फिल्म सञ्जूबाट सञ्जय दत्तको अँध्यारो विगतलाई ढाकछोप गर्ने प्रयास भएको हो ?

असार २४, २०७५

बलिवूड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म सञ्जूले चर्चा र दाम कमाइरहेको छ । रक्सी र लागुऔषधको कुलत, प्रेम सम्बन्धहरू र आतंकवादसम्बन्धी सबैभन्दा नराम्रो मुद्दामा पाएको सजाय पर्याप्त रुपमा अभिलेखीकरण भएका छन् फिल्ममा । हालै उनको जीवनीमाथि केन्द्रित रहेर सार्वजनिक भएको एउटा चलचित्रले उनको अँध्यारो विगतलाई ढाकछोप गर्न खोजेको आरोप खेपिरहेको छ भन्छिन्, अर्पणा अल्लुरी।

सार्वजनिक भएको एक हप्तामै चलचित्र सञ्जुले बलिवूडको हालसम्मकै सर्वाधिक सफलमध्येको एक चलचित्रका रूपमा आफूलाई उभ्याइरहेको छ।


तर चलचित्र समीक्षकहरूले यसलाई 'झूटो' र 'भ्रामक' भनेका छन्।

चलचित्र हेरेका कतिपयले यसलाई 'देवत्वकरण' भनिरहेका छन् भने कतिपयले सामाजिक सञ्जाल ट्विटरमा 'जनसम्पर्क अभियान' पनि भनेका छन्।

चलचित्रमा सञ्जय दत्तको भूमिका निर्वाह गरेका रणवीर कपुरले यथार्थपरक उत्कृष्ट अभिनयका लागि राम्रो प्रतिक्रिया पाइरहेका छन्।

यो चलचित्रमा देखाइएको सञ्जय दत्त र उनका दृढ संकल्पित पिताबीचको सम्बन्धलाई प्रशंसा गरिएको छ।

नभए सञ्जुमा अरू केही यथार्थ नरहेको एकजना समीक्षकले लेखेका छन्।

अर्काले भनेका छन्, यो एकजना सफल नायकको एकदमै सकारात्मक चित्रण गरिएको चलचित्र हो र एकजना चलचित्र निर्माताले आफ्ना साथीलाई दिएको एउटा महँगो र मनपर्ने उपहार हो।

अर्का समीक्षकले दत्तको व्यक्तित्व गहिरो रुपमा हेर्ने एउटा अवसर गुमेको भन्दै 'चलचित्र सकिँदा वास्तविक सञ्जु कस्ता छन् भन्ने प्रश्नवाचक चिह्न कायमै रहेको' टिप्पणी गरेका छन्।

सञ्जु अभिनेता सञ्जय दत्तको नामको संक्षिप्त रुप हो र उनको उपनामबाट चलचित्रको नाम जुराइएको हो।

यसमा सञ्जय दत्तको कथा प्रेम र सहानुभूतिले देखाइएको छ।

५८ वर्षीय दत्त गलत रोजाइका कारण पीडित भएका हुन् भन्ने प्रमाणित गर्न खोजिएको छ।

भारतीय सिनेमाका सबैभन्दा चर्चित र मनपराइएका जोडी नर्गिस र सुनिल दत्तका तीन सन्तानमध्ये जेठो सन्तानका रुपमा उनको जन्म भएको थियो।

सन् १९८१ मा सिनेमा जगत्‌मा प्रवेश गरेयता उनले १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।

त्यसमा प्रेमकथादेखि, खलपात्रसँग भिड्ने बलियो नायक र पेट मिचीमिची हँसाउने कथाहरू समावेश छन्।

चलचित्र हेर्दा दत्तको तर्फबाट कथा भनिएजस्तो देखिन्छ।

चलचित्रमा मुख्य 'खलपात्र' बनाइएका सञ्चारमाध्यमले आफूलाई गलत रुपमा प्रस्तुत गरिरहेको ठान्ने सञ्जयले आफ्नो कथालाई न्याय गर्न सक्ने जीवनी लेखकको उनले खोजी गरिरहेको देखाइएको छ।

यो चलचित्र दत्तको पहिलो फिल्म सार्वजनिक भएको समयबाट शुरू हुन्छ।

त्यो बेला २२ वर्षका यी अभिनेताले ओजपूर्ण व्यक्तित्वका आफ्ना पिताको अपेक्षाको भारीसँग गरिरहेको संघर्ष र आफ्नी आमालाई पाचनप्रणालीमा क्यान्सर भएको खबरसँग गरिरहेको संघर्ष समेटिएको छ।

उनकी आमाको निधन हुँदा दत्त लागुपदार्थ दुर्व्यसनी बनिसकेका थिए।

सन् २०१७ मा एउटा सार्वजनिक मन्तव्य दिने क्रममा उनले भनेका थिए, "मैले सेवन नगरेको लागुपदार्थ विश्वमा छैन।"

पहिलो घण्टा चलचित्र क्षमाशील छैन।

त्यसमा नशामा लट्ठ र मति बिग्रेका दत्त, उनले आफ्ना पिता र प्रेमिकाको मन दुखाएको कथा समेटिएका छन्।

आफ्नी आमालाई भर्ना गरिएको अस्पतालको कोठामा उनको निधन हुनुभन्दा केही क्षणअघि उनले लागुऔषध सेवन गरिरहेको दृश्य चलचित्रमा छ।

त्यसपछि चलचित्रको बाँकी कथा दत्तविरुद्ध लगाइएको फौजदारी आरोपसँग सम्बन्धित एउटा घटनामा केन्द्रित छ।

सन् १९९३ मा २५७ जना मारिने गरी र ७१३ जना घाइते हुने गरी मुम्बईमा भएको विस्फोटसँग जोडिएको हतियार तथा खरखजनासम्बन्धी कसुरमा सन् २००६ मा उनले सजाय पाएका थिए।

दत्तविरुद्ध तीनवटा एके-फीफ्टी सिक्स राइफल र त्यसका गोलीहरू राखेको र ९ एमएम पिस्तोल र त्यसका गोलीहरू र हात्ते ग्रिनेडहरू राखेको आरोप लगाइएको थियो।

उनले ती हतियार तथा गोलीगट्ठा बम हमलकारीबाट खरिद गरेका थिए।

तर उनले सन् १९९३ मा भएका हिन्दू-मुस्लिम दङ्गाका क्रममा आफ्नो परिवारको रक्षा गर्न त्यसको आवश्यकता परेको भनेका छन्।

आरोप लगाइए अनुसार ती हतियारहरू विस्फोट गराउन ल्याइएका सामग्रीहरूकै एउटा हिस्सा थियो। तर दत्तलाई षड्यन्त्र गरेकोसँग सम्बन्धित सबै आरोपबाट सफाइ दिइएको थियो।

तीन वर्ष जेलमा काटेपछि सन् २०१६ मा उनलाई रिहा गरिएको थियो। तर लोकप्रिय अभिनेताको हैसियतका कारण चाँडै रिहा गरिएको भन्दै आलोचना गरिएको थियो।

चलचित्रले यी बृहत् तथ्यहरूबारे चर्चा गरेपनि दत्तको जीवनका कतिपय पाटोबारे यसले उल्लेखसम्म गरेको छैन।

उदाहरणका लागि अन्डरवर्ल्ड भनिने अपराधसँग सम्बन्धित विश्वसँग रहेको उनको र बलिवूडको सम्बन्ध।

सन् २००१ मा बाहिर आएको एउटा श्रव्य रिकर्डिङ्गमा पाकिस्तानमा बस्ने गरेको भनिएका छोटा सकिलसँगको फोन सम्पर्कबारे चर्चा गरिएको छैन।

बलिवूडका लोकप्रिय अभिनेता तथा चलचित्र निर्देशकहरूले लामो समयदेखि अन्डरवर्ल्डसँग नजिकको सम्बन्ध राखेको आरोप खेप्दै आएका छन् र कतिपयलाई त ती सम्बन्ध प्रयोग गरेर चलचित्रमा भूमिका पाएको समेत आरोप लाग्ने गरेको छ।

तर चलचित्रले यी कुनै कुरालाई छोएको छैन।

एकजना समीक्षकका भनाइमा सन् १९९३ को विस्फोटसँग सम्बन्धित दृश्यलाई चाँडै र चनाखो भएर सम्बोधन गरिएको छ।

आफैँ सचेत कुनै पनि चलचित्रले एके-फीफ्टी सिक्स र 'आत्मरक्षा' बीचको सम्बन्धबारे के रहेछ भन्ने पहिल्याउने प्रयास गर्ने थियो।

आलोचकहरूले सञ्चारमाध्यमलाई खलपात्रका रुपमा सजिलै प्रस्तुत गरिएको पनि टिप्पणी गरेका छन्।

समाचारको चक्र माफी दिन नसकिने खालको हुनसक्ने स्वीकार गर्दै एकजना समीक्षकले लेखेका छन्, "उक्त तर्क कहिल्यै समाप्त नै नहुने गरी प्रयोग गरिएको छ। जस्तो कि त्यसले के छनक दिन्छ भने यदि पत्रपत्रिकाहरू थप जिम्वेवार भइदिएका भए सञ्जुले दु:ख नै पाउनुपर्ने थिएन।"

एउटा आत्मकथा हुनका लागि चलचित्रले धेरै कुरालाई छोडिदिएको छ।

जस्तै उनका तीनमध्ये दुई विवाह, एकजना सन्तान र उनकी बहिनीहरूसँगको सम्बन्धको तिक्तता र सहकर्मी अभिनेत्रीसँगको प्रेम लगायतका विषय।

बीबीसी एसिया नेटवर्कका हारुन रसिदसँग चलचित्रका निर्देशक राजकुमार हिरानीले भनेका छन्, "तपाईँले एउटा व्यक्तिको जीवनलाई अढाई घण्टाको कथामा समेट्नुछ भने तपाईँले के सान्दर्भिक छ भनेर छान्नुपर्ने हुन्छ।"

उनले उनको चलचित्र महिनौँको अनुसन्धान र अन्तर्वार्तामा आधारित रहेको पनि उल्लेख गरेका छन्।

"मैले उनलाई गिरफ्तार गर्ने प्रहरी अधिकारीलाई भेटेको छु। त्यसपछि मैले उनको पक्षमा वकालत गर्ने सबै वकिलहरूलाई पनि भेटेको छु।"

"मैले धेरै पत्रकारहरूलाई पनि भेटेको छु, ४० देखि ५० जनालाई भेटेर, उनीहरूका कथा सुनेर मैले त्यसलाई कथामा ढालेको हुँ।"

धेरैले यो एकपक्षीय कथा हो भन्ने धारणालाई अन्यथा नलिइ चलचित्रलाई स्वागत गरेका छन्।

तर यसले एउटा स्वभाविक प्रश्न उठाइदिएको छ: "के बलिवूडले आफैँबारे एउटा वास्तविक र पूर्वाग्रहरहित आत्मकथामा चलचित्र बनाउनसक्छ?"

बीबीसीबाट

असार २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस