काँडा र गुलाफ (कविता)



थाहा छैन काँडालाई,
काँडासँग गुलाफ फुलेको हो
या गुलाफसँग काँडा ।
तर यति थाहा छ काँडालाई
सधैं सधैं गुलाफसँगै रहनु छ उसको अंगरक्षक भएर ।

आफ्नै छातीमाथि फुलेको गुलाफबाट
न कहिल्यै सिक्यो काँडाले
प्रेमको परिभाषा,
न सिक्यो सुन्दरता र कोमलताको परिभाषा
किनकि काँडा गुलाफलाई परिभाषाविहीन प्रेम गर्न चाहन्छ ।

थाहा छैन कतिपल्ट हावाहुरीले
काँडासँग ठोक्काइदियो गुलाफलाई ।
तर कहिल्यै कोतरेन काँडाले गुलाफलाई,
कोत–यो त सिर्फ गुलाफ निमोठ्ने हातहरूलाई ।

काँडालाइ दुश्मनी त ती हातहरूसँग थियो
जो एक थुंगा गुलाफको हत्याको बदलामा सिंगै जिन्दगी माग्दथे
र काँडाको इच्छा छ,
प्रकृतिले गुलाफको बाहिरी पत्रमा पनि तीखा काँडाहरू थपिदेओस्
र बुझून् गुलाफ चुँडाल्ने र सिउरिनेहरूले
कसैलाई चुडाल्नुको दुखाइ ।

जब फक्रिँदै जान्छ आफ्नै छाती भएर फुलेको त्यो रातो गुलाफ
तब तब काँडा भयभीत हुन्छ गुलाफलाई गुमाउने डरले ।
न कहिल्यै राख्न सक्यो काँडाले त्यो रातो गुलाफलाई प्रेमप्रस्ताव,
न सिकाउन सक्यो काँडाले निःस्वार्थ प्रेमको कुनै परिभाषा ।
हेर्दाहेर्दै एकदिन गुलाफलाई चुँडालेर कसैले सजाउँछ शिरमा
र एक थुंगा गुलाफले प्रेम दिवस मनाउनेहरूको जिन्दगीको शब्दकोशमा ।
काहीँ भेटिदैन
काँडाहरूको त्याग र वियोगान्तको परिभाषा ।


सिर्जना खड्का 
फागुन ३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस