले राम्रो र नराम्रो विषयलाई छुट्याउने गलत अभ्यासमा छन् । तर, प्रत्येक संकायबाट हुने उपलब्धिका बारेमा अनविज्ञ वा अल्पविज्ञ मात्रै देखिन्छन् । विज्ञान संकाय पढेपछि डाक्टर वा इन्जिनियर भइन्छ, व्यवस्थापन संकाय पढ्ने भनेको व्यापार गर्नेले हो, मानविकी संकायले प्रशासकीय सेवामा सजिलो हुन्छ अथवा शिक्षा क्षेत्रबाट गए शिक्षक मात्रै भइन्छ भन्नेजस्ता धारणा व्याप्त छ ।

तर, ती बाहेक यी प्रत्येक क्षेत्रका अन्य ५ दर्जन सम्भावना भएको कुरा हावर्ड ई फिग्लरको द ‘करियर काउन्सेलरस् ह्याण्ड बुक्स’ अनि सोया जिची र आन विदाउको ‘करियर म्याच’ भन्ने पुस्तकमा उल्लेख छ । यदि ती सबै सम्भावनाकोे ज्ञात विद्यार्थीलाई भए संकाय छनौट सहज र उत्पादक हुन्छ ।

प्रत्येक मानिसको जीवन आफ्नै एवं नितान्त भिन्न प्रकारको रहन्छ । पढाइ र अध्ययन कुनै रिक्तता वा बेअर्थका लागि गरिएको हुँदैन । जति विद्यार्थी अध्यनरत छन्, ती प्रत्येक कुनै न कुनै पेशामा संलग्न रहने, सफल हुने, भिन्न पहिचान खडा गर्ने आशा र कल्पनामा रहन्छन् । अफसोच एसईई परीक्षापछि उच्च तहको शिक्षाका लागि तम्तयार धेरै विद्यार्थीमा आफ्नो लक्ष्यमा जाने प्रष्ट अवधारणाको अभाव देखिन्छ ।

राजधानीका केही उच्च शिक्षालयमा गरिएको नमूना परीक्षणमा विद्यार्थीले भविष्यमा आफू के हुने भन्ने तय गर्न नसकेको पाइएको देखिन्छ । सीमित विद्यार्थी जो लक्ष्य निर्दिष्ट भएको बताउँछन्, उनीहरूमध्ये ५ प्रतिशतलाई मात्रै कसरी आफूले अध्ययन गरेको विषयले लक्ष्यलाई समेट्न सक्छ भन्ने प्रष्टता छ ।

विशाल संख्यामा विद्यार्थीले आफ्नो लक्ष्यलाई आधार बनाएरभन्दा पनि अभिभावकको भनाई, सञ्चारमाध्यमको प्रभाव, आफूले भ्रमण गरेका कलेजको भौतिक अवस्था, अध्ययन शुल्कको तुलनात्मक विश्लेषण, साथीभाइको भनाइ अथवा मिनाहा पाउन सकिने शुल्कको आधारमा विषय वा संकाय छनौट गर्छन् । पैसा त फेरि कमाउन सकिन्छ । तर, केही गरी समय खेर गयो भने त्यो प्राप्त गर्न किञ्चित सम्भव छैन । यसको ज्ञात घनिभूत भएको देखिन्न । त्यही भएर पुस्तकालय र प्रयोगशालामा सम्झौता गरेरै भएपनि कलेजहरू लिफ्ट र स्वीमिङ्ग पुल बनाउने दौडमा रमाउँछन् ।

वास्तवमा कुनै पनि विषय वा संकाय आफैमा नराम्रा र राम्रा छैनन् । प्रत्येक विषयबाट मानिस उत्तिकै सफल बन्दछ । एउटा शिक्षक र डाक्टर अनि एउटा व्यवसायी र पेसाकर्मी बराबरी सफल र प्रख्यात भएका प्रशस्त उदाहरण छन् । विज्ञान पढेर नास्टमा वा नासामा काम गर्ने वैज्ञानिक, व्यवस्थापन संकाय पढेर आएका सफल व्यापारी वा बैंकर, शिक्षा पढेर सफल भएका प्राध्यापक, साहित्यमा लागेर नोबेल पुरस्कार पाएका सर्जक, अनि आमसञ्चारबाट आएका सफल पत्रकार सबैको प्रतिष्ठा बराबर छ । कुन विषय राम्रो अथवा नराम्रोभन्दा पनि त्यो विषयको अध्ययन विद्यार्थीले कुन तवरबाट गर्छ र कति सफलता हात पार्दछ भन्ने कुरा मुख्य हो ।

राम्रो वा नराम्रो विषय हुँदैन, आफूले राम्रो वा नराम्रो हिसाबले अध्ययन गर्ने कुराले आगामी भविष्यलाई पूर्णरुपमा नियन्त्रण गर्दछ ।

यद्यपि विद्यार्थीहरू शारीरिक, मानसिक, मनोवैज्ञानिक हिसाबले कुनै विषयमा बढी र कुनैमा कम जायज हुन सक्छन् । गणितमा तगडा विद्यार्थी विज्ञानमा र भाषामा तगडा मानविकीमा जायज हुन सक्छ । मनोविज्ञानका एक विख्यात दार्शनिक जोन होल्याण्डले गरेकोे मानवीय स्वभावको विभाजन यसका लागि महत्त्वपूर्ण रहन्छ ।

ब्यारटको थ्री डी टेस्ट र सटकिनको परसनालिटी टेस्टले उनीहरूको व्यक्तिगत आचारण र त्यसका लागि उपयुक्त हुने सम्भावनाबारे प्रष्ट्याउँछ । साथै, विद्यार्थीको मनोवैज्ञानिक परीक्षा, क्षमता परीक्षा र प्यारामेट्रिक प्राग्म्याटिक परीक्षाजस्ता कुराले उनीहरूको स्वभाव अनुसारको विषय र अवसर केलाउने मौका दिन्छ । प्याटिक मारलेभेडको ‘चुज अ करियर एण्ड डिसकभर योर परफेक्ट जब’, भर्नर जि जन्करको ‘करियर काउन्सिलिगंः ए होलिस्टिक एप्रोच’, नरमान सि सिस्वर्गकृत ‘करियर कन्सल्टेन्सी : कन्टेस्ट, प्रोसेस र टेक्निक्स’ जस्ता पुस्तक यो विषयमा सहजकर्ता हुन सक्छन् ।

त्यसैले विद्यार्थीले अध्ययनको सहायताले सफल हुने हो भने प्रत्येक संकायका महत्तम् सम्भावनाबारे जानकारी राख्ने, ती सम्भावनाबाट आफ्नो स्वभाव र सामथ्र्य मिल्ने एउटा लक्ष्य छनौट गर्ने, आफूले छनौट गरेको लक्ष्यमा नमूना व्यक्ति पत्ता लगाउने र लक्ष्यलाई सघाउने खास संकाय र विषय छनौट गर्नुपर्छ । विषय छनौट बुवाआमा, साथी वा अन्य कसैलाई नभएर केवल आफ्नै इच्छा, रुचि, लक्ष्य र पेशागत आर्कषणलाई हुनपर्छ । 

राम्रो वा नराम्रो विषय हुँदैन, आफूले राम्रो वा नराम्रो हिसाबले अध्ययन गर्ने कुराले आगामी भविष्यलाई पूर्णरुपमा नियन्त्रण गर्दछ । तसर्थ, जानकार र बुजुर्कले कुनै विद्यार्थीलाई कुनै एक विषय वा संकायको लागि बाध्य गर्नेभन्दा प्रत्येक विषयबाट प्राप्त गर्न सकिने उपलब्धीलाई उनीहरू सामु देखाइदिनुपर्छ ।
 

असार २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस